रवि र शिशिरले भनेजस्तै नेपाल-भारत सम्बन्ध ‘रिसेट’ भएकै हो ? « Khabarhub

रवि र शिशिरले भनेजस्तै नेपाल-भारत सम्बन्ध ‘रिसेट’ भएकै हो ?



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किन नपाउँदै परराष्ट्रमन्त्री शिशिर खनाल पनि नयाँ दिल्ली पुगे । काठमाडौं ओर्लेका सभापति लामिछाने र दिल्ली पुगेका परराष्ट्रमन्त्री खनाल दुबैले प्रयोग गरेको एउटा शब्दले निकै चर्चा पाएको छ । त्यो हो- ‘रिसेट’ ।

यससँगै दुई देशको सम्बन्धमा केकस्तो ‘रिसेट’ को चर्चा चलाइएको हो भन्ने चासो उत्पन्न भएको छ । कूटनीतिक मामिलाका जानकारहरु भने ‘रिसेट’ शब्दको औचित्यमाथि नै प्रश्न गर्छन् । विज्ञहरु दुई देशबीच कायम विवादको कूटनीतिक हिसाबले व्यावहारिक समाधान नभइ सम्बन्ध रिसेट भयो भनेर हौसिनुलाई अपरिपक्वताको संज्ञा दिन्छन् ।

पूर्वराजदूत नीलाम्बर आचार्य अस्पष्टता कायम राखेर सम्बन्ध ‘रिसेट’ भएको सन्देश दिनु कतिको जायज हुन्छ भन्दै प्रश्न गर्छन् । काम देखिनेगरी नेपाल-भारत सम्बन्ध ‘रिसेट’ नभइसकेको उनको भनाइ छ । पूर्वराजदूत आचार्य सीमा विवाद लगायत विषय सल्टाइसकेपछि बल्ल सम्बन्ध रिसेट भएको अभिव्यक्ति दिँदा जायज हुने तर्क गर्छन् ।

पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि यसबारे रास्वापाले अपरिपक्वता देखाएको बताउँछन् । नेताहरुले ‘रिसेट’ को अर्थ नै नबुझी अभिव्यक्ति दिएको उनको तर्क छ ।

भारतसँग राम्रो सम्बन्ध रहेको ठानिने, साथै भारतीय मामिलालाई नजिकबाट नियालिरहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि ‘रिसेट’ को अर्थसँग मिल्नेगरी नेपाल-भारतबीच सहमति नभइसकेकाले सरकार आत्तिन नहुने सुझाव दिन्छन् । भट्टराईको सचिवालयले दिएको जानकारी अनुसार रिसेट हुनेगरी अहिले सरकारले काम गरिसकेको छैन । त्यसैले हालका लागि आशावादी हुनु ठिकै भएपनि उत्साहित हुने अवस्था भने छैन ।

‘रिसेट’ को अर्थ के हो ?

भारतको पाँच दिने भ्रमण सकेर शुक्रबार अपराह्न काठमाडौं फर्किएका रास्वपा सभापति लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो भ्रमण ‘पारदर्शी र परिणाममुखी’ भएको दाबी गरे । यस पटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाटभन्दा फरक रहेको बताउँदै उनले भने, ‘पहिले धेरैजसो भ्रमणहरू बन्द कोठामा हुन्थे, तर यस पटक पारदर्शी रूपमा वार्ता भयो । हामीले हाम्रा कामहरू स्पष्ट रूपमा देखाएका छौँ ।’

उनले अगाडि भने, ‘अस्पष्ट, लुकिछिपी र अपारदर्शी सम्बन्धलाई अन्त्य गर्दै हामीले रिसेट गर्ने काम गरेका छौँ ।’ सभापति लामिछानेसँगै भारत भ्रमण गएको प्रतिनिधिमण्डलका सदस्यले खबरहबलाई ‘रिसेट’ बारे थप जानकारी दिए । उनले भने, ‘विगतमा केपी ओली प्रधानमन्त्री हुँदा नेपाल भारत सम्बन्ध चिसिएको थियो, त्यसलाई अहिले कूटनीतिक हिसाबले समाधान गर्नेगरी रिसेट भएको छ ।’

उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा जस्तै नेपाल भारत सम्बन्धललाई उचाइमा पुर्‍याउनेतर्फ सरकार लागेको समेत जानकारी दिए । उनले भने, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल भारत सम्बन्धलाई जसरी उचाइमा पुर्‍याएका थिए, त्यही हिसाबले भारतले हामीलाई रुचाएको देखिन्छ ।’ ती नेता भन्छन्, ‘भारतले आपसी सम्मान र कूटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्ने भनेको छ, योभन्दा ठूलो रिसेट के हुन्छ र ?’

ती नेता राजनीतिक यात्रा भएकाले नेपाल-भारत सीमा समस्याका विषयमा आफूहरूले कुरा नगरेको बताउँछन् । हलुका भएर प्रस्तुत नहुने हेतुले आफूहरूले अवस्था मात्रै बुझेकाले भारत पनि सीमा विवाद लगायतका विषयहरु कूटनीतिक रुपमा निष्पक्ष सम्बोधन गर्न तयार रहेको बताए । यसैकारण आफूहरूले सम्बन्धमा रिसेट भएको अनुभूति गरेको ती नेताको दाबी छ ।

‘यस पटक विगतका प्रधानमन्त्री र पार्टी सभापतिलाई भारतले गर्ने व्यवहारभन्दा बिल्कुल फरक अनुभूति भयो । हामीले कुनै पनि हिसाबले नेपाल लचिलो हुनेगरी काम अगाडि बढाउँदैनौँ । अन्तर्राष्ट्रिय सम्बन्धहरू कुटनीतिक हिसाबले मिलाउन र समन्वयकारी रूपले काम गर्न दुवै देश तयार हुने किसिमको वातावरण बनेको छ,’ ती नेताले अगाडि भने, ‘परराष्ट्रमन्त्रीको भारत भ्रमण सकिएपछि असारतिर प्रधानमन्त्री पनि भारत गएर सीमा विवाद लगायतका विषयमा गहकिलो तरिकाले काम गर्नुहुन्छ । अस्पष्ट, लुकिछिपी र अपारदर्शी रूपमा विगतमा सहमति हुने गरेका थिए । योपटक त्यसलाई तोडिएको छ ।’

लामिछाने मात्र होइन भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले पनि नेपाल भारत सम्बन्ध रिसेट भएको अभिव्यक्ति दिए । भारतीय सञ्चारमाध्यम एनडीटिभीसँगको अन्तर्वार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई ‘रिसेट’ गर्ने समय आएको बताउँदै दुवै देश यसका लागि तत्पर रहेको संकेत गरे ।

नेपाल फर्किनुअघि विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पनि खनालले बेलायतको मध्यस्थता नखोजेकाले पारदर्शी रूपले सम्बन्धहरू कूटनीतिक हिसाबले समाधान गर्ने स्पष्ट पारेका छन् । खनालनिकट स्रोतले दिएको जानकारी अनुसार अहिले दुई पक्षबीच हुन लागेका सहमतिको विषयमा केही कुरा जानकारी नआएपनि प्रधानमन्त्रीको भारत भ्रमणका बेलामा देखिने गरी र स्पष्ट रुपमा लिखित कुराहरू बाहिर आउने अपेक्षा गरिएको छ ।

अस्पष्ट, लुकिछिपी र अपारदर्शी सम्बन्धलाई आफूहरुले निरुत्साहित गरेको भन्दै स्पष्ट ढङ्गले दुई देशका बीचमा भएको कूटनीतिक सहमतिलाई बाहिर निकाल्ने बेला आउँदै गरेको स्रोतको भनाइ छ । लामिछाने र खनालले यसो भनेपनि दुवै नेताको भारत भ्रमणका क्रममा नेपालले निरन्तर उठाउँदै आएका लिम्पियाधुरा, कालापानी, लिपुलेक तथा सुस्तासम्बन्धी विषयमा कुनै सार्वजनिक चर्चा भने भएन ।

त्यसैले विज्ञहरु यतिकै सम्बन्धमा रिसेट भयो भनेर दिइएका अभिव्यक्तिले शङ्का गर्ने ठाउँ रहेको बताउँछन् । उनीहरू स्पष्ट रूपमा सीमाका विषयमा कुरा नआइकन रिसेटले अर्थको तात्पर्य नदिने बताउँछन् ।

पूर्वराजदूत आचार्यको बुझाइमा ‘रिसेट’ को अर्थ

पूर्वराजदूत नीलाम्बर आचार्यले सामाजिक सञ्जालमै परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमणको विषयमा असन्तुष्टि जनाइसकेका छन् । उनले सीमा विवादबारे केही पनि कुराहरू गहकिलो ढङ्गले छलफल नभएको भन्दै असन्तुष्टि पोखेका हुन् । खबरहबसँगको कुराकानीमा पनि आचार्यले अरुले नबुझ्नेगरी गरिएको रिसेटले कुनै अर्थ नदिने बताएका छन् । उनी यसबारे तथ्य र जानकारी सार्वजनिक गर्न आग्रह गर्छन् ।

‘के रिसेट भयो, मैले त बुझेको छैन । हाम्रा सन्धि सम्झौताहरु यथावत छन् । हाम्रा सम्बन्धहरूको पुनरावलोकन गर्ने भनेर दुवै देशहरू सहमत भएर प्रबुद्ध व्यक्तिहरूको संगठन थियो, त्यसको प्रतिबन्ध पनि यथावत छ । हाम्रा कालापानीलगायत विवाद पनि यथावत छन् । सम्बन्ध कसरी रिसेट भयो ? मैले त बुझेको छैन,’ आचार्य भन्छन्, ‘नबुझ्ने कुरा धेरै भएकाले कसरी रिसेट भयो त्यसको स्पष्ट जानकारी गर्नुपर्छ । नबुझ्ने कुरा र यात्रा किन गर्‍या, यसको जवाफ दिनुपर्छ ।’

पूर्वपरराष्ट्रमन्त्रीहरू पनि नेपाल भारत सम्बन्ध रिसेट हुनेगरी कुनै पनि गतिविधि नभएका बताउँछन् । भित्री रूपमा कस्तो किसिमले सम्बन्ध रिसेट गरियो, त्यसको सत्य तथ्य जानकारी आउनुपर्ने उनीहरुको बुझाइ छ ।

परिणाम नआई सम्बन्ध ‘रिसेट’ भयो भन्नु अपरिपक्ता : पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठ

पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि परिणाम नआई सम्बन्ध रिसेट भयो भन्नु अपरिपक्ता हुने धारणा राख्छन् । रिसेटको अर्थ खुल्नेगरी काम नभएको बताउँदै उनी अर्थ खुल्नेगरी काम हुनुपर्ने माग राख्छन् ।

‘रिसेट भएको कुनै परिणाम देखिएको छैन । उहाँहरुले भनेको कुरा अपरिपक्ताको परिणाम हो । रिसेट भएको केलाई बुझ्ने ? हामीले बुझेको रिसेट भनेको दुई देशबीच रहेको सकारात्मकलाई सम्बन्धलाई अझ मजबुत बनाउने र समस्याको सकारात्मक समाधान गरेर अगाडि बढ्ने हो,’ उनले भने, ‘अहिले समस्याहरूको समाधान भएको छैन । ती समस्या समाधान नभई उहाँहरुले कस्तो रिसेट भन्नु भएको हो ? उहाँहरुले अब त्यो छोड्दिने भन्न खोज्नुभएको हो ?’

हामीले हाम्रो राष्ट्रिय स्वाधीनताको पक्षमा समाधान खोज्नुपर्छ । यसलाई यतिकै छाडेर अघि बढ्नुपर्छ भन्ने कुरालाई उहाँहरुले रिसेट भन्नुभएको भए त त्यो रिसेट उहाँहरुलाई स्वीकार्य होला तर नेपाललाई हुँदैन । त्यसलाई नेपालले रिसेट मान्दैन । रिसेटको कुनै परिणाम देखापरेको वस्तुगत तथ्य छैन ।’

सम्बन्धहरू रिसेट भयो भन्नको लागि त हामीले समस्याहरू पनि समाधान भएका हुनुपर्ने श्रेष्ठको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टी र वर्तमान सरकारले मात्रै सम्बन्ध रिसेट भयो भनेर अर्थ लगाउँदा त्यो नेपालका लागि रिसेट नभएको हुने श्रेष्ठको भनाइ छ ।

उनले अगाडि भने– ‘सम्बन्धहरू रिसेट भयो भन्नको लागि त समस्याहरू पनि समाधान भएका हुनुपर्छ । समस्या पनि समाधान भए अनि नयाँ सम्भावनालाई पनि हामीले उपयोग गर्ने भयौँ भनेर भने पो रिसेट हुन्छ । उहाँहरूको रिसेट त हामीले पहिला राष्ट्रिय सार्वभौमता भौगोलिक अखण्डता बीचका समस्याहरू जो छन् त्यसलाई चाहिँ हामीले छोड्दियौँ, हामीले त्यसलाई छोडेर नयाँ ढङ्गले अगाडि बढ्ने भयौँ भनेर भन्न खोज्नुभएको भए उहाँ नेपालले त्यसलाई स्वीकार गर्दैन। होइन भने उहाँहरुले हामीले समस्याहरु पनि यसरी समाधान गर्ने भयौँ। सम्भावनाहरूलाई पनि यसरी पक्रिने भयौं भनेर कुनै ठोस आधार दिनुभएको छैन अनि के रिसेट ?’

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ८ : ०१ बजे

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’

कोशीका मुख्यमन्त्रीले परराष्ट्रमन्त्रीलाई सोधे : मोदीसँग के के कुरा गर्नुभयो ?

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परराष्ट्रमन्त्री शिशिर

म्यारियट इन्टरनेशलनका प्रमुख डेभिड म्यारियट पाटन दरबार क्षेत्रमा

ललितपुर – म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले पाटन दरबार क्षेत्रको