विद्युत् परियोजनाको क्षतिपूर्ति रूखलाई छ, मान्छेलाई छैन « Khabarhub

सन्दर्भ ‘सनसेट ल’

विद्युत् परियोजनाको क्षतिपूर्ति रूखलाई छ, मान्छेलाई छैन



काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले यतिबेला ‘सनसेट ल’ निर्माण गर्ने प्रारम्भिक काम गरिरहेको छ । पूर्वाधार क्षेत्रको काममा पैदा भएका कानुनी जटिलता अन्त्य गर्नेगरी सरकारले ‘सनसेट ल’को रूपमा ‘पूर्वाधार सहजीकरण विधेयक, २०८३’ ल्याउन लागेको हो ।

जसको मस्यौदा निर्माण राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाको नेतृत्वमा भइरहेको छ । केही दिनमै अन्तिम रूप दिनेगरी काम भइरहेको ‘सनसेट ल’ लाई लिएर पूर्वाधार क्षेत्रमा काम गर्ने र विशेषगरी निजी क्षेत्रका जलविद्युत् परियोजना सञ्चालकले समर्थन जनाइरहेका छन् ।

सरकारले आगामी १० वर्षमा जलविद्युत् निर्माणको क्षेत्रमा लिएको लक्ष्य प्राप्ति गर्न उक्त कानुन आवश्यक भएको उनीहरूको भनाइ छ ।

ठूला पूर्वाधार निर्माण र जलविद्युत् परियोजनाको क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकनअनुसारको परम्परागत कानुन कार्यान्वयन गर्दा कठिनाइ व्यहोर्नुपरेकाले त्यसैका लागि उक्त कानुन आवश्यक भएको उनीहरूको तर्क छ ।

तर, विशेषगरी विश्वमा धेरै जलविद्युत् परियोजनाको क्षेत्रमा काम गरेका देशहरूले वातावरण प्रभाव र क्षतिपूर्तिको विषयलाई कसरी सम्बोधन गरेका छन् ? के नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको निजी क्षेत्रले वातावरणीय प्रभाव मूल्यांकनको विषयलाई उठाइरहेको पीडा निकै ठूलो हो ?

सरकारले ल्याउन लागेको सनसेट ल सामाजिक र वातावरणीय क्षेत्रलाई दीर्घकालीन रूपमा सकारात्मक वा नकारात्मक कस्तो प्रभाव पार्नेगरी ल्याउने तयारी हुँदैछ ? यहाँ नेपालको वातावरणीय प्रभाव मूल्यांकनमा छुटेको ‘सनसेट ल’मा समावेश हुनुपर्ने एउटा विषयको मात्रै चर्चा गरौँ ।

अन्य देशमा के छ ?

नेपालजस्तै विश्वका सबैजसो देशमा जलविद्युत् आयोजना निर्माणमा अनिवार्य सर्त हो वातावरणीय मूल्यांकन ।

प्राप्त विवरणअनुसार विश्वमा जलविद्युत्को क्षेत्रमा काम गर्दा वातावरणीय प्रभाव मूल्यांकन नर्वे र क्यानडामा सबैभन्दा प्रभावकारी भएको मानिन्छ । यसका साथै, विद्युत् धेरै उत्पादन गर्ने चीन, ब्राजिल, अमेरिका, भारतसहित अन्य मुलुकको वातावरणीय प्रभाव मूल्यांकन र क्षतिपूर्तिको प्रावधान नेपालको भन्दा प्रभावकारी र नतिजामुखी भएको धेरै अन्तर्राष्ट्रिय रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा जलविद्युत् आयोजनाको वातावरणीय मूल्यांकन नेशनल इन्भायरमेन्टल पोलिसी एक्ट, १९६९ र क्लिन वाटर एक्ट अन्तर्गतबाट हुन्छ । जलविद्युत् आयोजनाको निर्माण गर्दा यदि कुनै रैथाने जातिका माछा वा जीव जोखिममा परेमा इन्डेन्जर्स स्पेसिस एक्ट आकर्षित हुन्छ, जसले आयोजनालाई समेत रोक्न सक्छ ।

भारतमा पनि जलविद्युत् आयोजना सञ्चालन गर्दा वातावरण संरक्षण ऐन, १९६८ र त्यसअन्तर्गतका कानुनहरू आकर्षित हुन्छन् । जलविद्युत् आयोजनाले प्राविधिक तथा आर्थिक स्वीकृति पाउनु अघि वातावरणीय र वन क्षेत्र प्रयोगको छुट्टाछुट्टै अनुमति लिनुपर्छ ।

क्यानडामा ड्यामको वातावरणीय प्रभाव मूल्यांकनमा आदिवासीको सहभागिता, सहमति र अधिकारलाई प्रभावकारी मापनको मुख्य आयाम बनाइएको छ ।
वातावरणीय मूल्यांकनसम्बन्धी कानुनी व्यवस्थामा नर्वे अगाडि रहे पनि आदिवासीको अधिकार सुरक्षित गर्ने विषयमा क्यानडा अगाडि रहेको विभिन्न रिपोर्टहरूमा उल्लेख छ ।

त्यस्तै, ब्राजिलको सन् १९८८ को संघीय संविधानले आदिवासीको भूमि संरक्षण गरेको छ । अमेजन क्षेत्रमा आदिवासीको सहमतिबिना र संघीय संसद्को अनुमतिबिना कुनै जलविद्युत् बाँध निर्माण गर्न पाइँदैन । पछिल्लो समयमा त्यही कानुनको आधारमा अदालतले ठूला परियोजना पनि खारेज गरिदिएको छ ।

यसका साथै, ब्राजिलमा उचित पुनर्वास र जीविकोपार्जन ग्यारेन्टी नभएसम्म आयोजना सञ्चालन हुने क्षेत्रमा जग्गा खाली गराउन पाइँदैन ।

छिमेकी भारतमा पनि जलविद्युत् आयोजनाले आदिवासीहरूको सांस्कृतिक सम्पदा, माछा मार्ने परम्परागत अधिकार वा पानीको अधिकारमा असर परेमा रोक्नेसम्मको अधिकार दिएको छ ।

नेपालमा रुख र वातावरण मात्रै, मान्छेको छैन कुरा

नेपालमा जलविद्युत् परियोजना अगाडि बढाउँदा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था छ । तर, उक्त ऐनमा रुख र प्रदूषणको विषय उठान गरे पनि मानिसहरूको जीवनयापनलाई समेटिएको छैन ।

जग्गा प्राप्तिबाहेक वातावरण संरक्षण ऐनले रुखको संरक्षण, राष्ट्रिय सम्पदा र वातावरणको संरक्षण, प्रदूषण नियन्त्रण र क्षतिपूर्तिबाहेक विषयलाई महत्व दिएको छैन ।

अर्कातिर, पछिल्लो समयमा निजी क्षेत्रबाट जलविद्युत् आयोजना सञ्चालन गर्दा निश्चित प्रतिशत सेयर स्वामित्व स्थानीय प्रभावितलाई दिनुपर्ने व्यवस्था गरिएको छ ।

तर, जलविद्युत् आयोजना सञ्चालन भइसकेपछि नदीमा बाँधिएको बाँधका कारण माछा र जलजन्य जीवहरू लोप भइरहेका छन् । जसले गर्दा नदीको आधारमा नै सयौँ वर्षदेखि जीवनयापन गर्दै आएका माझी र अन्य आदिवासी समुदायको स्वरोजगार र जीवनयापन संकटमा पारिदिएको छ । त्यतिमात्रै होइन, सम्बन्धित नदी क्षेत्रका हजारौँ परिवारले वर्षेनि प्राप्त गर्दै आएको माछा पनि प्राप्त हुने अवस्था छैन ।

तर, नेपालको वातावरणीय प्रभाव मूल्यांकनले एउटा नदीले दिने जलविद्युत्को मूल्य परिणाम र सामाजिक मूल्यको तुलना गरेको छैन । जसले गर्दा कतिपय साना नदीको विद्युतीय मूल्य ठूलो या त्यसको प्राकृतिक परम्परासहितको मूल्य ठूलो हो भन्ने पनि थाहा पाउन सकिएको छैन ।

त्यसैले, प्राकृतिक र सार्वजनिक सम्पत्तिका रूपमा रहेको नदीको व्यावसायिक उपयोग गर्दा त्यसको परम्परागत अर्थात् पथान्तरण वा बाँध बाँध्नुभन्दा अगाडिको मूल्य तय गर्नु आवश्यक छ । यसका साथै, उक्त क्षेत्रका आदिवासीको जैविक विविधता र पहिचानको पक्षलाई पनि ख्याल गर्नुपर्छ ।

त्यसैले, बन्दै गरेको ‘सनसेट ल’मा रुख कटान, जग्गा प्राप्ति, निर्माण प्रक्रिया सरलताका विषयलाई सम्बोधन गर्दै गर्दा क्यानडा, ब्राजिल लगायतले अवलम्बन गरेको मानवीय अधिकार र तिनको जीवनयापनको पक्षलाई पनि त्यही आयोजनाले सम्बोधन गर्ने नीति समावेश गर्न आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ७ : ०९ बजे

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

ब्राउनाउ आम इन (अस्ट्रिया)- नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा

विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह

काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब

‘युवाको आक्रोशको गलत फाइदा नउठाइयोस्’- छात्र आन्दोलनबारे प्रीति जिन्टाको चिन्ता

काठमाडौं– दिल्लीको जन्तर–मन्तरमा जारी छात्र आन्दोलनकाबीच बलिउड अभिनेत्री प्रीति जिन्टाले