काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल र चीनबीचको स्थल व्यापार चाडपर्वको मुखमा ठप्प बनेको छ ।
गत भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले भन्सार, सडकसहित सबै संरचना ध्वस्त बनाएपछि रसुवागढी नाका बन्द भएको थियो । त्यसपछि पहिरोको जोखिम देखाएर सिन्धुपाल्चोकको तातोपानी नाकामा चीनले आयात–निर्यात रोक्यो ।
काठमाडौँबाट दूरीको हिसाबले नजिक पर्ने दुवै नाका बन्द भएपछि व्यापारीले मुस्ताङको कोरला नाका प्रयोग गर्न थालेका थिए ।
तर, असोज ९ देखि ११ सम्मको भारी वर्षाले बेनी–जोमसोम सडकखण्डमा ठाउँठाउँमा पहिरो खसेकाले यो नाकाबाट पनि आयात–निर्यात बन्द छ । कोरला नाका हुँदै नेपाल प्रवेश गरेका करिब दुई सय कन्टेनर र सयौँ विद्युतीय गाडी मुस्ताङमै फसेका छन् ।
चीनतर्फका नाका बन्द हुँदा तीज, दसैँ–तिहार र जाडोका कपडा आयातमा असर परेको छ । चीनबाट आयात व्यापारमा संलग्न व्यवसायीको संस्था एकता व्यापार संघ नेपालका अध्यक्ष तेजप्रसाद आचार्य बजारमा आउनुपर्ने सामान आउन नसकेको र त्यसले बजारमा महँगीको अवस्था सिर्जना गरेको बताउँछन् ।
नियमित ल्याइनेभन्दा फरक नाका प्रयोग गर्नुपरेको, गाडी भाडा र लगानी बढेकाले महँगी बढ्ने उनको भनाइ छ । ‘हिजो ७५ हजार तिर्ने गाडी भाडा फरकफरक नाका घुमाउँदा–घुमाउँदै ५ लाखसम्म पुगेको अवस्था छ । ३ महिना लगाएर ल्याएको सामानको लगानी, ब्याज त्यसैमा जोडिने हो । व्यापारीले घाटा खाएर बेच्ने कुरा हुँदैन,’ उनले भने ।
तीज र दसैँका लागि गरिएको लगानी खेर गएको उनको जिकिर छ । ‘तीज र दसैँलाई भनेर लगानी गरेको पुँजी त्यहीँ (नाकामै) रह्यो । अहिले जाडोको सामान ल्याउनुपर्ने बेलामा बाटो ठप्प भएको अवस्था छ,’ उनले थपे, ‘उत्तरी नाकाबाट सामान आउँदा १५ दिनसम्म लाग्छ । अब भारतबाट आउने सामान हालेर सम्भावना छैन । जाडोको कपडा नै अभाव हुने अवस्था छ ।’
नाका बन्द हुँदा त्यसलाई खुलाउन राज्यले देखाउनुपर्ने तदारुकता, पहलकदमी र कूटनीतिक पहल हुनुपर्ने ठाउँमा हुन नसकेको उनको गुनासो छ । ‘बजारमा नयाँ सामान आउनुपर्ने हो । त्यो आएको देखिँदैन । बाटाघाटा बन्द भएको अवस्था छ ।
राज्यले देखाउनुपर्ने तदारुकता, पहलकदमी हुनुपर्ने ठाउँमा हुन सकेको छैन,’ उनले भने । नाका बन्द हुनु भनेको व्यवसायीलाई मात्र नभई राज्यलाई पनि घाटाको विषय भएकाले खोल्न सक्रिय हुनुपर्ने उनले बताए ।
अर्का व्यवसायी राजकुमार श्रेष्ठले पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष सामान कम आएको र व्यापार पनि कम भइरहेको सुनाए ।
आउनुपर्ने सामान नआएको, नियमित आयात हुने नाका बन्द भएकाले अन्य नाका प्रयोग गर्नुपर्दा यातायात खर्च बढेर सामान महँगो भएको उनको अनुभव छ । बाहिर मान्छे देखिएपनि पसलमा त्यसअनुसारको व्यापार नरहेको उनले दाबी गरे ।
नेपालमा तयारी पोसाकको ८० प्रतिशत व्यापार हिस्सा चीनले ओगटेको छ । विद्युतीय सवारीसहित अन्य सामानमा पनि चीन नै ठूलो आयातको स्रोत हो ।
तर, चीनसँगको व्यापार ठप्प बनेपछि दसैँको मुखमा अत्यावश्यक सामानमा भारतको भर पर्नुपर्ने अवस्था छ । नियमित आयात हुनेभन्दा अन्य स्रोतबाट सामान ल्याउनुपर्दा यसले सर–सामानको बजारभाउ आकासिने सम्भावना अधिक छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी




























प्रतिक्रिया