भदौ २३–२४ मा जेन–जीले गरेको आन्दोलन केवल एउटा क्षणिक असन्तोषको विस्फोट थिएन, त्यो देशको राजनीतिक नेतृत्व प्रति उठाइएको गहिरो प्रश्न थियो । सडक, विश्वविद्यालय र सार्वजनिक चोकहरूमा देखिएको युवा उपस्थितिले स्पष्ट सन्देश दिएको थियो-पुराना संरचनाहरू अब प्रश्नको घेरामा छन् ।
यसको प्रत्यक्ष परिणाम राजनीतिक स्तरमै देखियो । सरकार ढल्यो । आफूलाई ठूला र स्थापित भन्ने दलहरू केवल संगठनात्मक रूपमा कमजोर मात्र देखिएनन्, उनीहरूको वैचारिक आत्मविश्वाससमेत हल्लिएको अनुभूति भयो । त्यस आन्दोलनको मूल माग सत्ता परिवर्तन मात्र थिएन । त्यो दशकौँदेखि मौन रहँदै आएको असन्तोष, अवसरको अभाव, संस्थागत भ्रष्टाचार र जवाफदेहिताको संकटविरुद्धको सामूहिक अभिव्यक्ति थियो ।
युवाहरूले आफूलाई प्रतिनिधित्व नगर्ने राजनीतिक व्यवहार र नेतृत्व शैलीलाई अस्वीकार गर्दै नयाँ राजनीतिक चेतनाको संकेत दिएका थिए । तर यस्तो ऐतिहासिक क्षणलाई गम्भीर रूपमा आत्मसात् गर्ने साटो अहिले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यसलाई सरल तर खतरनाक कथामा सीमित गरिँदैछ- ‘यसको पछाडि विदेशी हात थियो ।’
आन्दोलनको मूल माग सत्ता परिवर्तन मात्र थिएन । त्यो दशकौँदेखि मौन रहँदै आएको असन्तोष, अवसरको अभाव, संस्थागत भ्रष्टाचार र जवाफदेहिताको संकटविरुद्धको सामूहिक अभिव्यक्ति थियो ।
आजको नेपालमा राजनीतिक तर्क तथ्य र विवेकभन्दा भावनात्मक लेबलिङमा आधारित हुँदै गएको देखिन्छ । कसैसँग असहमत हुनु छ भने प्रमाण खोज्ने, बहस गर्ने वा नैतिक स्तरमा प्रतिवाद गर्ने संस्कार कमजोर हुँदै गएको छ । यसको सट्टा, ‘विदेशी एजेन्ट’को बिल्ला लगाइदिने बित्तिकै बहस टुंगिन्छ । यस्तो प्रवृत्तिले केवल व्यक्तिलाई बदनाम गर्दैन; यसले सार्वजनिक बहसको स्तर नै खस्काउँछ ।
अझ चिन्ताजनक कुरा त के छ भने, यो कथालाई सबैभन्दा धेरै अघि बढाउने प्रायः देशबाहिर बस्ने केही स्वघोषित ‘बुद्धिजीवी’ र विश्लेषकहरू हुन् । अमेरिका, युरोप वा अन्य मुलुकमा बसेर सामाजिक सञ्जालमा सक्रिय उनीहरू नेपालमा भइरहेका सामाजिक र राजनीतिक परिवर्तनलाई प्रत्यक्ष रूपमा अनुभव गर्दैनन् । नेपालमा बस्ने वातावरण छैन, नेताले देश बिगारे, भ्रष्टाचार चरममा छ भन्ने टिप्पणीहरू उनीहरूका वालमा नियमित देखिन्छन् ।
यस्ता अभिव्यक्तिमा उनीहरू गम्भीर र चिन्तित देखिए पनि जब देशभित्रबाट उठेको युवा चेतनाले यथास्थितिलाई चुनौती दिन्छ, तब उनीहरू असहज हुन्छन् । त्यस असहजतालाई सम्बोधन गर्ने साटो, परिवर्तनकामी आवाजलाई विदेशी एजेन्टको रूपमा चित्रित गर्न सजिलो ठानिन्छ ।
यस्तो भाष्य किन यति छिटो फैलिन्छ ? यसको उत्तर सरल छ । विदेशी षड्यन्त्रको कथा भावनात्मक रूपमा शक्तिशाली हुन्छ । यसले जटिल सामाजिक–राजनीतिक समस्यालाई बाह्य शक्तिको दोषमा सारिदिन्छ । भारत, चीन वा पश्चिमी शक्तिको नाम लिएर बहस टुंग्याउन सकिन्छ भने नीति, शासन, नेतृत्व र जवाफदेहिताबारे गम्भीर छलफल किन गर्ने ? यही कारणले यस्तो भाष्य प्रभावकारी मात्र होइन, आश्चर्यजनक रूपमा “देशभक्तिपूर्ण” समेत मानिन्छ ।
नेपालको राजनीतिक रंगमञ्चमा अहिले एउटा स्पष्ट सन्देश देखिन्छ- यदि तपाईं यथास्थिति वा परम्परागत दलहरूको आलोचना गर्नुहुन्छ भने, तपाईं शंकाको घेरामा पर्नुहुन्छ । तुरुन्तै तपाईंलाई कुनै न कुनै विदेशी शक्तिको एजेन्ट भनेर चिनाइन्छ । परम्परागत शक्तिहरूविरुद्ध आवाज उठाउने बित्तिकै तिनका वफादार कार्यकर्ताले यस्तो आरोप लगाउन कुनै हिचकिचाहट देखाउँदैनन् । सायद म पनि अबदेखि त्यही कित्तामा उभिनुपर्ने हुन्छ होला ।
नेपालको राजनीतिक रंगमञ्चमा अहिले एउटा स्पष्ट सन्देश देखिन्छ- यदि तपाईं यथास्थिति वा परम्परागत दलको आलोचना गर्नुहुन्छ भने, तपाईं शंकाको घेरामा पर्नुहुन्छ । तुरुन्तै तपाईंलाई कुनै न कुनै विदेशी शक्तिको एजेन्ट भनेर चिनाइन्छ ।
पुराना दलका केही नेताहरूको अभिव्यक्ति त अझै चिन्ताजनक छ । सामाजिक सञ्जालमा उनीहरूले “हामी बाहेक अरू कोही सत्तामा आए देश रहँदैन” जस्ता दाबी गर्छन् । यस्ता भनाइहरू आत्मविश्वासको नभएर असुरक्षाको द्योतक हुन् । वास्तविकतामा सडकमा युवाहरू उठिरहेका छन्, विश्वविद्यालय र सामाजिक मिडियामा नयाँ विचार प्रसारित भइरहेका छन् । तर पुराना दल र तिनका समर्थक परिवर्तनलाई आत्मसात् गर्ने साटो, आफ्नै सत्ता र अहंकार जोगाउन केन्द्रित देखिन्छन् ।
शुक्रनीतिले देशको नेतृत्व लिने नेतालाई प्रजाका पिता, माता, गुरु, भाइ तथा मित्रका रूपमा उल्लेख गरेका छन् । नीति भन्छ–‘राजा अनर्थकारी भयो भने प्रजाले राजालाई आफ्नो आचरण बदल्नका लागि चेतावनी दिन सक्छन् । यसरी चेतावनी र देश छोड्ने धम्की दिँदा पनि राजाले आफ्नो व्यवहार बदलेन भने त्यसबेला सो राजालाई गद्दीच्युत गरी उसका कुलका कुनै गुणवान् व्यक्तिलाई राजगद्दीमा राख्ने अधिकार प्रजालाई छ । दुष्ट तथा दुराचारी राजा राक्षसको अवतार हो ।’
आजभोलि देशभक्तिको परिभाषा नै विकृत हुँदै गएको छ । देशभक्ति अब मूल्य, नीति वा सार्वजनिक हितप्रतिको प्रतिबद्धताले होइन, आलोचकलाई विदेशी मालिकको “कठपुतली” वा “एजेन्ट” भन्न सक्ने क्षमताले नापिन्छ । यो जवाफदेहिताबाट बच्ने सबैभन्दा सजिलो उपाय बनेको छ । राष्ट्रिय झण्डा फहराएर “विदेशी षड्यन्त्र” भन्दै चिच्याउन सकिएपछि, कठिन प्रश्नहरूको सामना गर्नु अनावश्यक ठानिन्छ।
बालुवाटार, खुमलटार, गुन्डु वा बालाजु-राजनीतिक शक्ति जहाँ भए पनि असहमतिलाई विदेशी षड्यन्त्रको नाम दिएर बाहिर धकेल्ने प्रवृत्ति सर्वत्र देखिन्छ । पार्टी वफादारको तर्कअनुसार, जेन–जीका सबै नेताहरू विदेशी एजेन्ट हुन् । अझ व्यापक रूपमा हेर्दा परम्परागत दलका शीर्ष नेताहरूको आलोचना गर्ने जो–कोही पनि विदेशी शक्तिको धूनमा नाच्ने व्यक्ति ठहरिन्छ । सेप्टेम्बर ८ र ९ को आन्दोलनसमेत विदेशी षड्यन्त्र थियो भन्ने दाबी यही सोचको परिणाम हो । यसरी हेर्दा, देशभित्रका भ्रष्टाचार, नातावाद, कृपावाद, महँगी र बेथिति जस्ता समस्याहरू स्वीकार गर्नु उनीहरूका लागि असहज हुन्छ ।
बालुवाटार, खुमलटार, गुन्डु वा बालाजु-राजनीतिक शक्ति जहाँ भए पनि असहमतिलाई विदेशी षड्यन्त्रको नाम दिएर बाहिर धकेल्ने प्रवृत्ति सर्वत्र देखिन्छ ।
विडम्बनाको चरम त के हो भने, आज “विदेशी एजेन्ट” भनेर चिच्याउने यी नै समूह ओली–देउवा–प्रचण्ड शासनकाललाई “स्थिर” र “अद्भुत” भनेर चित्रण गर्थे। उनीहरूको दृष्टिमा समस्या तब मात्र सुरु भयो जब तथाकथित “विदेशी एजेन्ट” ले प्रश्न उठाउन थाले । त्यसअघि सबै कुरा सहज थियो– आज्ञाकारी मान्छेको भीड र कथित स्थिरताको आवरण ।
यसैबीच, सामाजिक सञ्जाल गलत सूचना, भ्रमपूर्ण सामग्री र नक्कली समाचारको उर्वर भूमि बनेको छ । स्वघोषित बौद्धिक युट्युबर, राजनीतिक झुकाव भएका पत्रकार र इन्फ्लुएन्सरले न्यूनतम विशेषज्ञताविना अर्थतन्त्र, विदेश नीति र राष्ट्रिय सुरक्षासम्म टिप्पणी गरिरहेका छन् । यही डिजिटल कोलाहलले “विदेशी एजेन्ट” कथालाई अझ बलियो बनाइरहेको छ ।
अब प्रश्न उठ्छ-यसले नेपालको लोकतन्त्रलाई के सन्देश दिन्छ ? दुर्भाग्यवश, यसको अर्थ बहस कमजोर हुँदै गएको छ । बहसको स्थान अब लेबल, आरोप र षड्यन्त्र सिद्धान्तले लिएको छ। भ्रष्टाचार, आर्थिक विकास, रोजगारी र सामाजिक न्यायजस्ता वास्तविक मुद्दा आवाजको कोलाहलमा हराइरहेका छन्। नागरिकहरू अलमलमा छन्, राजनीति क्रमशः तमाशामा रूपान्तरण भइरहेको छ ।
के यो साँच्चै देशभक्ति हो ? वा केवल जवाफदेहिताबाट बच्न र असहमत आवाजहरूलाई दबाउन प्रयोग गरिने सुविधाजनक बहाना ? जब “विदेशी एजेन्ट” भन्ने शब्द नै राजनीतिक बहसको अन्तिम अस्त्र बन्छ, हामी राष्ट्रको रक्षा गरिरहेका हुँदैनौँ । हामी केवल कठिन संवादबाट भागिरहेका हुन्छौँ ।
भ्रष्टाचार, आर्थिक विकास, रोजगारी र सामाजिक न्यायजस्ता वास्तविक मुद्दा आवाजको कोलाहलमा हराइरहेका छन्। नागरिकहरू अलमलमा छन्, राजनीति क्रमशः तमाशामा रूपान्तरण भइरहेको छ ।
समयसँगै, यो लेबल राष्ट्रिय हित जोगाउने साधन होइन, शक्तिलाई प्रश्न गर्ने साहस देखाउने जो–कोहीलाई चुप गराउने हतियार बनेको छ । यो मूलतः अल्छी राजनीति हो-तथ्य र तर्कभन्दा वफादारीलाई प्राथमिकता दिने राजनीति । र सबैभन्दा खतरनाक कुरा, यो रणनीति काम गर्छ । त्यसैले आजको नेपालमा यस्तो सटकट राजनीति सामान्य जस्तै भइसकेको छ ।
यदि हामी साँच्चै लोकतान्त्रिक, परिपक्व र उत्तरदायी राजनीतिक संस्कृतिको अपेक्षा गर्छौँ भने, असहमतिको सामना गर्ने साहस विकास गर्नुपर्छ । प्रश्न उठाउनेहरूलाई विदेशी एजेन्ट ठहर गर्नु होइन, उनीहरूको तर्क सुन्ने र जवाफ दिने अभ्यास आवश्यक छ । नत्र, प्रत्येक आलोचनाको अन्त्य एउटै वाक्यमा हुनेछ- “ओहो, उनीहरू ? स्पष्टै विदेशी एजेन्ट ।”
विश्वले देउतासरह मानेको आइन्स्टाइन राजनीतिको कोपभाजनमा परे । उनलाई यहुदी भएको अपराधमा आफ्नो जन्मभूमि जर्मनीबाट निकालेपछि त्यहाँका विद्वानले टिप्पणी गर्दै भनेका थिए– ‘जर्मनी आज युद्धमा हारेको छ ।’ यहुदी विद्वानहरुलाई देश निकाला अभियान चलाइएको थियो भने बाँकीलाई दारा निकालेको बाघका रुपमा शक्तिहीन तुल्याएर स्वदेशमै पलायन गरिएको थियो । यहुदी भएका कारण आफ्नो देशबाट च्यूत हुँदै आइन्स्टाइन बेलायत हुँदै शरण लिन अमेरिका पुगे । अणुबमको निर्माण सम्बन्धी आधारभूत सिद्धान्त सापेक्षतावादका जन्मदाता आइन्स्टाइनको प्रतिभाबाट प्रभावित भई अमेरिकी सरकारले उनलाई सम्मानपूर्वक बस्न दिने निधो गर्यो ।
अनुसन्धान सम्बन्धी सम्पूर्ण काम र सुविधा आइन्स्टाइनमाथि सुम्पिइयो । कतै नेपालमा चलेको विदेशी एजेन्टको फर्मूलाले भोलि कतै यही नियति नदोहोरियोस् ।













प्रतिक्रिया