पुत्रजया- भारत र मलेसियाले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणका क्रममा सेमिकन्डक्टर क्षेत्रमा आपसी साझेदारीलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका छन् । हिन्द महासागर क्षेत्रका छिमेकी राष्ट्रहरू व्यापार र सुरक्षा सम्बन्ध विस्तारतर्फ अग्रसर भइरहेका बेला दुवै देशले प्रविधि–आधारित सहकार्यलाई प्राथमिकता दिने सङ्केत गरेका छन् । प्रधानमन्त्री मोदी शनिबार मलेसिया पुगेका हुन् ।
यो एक दशकभन्दा बढी समयपछि भएको उनको पहिलो भ्रमण हो । भ्रमणका क्रममा उनले मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र कृत्रिम बौद्धिकता (एआई) लगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री मोदीले एआई र डिजिटल प्रविधिसँगै सेमिकन्डक्टर, स्वास्थ्य र खाद्य सुरक्षामा पनि साझेदारीलाई अगाडि बढाइने बताए ।
उनले यी क्षेत्रहरू दुवै देशका लागि दीर्घकालीन रणनीतिक महत्त्वका विषय भएको उल्लेख गरे । प्रधानमन्त्री अनवर इब्राहिमले भारत र मलेसियाबीच भएको यो भेटवार्ता र आदानप्रदानलाई अत्यन्तै महत्त्वपूर्ण र रणनीतिकको संज्ञा दिए ।
मलेसियाको प्रशासनिक राजधानी पुत्रजयामा आयोजित पत्रकार सम्मेलनमा उनले यसले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । मलेसिया सरकारको तथ्याङ्कअनुसार सेमिकन्डक्टरको विश्वव्यापी निर्यातमा मलेसिया छैटौँ स्थानमा रहेको छ । यस क्षेत्रले मलेसियाको कुल घरेलु उत्पादनमा करिब २५ प्रतिशत योगदान पुर्याउने गरेको छ, जसले यसको आर्थिक महत्त्व स्पष्ट गर्छ ।
भारतको विदेश मन्त्रालयले दक्षिणपूर्वी एसियाली राष्ट्र मलेसियासँग बलियो सेमिकन्डक्टर इकोसिस्टम रहेको जनाएको छ । मन्त्रालयका अनुसार मलेसियासँग यस क्षेत्रमा करिब ३० देखि ४० वर्षको अनुभव रहेको छ, जसले भारतका लागि उपयोगी अवसर सिर्जना गर्न सक्छ । मन्त्रालयले अनुसन्धान तथा विकासदेखि निर्माण र परीक्षण प्लान्टसम्मका क्षेत्रमा भारतीय कम्पनीहरू मलेसियासँग सहकार्य गर्न इच्छुक रहेको जानकारी पनि दिएको छ ।
उदाहरणका रूपमा, टाटा इलेक्ट्रोनिक्सले गत जुनमा मलेसियामा फेब्रिकेसन वा आउटसोर्स सेमिकन्डक्टर एसेम्बली तथा परीक्षण प्लान्ट खरिदका लागि विश्वव्यापी सेमिकन्डक्टर कम्पनीहरूसँग वार्ता गरिरहेको समाचार भारतीय र मलेसियाली सञ्चारमाध्यमहरूले जनाएका थिए । इन्डिया ब्रान्ड इक्विटी फाउन्डेसनका अनुसार गत वर्ष भारतले मुख्यतया इन्जिनियरिङ र पेट्रोलियम उत्पादनमा सात अर्ब ३२ करोड डलर बराबरको सामान मलेसियामा निर्यात गरेको थियो ।
त्यस्तै मलेसियाबाट १२ अर्ब ५४ करोड डलर मूल्यका खनिज, वनस्पति तेल तथा विद्युतीय मेसिनरी र उपकरण भारतमा आयात हुने गरेको छ । मलेसियामा भारतीय मूलका नागरिकको ठूलो जनसङ्ख्या पनि रहेको छ । आधिकारिक तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको करिब ६.८ प्रतिशत, अर्थात् झन्डै ३० लाख मानिस भारतीय मूलका छन् ।
प्रधानमन्त्री मोदीले यस डायस्पोरालाई भारत र मलेसियाबीचको ‘जीवित पुल’ को संज्ञा दिँदै उनीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । उनले प्रवासी भारतीयहरूको कल्याणका लागि चालिने कदमहरूले दुई देशबीचको सम्बन्धलाई मानवीय आधार प्रदान गर्ने विश्वास व्यक्त गरे ।













प्रतिक्रिया