वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित « Khabarhub

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन् । खेतमा पाकेर तयार भएको गहुँ काट्ने र भित्र्याउने समयमा वर्षा हुँदा किसान मर्कामा परेका छन् ।

कतिपय किसानको गहुँ काटिसके पनि थ्रेसिङ गर्न नपाउँदै पानीले भिजाउँदा उत्पादनमा क्षति पुगेको छ भने केही किसानले वर्षाको सम्भावनाका कारण गहुँ काट्नै नपाएको अवस्था छ । 

कृष्णपुर नगरपालिका राजघाटका मोहनसिंह चौधरीले मौसमबारे  पूर्वानुमान गर्न नसक्दा मेसिन लगाएर काटेको गहुँ भित्र्याउन नपाउँदै भिजेको बताए । 

‘मेसिनले गहुँ काट्यौँ, तर पानी पर्ने थाहा भएन’, उनले भने, ‘थ्रेसिङ गर्न नपाउँदै पानी परेपछि सबै गहुँ भिज्यो, अब वर्षा नरोकिए खेतमै उम्रिने चिन्ता छ ।’

यस्तै शुक्लाफाँटा नगरपालिका–२ का भरतबहादुर चौधरीले वर्षाको जानकारी पाएपछि गहुँ काट्ने योजना नै स्थगित गर्नुपरेको बताए । उनले भने, ‘गहुँ पाकेर खेतमै झर्ने अवस्था छ, वर्षा लम्बिए ठूलो नोक्सानी हुन्छ ।’

शुक्लाफाँटा नगरपालिका–पीपलाडीका प्रकाश चौधरीले हतारहतारमा पानी पर्ने क्रम सँगै गहुँ भित्र्याउन सफल भए पनि भुसा भने पानीले बिग्रिएको बताए । ‘जोडबल गरी गहुँ थ्रेसिङ गरेर भ्यायौँ’, उनले भने, ‘भुसा पानीले भिजेर काम नलाग्ने भयो ।’

चैत महिनाको अन्त्यको समय गहुँ भित्र्याउने हो । यस समयमा परेको वर्षाले उत्पादन र आम्दानी दुवैमा असर पार्छ । खेतमै भिजेको गहुँमा गुणस्तर घट्ने, ढुसी लाग्ने र अङ्कुर उम्रिने जोखिम बढ्छ । मौसमको अनिश्चितताले पछिल्ला वर्षमा खेतीपातीमा जोखिम बढ्दै गएको छ । 

शुक्लाफाँटा कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरका अनुसार काटिसकेको गहुँ पानीमा भिज्दा दानाको गुणस्तर घट्ने, भण्डारण गर्न समस्या हुने र बजार मूल्यसमेत कम हुने सम्भावना रहन्छ । 

त्यसैले किसानलाई मौसमको पूर्वानुमानअनुसार काम गर्न र सम्भव भएसम्म छिटो बाली भित्र्याउन सुझाव दिइएको उनले बताए । 

नगरपालिका क्षेत्रका ८५ प्रतिशत किसानले गहुँबाली भित्र्याइसकेका भए पनि १५ प्रतिशत जति किसानको बाली वर्षाका कारण प्रभावित भएको हुनसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ६ : ४४ बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको