एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर « Khabarhub

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३ लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता, ठगी तथा खेल मिलेमतो (म्याच फिक्सिङ)को अभियोगमा जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको छानबिन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाका तत्कालीन प्रशासनिक अधिकृत वसन्त रिजालको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले मुद्दा दर्ता गराएको हो ।

सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूमध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ परी प्रहरी हिरासतमा रहेका छन् भने अध्यक्ष नेम्वाङ र महासचिव राई हाल फरार सूचीमा रहेका छन् । फरार रहेका पदाधिकारीहरूको हकमा अदालतबाट म्याद जारी गर्न अनुरोध गरिएको छ ।

अनुसन्धान अनुसार प्रतिवादीहरूबाट कुल ९३ लाख ९ सय रुपैयाँ बिगो कायम गरी असुलउपर गर्न माग गरिएको छ । यसमा एन्फाको आर्थिक कार्यविधि विपरीत खुला टेन्डर नगरी खेल सामग्री खरिद गर्दा पुर्‍याइएको ५० हजार अमेरिकी डलर (नेपाली रुपैयाँ ६६ लाख ५३ हजार ९ सय) र नेपाल–बहराइन खेल बहराइनमा खेलाएबापत प्राप्त हुनुपर्ने २० हजार अमेरिकी डलर (नेपाली रुपैयाँ २६ लाख ४७ हजार) गरी कुल बिगो रकम तय गरिएको छ ।

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनोटअन्तर्गत सन् २०२४ मार्च २१ मा काठमाडौंको दशरथ रंगशालामा हुनुपर्ने घरेलु खेललाई नियतवश बहराइन सारिएको अभियोगपत्रमा उल्लेख छ । 

घरेलु मैदानको मर्मत सम्भार गर्नुको सट्टा गैर-अन्तर्राष्ट्रिय कार्यक्रमहरू सञ्चालन गर्न दिएर रंगशालालाई अयोग्य बनाइएको र बहराइन फुटबल संघबाट टिकट बिक्री राजस्वबापत प्राप्त २० हजार अमेरिकी डलर संस्थाको आधिकारिक खातामा दाखिला नगरी अपचलन गरिएको पाइएको छ ।

यसैगरी एन्फाको आर्थिक कार्यविधि अनुसार १० लाख रुपैयाँभन्दा माथिको खरिदमा टेन्डर आह्वान गर्नुपर्नेमा एउटै स्वामित्वका तीन वटा नक्कली फर्महरू खडा गरी लागत अनुमानभन्दा बढी दररेटमा केल्मी ब्रान्डका खेल सामग्री खरिद गरेर संस्थालाई हानी पुर्‍याइएको छ । 

फिफाबाट प्राप्त ३३० थान विश्वकपका अनलाइन टिकटहरू पारदर्शी रूपमा वितरण नगरी सामाजिक सञ्जालमार्फत कालोबाजारी गरिएको र शेर्पा आउटडोर (केटिएम सिटी) सँगको प्रायोजन रकममध्ये २५ लाख रुपैयाँ महासचिव किरण राईले व्यक्तिगत रूपमा बुझेर अपचलन गरेको अनुसन्धानबाट खुलेको छ ।

सरकारी वकिल कार्यालयले प्रतिवादीहरूलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार खेलमा मिलेमतो र अनियमितता गरेको कसुरमा ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाका साथै मुलुकी अपराध संहिता, २०७४ को ठगी सम्बन्धी दफा अनुसार कारबाही र बिगो असुलको मागदाबी गरेको छ । 

यसबाहेक गैरकानुनी सम्पत्ति आर्जन गरेको आशङ्कामा सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार थप अनुसन्धान भइरहेको छ भने अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हित प्रतिकूल कार्य गरेको अभियोगमा मुलुकी अपराध संहिताको दफा ५१ बमोजिम कारबाहीका लागि सीआईबीमा लेखि पठाइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ११ : १४ बजे

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि

नेकपा संयोजन समिति बैठकमा सहभागी हुन पेरिसडाँडामा जुट्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठकमा

पोखरामा स्कुल बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो

काठमाडौँ – कास्कीको पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच