चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालन गर्ने तयारीसहित काम तीव्र पारिएको छ । पहिरो पन्छाउन अहिले सडकको दुवैतर्फबाट उपकरण परिचालन गरिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडरले पहिरो पन्छाइरहेको छ ।
काठमाडौँतर्फबाट दुई वटा एक्साभेटर, एउटा जेसीबी र एउटा लोडर परिचालन गरिएको छ । सडक केही सफा भएपछि काठमाडौँतर्फबाट एउटा एक्साभेटर मुग्लिनतर्फ पठाएर पहिरो पन्छाइने उनले बताइन् ।
अधिकारीले थप पहिरो नखसेमा काम तीव्र गतिमा भइरहेको हुँदा दिउँसो १ बजेसम्म सडक सञ्चालनमा आउने बताइन् । सो स्थानमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले पहिरो पन्छाउन ढिलाइ भएको उनको भनाइ छ ।
राति १ बजे खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । पुनः बिहान ५ बजे पहिरो खसेपछि काठमाडौँतर्फबाट तत्काल पहिरो पन्छाउने काम थालिएको थियो ।
मुग्लिनतर्फ पहिरो पन्छाउन आवश्यक उपकरण उपलब्ध नभएपछि भरतपुरबाट उपकरण ल्याएर काम सुरु गरिएको अधिकारीले जानकारी दिइन् ।
पहिरो खसेको स्थान मुग्लिनबाट तीन किलोमिटर मलेखुतर्फ पर्दछ । सो स्थानमा आइतबार पनि सुक्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि तिहार मनाउन घर जाँदै गरेका यात्रु बोकेका सवारीसाधन बाटोमै रोकिएका छन् । रासस














प्रतिक्रिया