तनहुँ– सर्वसाधारणको आउजाउ बाक्लो छ । आउनेहरु सुरुमा गाईको पुजा गर्छन् । पुरोहितको मन्त्रोचरणसँगै जल, पुष्प, दिप अर्पण गरेर गाईको शीर, पाऊ र पुच्छर ढोग्छन् ।
गाईलाई फलफूल खुवाउँछन् । कोही नुन, चोक्कर र पराल ल्याएर खुवाउँछन् । यो दृश्य सोमबार बिहान तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मरेतरामा रहेको गौसंरक्षण केन्द्रको हो । तिहारअन्तर्गत सोमबार बिहान यहाँ गाई पूजा गरिएको छ ।
घरबाट ल्याइएका, छाडा छोडिएको गाई-गोरु गौसंरक्षण केन्द्रमा आश्रित छन् । तिनै गाईको पूजा गर्न हिन्दु धर्ममा आस्था राख्नेहरु सोमबार बिहानैदेखि संरक्षण केन्द्र पुगे । गाईको दुध, दही, घ्यू, गोबर, गहुँत हिन्दु धार्मिक संस्कारअनुसार पुजाआजामा प्रयोग हुन्छन् । तर, बुढो र रोगी भएपछि घरबाट धपाउने प्रचलन व्याप्त छ ।
छाडा छोडिएका चौपायाले किसानको अन्नबाली नष्टगर्ने र सडक दुर्घटनाको जोखिम बढाउने समस्या समाधान गर्न नगरपालिकाले २०७५ सालमा गौसंरक्षण केन्द्र स्थापना गरेको थियो ।
घरबाट धपाइएका गाई, गोरु संरक्षण गर्न स्थापित केन्द्र अहिले मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम विकास समितिले सञ्चालन गर्दै आइरहेको छ ।
तस्बिर : विनोद ढुंगाना/नेपाल फोटो लाइब्रेरी






























प्रतिक्रिया