पोखरा– चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिना अर्थात् असोज मसान्तसम्ममा गण्डकी प्रदेश सरकारले कुल बजेटको आठ दशमलव १५ प्रतिशत खर्च गरेको छ।
चालु आर्थिक वर्षका लागि विनियोजित ३२ अर्ब ९९ करोड ९९ लाख बजेटमध्ये पहिलो त्रैमासिक अवधिमा दुई अर्ब ६९ करोड २६ लाख ५३ हजार ३१६ खर्च भएको प्रदेश कोष नियन्त्रक सुरेश सुवेदीले जानकारी दिए ।
उनका अनुसार रु १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार चालु बजेटमध्ये एक अर्ब ४३ करोड ८७ लाख ६६ हजार ८७२ अर्थात् ११ दशमलव तीन प्रतिशत खर्च भएको छ ।
पुँजीगततर्फ छ दशमलव २६ प्रतिशत बजेट खर्च भएको उनले बताए। रु २० अर्ब दुई करोड ६१ लाख २२ हजार पुँजीगत बजेटमध्ये रु एक अर्ब २५ करोड ३८ लाख ६६ हजार ८७२ खर्च भएको छ ।
मन्त्रालयगत रुपमा सबैभन्दा बढी रकम स्वास्थ्य मन्त्रालयले खर्च गरेको छ । यस मन्त्रालयको बजेट रु तीन अर्ब ३१ करोड २४ लाख ८४ हजारमध्ये तीन महिनामा ११ दशमलव पाँच प्रतिशत बजेट खर्च भएको प्रदेश कोष नियन्त्रक सुवेदीले जानकारी दिए ।
अन्य मन्त्रालयको खर्च पनि सन्तोषजनक नै रहेको उनले बताए। यो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा गत वर्षकै तुलनामा खर्च भएको प्रदेश कोष नियन्त्रक सुवेदीले बताए। गत आर्थिक वर्षमा आठ दशमलव तीन प्रतिशत खर्च भएको उनले जानकारी दिए।
आर्थिक वर्षको सुरुआतमा कार्यक्रम तथा योजनाहरू सुरु हुने भएकाले खर्च प्रतिशत कम हुने प्रदेश कोष नियन्त्रक सुवेदीको भनाइ छ । योजना तथा कार्यक्रमहरू तेस्रो र चौथो त्रैमासिकमा सकिएर सोही समयमा भुक्तानी हुने भएकाले आर्थिक वर्षको अन्त्यमा बढी रकम निकासा-खर्च हुने उनले बताए।














प्रतिक्रिया