बजेट अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माणमा ढिलाइ « Khabarhub

बजेट अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माणमा ढिलाइ


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– बर्सेनि न्यून बजेट विनियोजन हुँदा भोजपुरको होम्ताङ–पिखुवा लिफ्ट खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । स्थानीयवासीको दशकौँदेखिको खानेपानी समस्या समाधान गर्ने लक्ष्यसहित सुरु गरिएको यो आयोजना पर्याप्त बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन ।

आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७५-७६ देखि सुरु गरिए पनि अपेक्षाअनुसार बजेट प्राप्त हुन नसक्दा कामले गति लिन नसकेको निर्माण उपभोक्ता समितिका सचिव राजेन्द्र राईले जानकारी दिए । उनका अनुसार आयोजना ठूलो र प्राविधिक रूपमा जटिल भए पनि हरेक वर्ष न्यून बजेट मात्रै विनियोजन हुँदा निर्माण ढिलाइ भएको छ । 

‘यो दीर्घकालीन महत्व बोकेको आयोजना हो’, सचिव राईले भने, ‘कूल लागतको तुलनामा वार्षिक रूपमा आउने बजेट अत्यन्तै कम छ । त्यही कारण निर्माण अवधि लम्बिएको छ । स्थानीयवासीले अझै पनि पानीको समस्या भोग्नुपरेको अवस्था छ ।’

हालसम्म आयोजनाअन्तर्गत विभिन्न संरचना निर्माण भइसकेका छन् । तर अझै पनि एउटा मुख्य ट्यांकी निर्माण र करिब चार किलोमिटर लामो मुख्य पाइपलाइन विस्तार गर्न बाँकी रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । चालु आर्थिक वर्षमा आयोजनाका लागि ५५ लाख बजेट विनियोजन गरिएको छ । यो रकम बाँकी काम सम्पन्न गर्न पर्याप्त नभएको समितिले जनाएको छ ।

स्थानीय बासिन्दाको पिउने पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले पिखुवा खोलाबाट सात तहमा लिफ्टिङ प्रणाली प्रयोग गरी पानी बस्तीमा ल्याउने व्यवस्था गरिएको हो । भौगोलिक रूपमा विकट र उचाइमा रहेका बस्तीहरूमा पानी पुर्‍याउन लिफ्ट प्रणाली आवश्यक परेकाले आयोजनाको लागत पनि उच्च रहेको छ ।

 यो आयोजना सम्पन्न भएपछि हतुवागढी गाउँपालिकाका वडा नं १, ५ र ६ मा बसोबास गर्ने करिब एक हजार ४६९ घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ । हाल ती वडाका स्थानीयवासी बर्सात र सुक्खा दुवै समयमा खानेपानीको अभाव झेल्न बाध्य छन् । कतिपय बस्तीमा घण्टौँ हिँडेर पानी बोकेर ल्याउनुपर्ने अवस्था अझै कायमै रहेको स्थानीय बताउँछन् ।

आयोजनाको प्रारम्भिक अनुमानअनुसार कूल लागत रु ३० करोड ९० लाख ८२ हजार रहेको छ । यति ठूलो लागतको आयोजना भए पनि बजेट सन्तुलित रूपमा नआउँदा निर्माण कार्य समयमै सम्पन्न हुन नसकेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

स्थानीय सरकार र उपभोक्ता समितिले सङ्घीय तथा प्रदेश सरकारसँग आवश्यक बजेट सुनिश्चित गरी आयोजना छिटो सम्पन्न गर्न आग्रह गर्दै आएका छन् । आयोजना समयमै सम्पन्न हुनसके स्थानीयवासीको खानेपानी समस्या समाधान हुनुका साथै स्वास्थ्य, सरसफाइ र जीवनस्तरमासमेत सकारात्मक प्रभाव पार्ने स्थानीयको भनाइ छ । 
 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ९ : ४१ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने