इन्टरनेट बन्द भएपनि इरानमा उग्र प्रदर्शन जारी « Khabarhub

इन्टरनेट बन्द भएपनि इरानमा उग्र प्रदर्शन जारी


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दुबई- इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् । निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गरेपछि प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् ।

तेहरान र अन्य सहरका सडकहरूमा प्रदर्शनपछि भग्नावशेष छरिएका देखिएका छन् । कार्यकर्ताहरूले बाहिर पठाएका छोटा अनलाइन भिडियोहरूमा प्रदर्शनकारीहरूले आगो बाल्दै इरानको सत्ताविरुद्ध नारा लगाएको देखिन्छ । लामो समय मौन बसेको इरानी राज्य टेलिभिजनले शुक्रबार पहिलो पटक प्रतिक्रिया जनाउँदै प्रदर्शन हिंसात्मक बनेको र ‘हताहत’ भएको दाबी गरेको छ, तर त्यसबारे विस्तृत विवरण दिएको छैन ।

राज्य मिडियाले अमेरिका र इजरायलका ‘आतङ्कवादी एजेन्ट’ ले आगजनी र हिंसा भड्काएको आरोप पनि लगाएको छ । सञ्चार अवरोधका कारण प्रदर्शनको वास्तविक आकार र फैलावट तुरुन्तै पुष्टि गर्न सकिएको छैन ।

तर कमजोर अर्थतन्त्र, महँगी र बेरोजगारीले थलिएको अवस्थामा सुरु भएको यो आन्दोलन पछिल्ला वर्षहरूमा सरकारका लागि सबैभन्दा गम्भीर चुनौती बनेको विश्लेषकहरूको भनाइ छ । यो विरोध प्रदर्शनलाई निर्वासित युवराज रेजा पहलवीको आह्वानप्रति जनसमर्थन कति छ भन्ने पहिलो ठूलो परीक्षणका रूपमा पनि हेरिएको छ ।

उहाँका पिता, पूर्व शाह, सन् १९७९ को इस्लामिक क्रान्तिभन्दा अघि देश छाड्न बाध्य भएका थिए । पछिल्ला प्रदर्शनमा शाहको समर्थनमा नाराबाजीसमेत सुनिनु, पहिले मृत्युदण्डसम्म हुन सक्ने अवस्थाको तुलना गर्दा जनआक्रोश कति गहिरो छ भन्ने सङ्केत मानिएको छ । अमेरिकास्थित मानव अधिकार निगरानी समूहका अनुसार हालसम्मको झडप र दमनमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने दुई हजार २७० भन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको छ ।

युवारज पहलवीले बिहीबार र शुक्रबार साँझ ८ बजे पुनः सडकमा उत्रिन आह्वान गरेका थिए । विश्लेषक होली डाग्रेसका अनुसार सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियाबाट धेरै इरानी नागरिकहरूले इस्लामिक गणतन्त्र हटाउने उद्देश्यसहित प्रदर्शनलाई गम्भीर रूपमा लिएको स्पष्ट हुन्छ ।

उनका अनुसार विश्वले प्रदर्शन नदेखोस् र सुरक्षाबललाई कडा कारबाही गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले इन्टरनेट बन्द गरेको हो । इन्टरनेट बन्द हुनुअघि बिहीबार साँझ तेहरानका विभिन्न बस्तीहरूमा ‘तानाशाह मूर्दावाद’ र ‘इस्लामिक गणतन्त्र मुर्दावाद’ जस्ता नाराले आकाश गुन्जिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । केहीले ‘यो अन्तिम युद्ध हो, पहलवी फर्कनुहुनेछ’ भन्दै शाहको प्रशंसा गरेका थिए ।

युवराज पहलवीले सञ्चार बन्दलाई जनताको आवाज दबाउने प्रयास भन्दै युरोपेली नेताहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर इरानी शासनलाई जवाफदेही बनाउन आग्रह गरेका छन् । उनले इरानी जनताको आवाज चुप लाग्न नदिन अन्तर्राष्ट्रिय समुदायले सबै प्राविधिक, वित्तीय र कूटनीतिक उपाय अपनाउनुपर्ने बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सुरक्षाबल वा सरकारले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका नागरिकहरूमाथि हत्या, अत्यधिक बल प्रयोग वा दमन गरेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले हाल युवराजसँग प्रत्यक्ष भेट उपयुक्त नहुने बताउँदै घटनाक्रमको परिणाम कुर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

हालैका वर्षहरूमा प्रतिबन्ध र क्षेत्रीय द्वन्द्वका कारण इरानको अर्थतन्त्र गम्भीर सङ्कटमा छ । १२ दिने युद्धपछि रियाल मुद्रा ऐतिहासिक रूपमा कमजोर बनेको अवस्थामा सुरु भएको यो आन्दोलनले आगामी दिनमा इरानको राजनीतिक दिशा कता मोडिन्छ भन्नेबारे गहिरो प्रश्न खडा गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : ३७ बजे

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही