टिप्पणी : गगन–विश्वले कांग्रेसको संकट पार लगाउलान् ? « Khabarhub

टिप्पणी : गगन–विश्वले कांग्रेसको संकट पार लगाउलान् ?



काठमाडौं- यतिबेला नेपालको राजनीति नेपाली कांग्रेसका महामन्त्रीद्वयले डाकेको विशेष महाधिवेशनमय बनेको छ । तर, एउटा पक्षले विशेष महाधिवेशन गर्ने भन्ने र अर्को पक्षले विरोध गर्ने स्थितिले भने कतै कांग्रेस विभाजनमा पुग्ने त होइन भन्ने चिन्ता पनि देखिएको छ ।

विशेष महाधिवेशन पक्षको नेतृत्वमा देखिएका कांग्रेस महामन्त्रीद्वयले भने पार्टी कुनै हालतमा फुट्न नदिने प्रतिबद्धता जनाएका छन् । यतिबेलासम्म विशेष महाधिवेशनको पक्ष र विपक्ष दुवै आ–आफ्नो निर्णयमा टसमस नभएको देखिन्छ । दुवै पक्षका नेताहरूले आ–आफ्नो अडान पनि सार्वजनिक गरिरहेका छन् । कांग्रेसमा भएको विगतको विभाजनसँग जोडेर यस्तो अवस्थामा पनि कसरी कांग्रेस फुट्दैन भन्ने प्रश्न धेरैले उठाएको पाइन्छ ।

१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चारवर्षे कार्यकाल पूरा भइसकेपछि विधानतः १५औँ महाधिवेशन मंसिरभित्र गरिसक्नुपर्ने थियो । तर, संस्थापन पक्ष सो समयभित्र नियमित महाधिवेशन गर्न इच्छुक देखिइरहेको थिएन । सोही क्रममा भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनले राज्यसत्ता, सरकार र समग्र परम्परागत तथा मूल प्रवाहका राजनीतिक दल र नेतृत्वमाथि प्रश्न राजनीतिक शक्ति सन्तुलनमा नै ठूलो फेरबदल ल्याइदियो ।

सोही नयाँ पुस्ताको जनादेशको आधारमा नै कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको लिखित माग पार्टी केन्द्रसमक्ष गरेका थिए । तर, बिडम्बना पार्टीको केन्द्रीय समितिले भने विधानअनुरूप आएको सो मागमाथि छलफल समेत गरेन ।

विशेषगरी पार्टी नेतृत्व वरिपरि रहेको पदाधिकारी सहितको नेतृत्वसमूहले बद्लिएको राजनीतिक शक्ति सन्तुलनमा पार्टीको विशेष महाधिवेशन गर्दा आफूहरूको अस्तित्व माथि नै प्रश्न पैदा हुने अवस्थाको आंकलन गर्न पुग्यो । जसले गर्दा विशेष महाधिवेशन नभएर नियमित महाधिवेशन गर्ने हतियार अघि सारेर त्यसलाई तुहाउने षडयन्त्रमा सोही समूह नै निर्णायक रूपमा लाग्यो । नियोजित हिसाबले केही जिल्लाबाट सक्रिय सदस्य नटुंग्याउँदा नियमित महाधिवेशन हुन सकेन ।

प्रतिनिधिसभाको निर्वाचन अघि पार्टीको नियमित र विशेष महाधिवेशन नहुने देखेपछि महामन्त्रीद्वय सहित विशेष महाधिवेशन पक्षधर पुस २७ र २८ गते विशेष महाधिवेशन गर्नेगरी राष्ट्रिय आह्वान र तयारी सहित अघि बढिसकेका छन् ।

आगामी फागुन २१ को चुनाव सकेर नियमित महाधिवेशन गर्दा पुस्तान्तरणको औचित्य नहुने तर्क महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा गरेका छन् । तर, अर्को पक्ष भने चुनावको तयारीलाई नै देखाएर कुनै पनि प्रकारको महाधिवेशन चुनाव अघि गर्न नसकिने तर्क गरेको छ ।

सो पक्षले तर्क मात्रै नगरेर पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बहुमतका आधारमा आगामी बैशाखमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका नै अघि बढाउने निर्णय गरेको छ । जसले गर्दा दुबै पक्षको तर्क मिल्न नसक्ने स्तरमा पुगेको आशंका पैदा भएको छ ।

सुशासन, पारदर्शीता र जवाफदेहिताको मागसहित सुरु भएको जेन–जी अभियानको अर्को मुख्य माग थियो दलहरूमा नेतृत्वको पुस्तान्तरण । जेन-जी आन्दोलनपछि एमाले र नेपाली कम्युनिष्ट पार्टीले पनि एक ढङ्गले महाधिवेशन वा एकता महाधिवेशन सम्पन्न गरे । यद्यपी ती पार्टीमा पनि जेनजीको भावनाअनुरू नेतृत्वको पुस्तान्तरणको आवाज उठे पनि कार्यान्वयन हुन सकेन ।

राष्ट्रिय राजनीतिमा विस्तारै परम्परागत राजनीतिक शक्ति हाबी हुँदै जाँदा र अन्य राजनीतिक शक्तिमा पनि पुस्तान्तरणको प्रयास असफल हुँदा नेपाली कांग्रेसमा पनि त्यसको स्पष्ट प्रभाव पर्न पुगेको देखिन थाल्यो । तर, जेन-जी भावनालाई वेवास्ता गरेर अघि बढ्न नसकिने तर्क गर्दै कांग्रेसका महामन्त्रीद्वय गगन–विश्वले विशेष महाधिवेशनबाट पछि हट्न नसक्ने तर्क गरेका छन् ।

पार्टी आन्दोलनमा सधैँ सकारात्मक गतिशील भूमिका

गगन–विश्व पछिल्लो बदलिएको परिस्थितिमा मात्रै नभएर झण्डै सधैँजसो पार्टी राजनीतिमा निरन्तर गतिशील सकारात्मक वा प्रतिपक्षको भूमिकामा रहँदै आएको देखिन्छ । त्यतिमात्रै होइन, राष्ट्रिय समस्या र समाधानको उपायहरू पनि अन्यको तुलनामा उनीहरूको सक्रिय खोज र उपस्थिति देखिने गरेको छ ।

जेन–जी विद्रोहपछि आत्मसमीक्षा, आत्मचिन्तन र आत्माआलोचना गरी क्षमायाचनासहित गगन–विश्वले कांग्रेस पुनर्गठन र रूपान्तरण गरेर अघि बढ्नुपर्ने घोषणा पनि गरेका थिए । जनता र कार्यकर्तासँग प्रत्यक्ष संवाद गरी आफ्ना विचार स्पष्ट रूपमा राख्न सक्ने कुशल वक्ता भएका कारण गगन–विश्व दुवै नेपाली राजनीतिमा लोकप्रिय पनि छन् ।

दुवैले लोकतन्त्रवादी, उदारवादी, प्रगतिशील, बहुलवादी र समावेशी धारप्रति निरन्तर सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै आएका छन् भने जनताप्रति उत्तरदायी भएर राज्य तथा पार्टी सञ्चालन गर्ने संकल्प गर्दै आइरहेका छन् ।

गगन सधैँ लोकप्रिय र संघर्षशील

आफ्नो जीवनलाई राजनिति भन्दा कहिल्यै पर नराखेका गगन युवाहरूमाझ सुरुवातदेखि नै लोकप्रिय छन् । अध्ययनशील, स्पष्ट वक्ता र आफ्नो कुराप्रति दृढ अडान लिने नेताको रूपमा उनलाई धेरैले लिने गरेको पाइन्छ ।

०४६ सालको जनआन्दोलनदेखि विद्यार्थी राजनीति सुरु गरेका उनलेनेपाल विद्यार्थी संघमा आबद्ध हुँदै ०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए । सोही क्याम्पसमा ०५३ मा स्ववियु सचिव र ०५५ मा स्ववियु सभापति बने । ०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष हुँदै गगनले ०५९-२०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

०६२/०६३ को जनआन्दोलनमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका गगन १२औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १३औँ महाधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्रीमा असफल भएका उनी १४औँ महाधिवेशनमा भने शेखर कोइरालाको टिमबाट भारी मतलेमहामन्त्रीमा विजयी भए ।

उनी ०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक र ०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट संविधानसभामा विजयी भएका थिए । ०७३ सालमा छोटो कार्यकालका लागि स्वास्थ्यमन्त्री भएका गगनले स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास गरेका थिए । जसलाई अहिले पनि सो क्षेत्रमा सरोकार राख्नेहरूले प्रसंशा गरेको पाइन्छ । ०७१ मसंसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेको पनि उनीसँग अनुभव छ ।

उनीदुईपटक राजद्रोहको मुद्दा पनि खेपे जेल परेका थिए । उनीसंविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका गगनले २०७४ सालको चुनावमा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । संविधान कार्यान्वयन, जनजीविकाका सवालमा संसदमा निरन्तर आवाज उठाउने र सत्तालाई जहिल्यै घच्घच्याउने काम नेतृत्वको समेत उनी परिचित छन् ।

राष्ट्रिय राजनीतिदेखि पार्टीका आन्तरिक मामलामा गगनले साहसिक, जोखिमपूर्ण र रणनीतिक निर्णय लिँदै आएकामा उनी पुरानो र नयाँ पुस्तका आशाका रूपमा समेत रहेको धेरैको बुझाइ छ ।

सानो वीपी : विश्वप्रकाश

होचो कदका विश्वप्रकाशलाई कुनै समय सानो वीपी (वीपी कोइराला) को उपमा दिइन्थ्यो । राजनीतिक मुद्दालाई पनि साहित्यिक पारामा विश्लेषण गर्ने उनीमा स्पष्ट वाक् कला छ । सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रूपमा पनि परिचित छन् । जस्तोसुकै परिस्थितिमा पनि सालिन र संयमित विश्वको विशेषता हो ।

त्यसै कारण पनि उनले पार्टीमा प्रवक्ताको भूमिका पाए । विश्वले परिस्थिति र परिणामको विश्लेषण गरी कार्यनीतिक आयामलाई प्राथमिकता दिँदै आएका छन् । कार्यनीतिक दृष्टिले लचक हुने उनीमा महत्वपूर्ण विशेषता छ ।

विश्व ०३७ सालदेखि झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका थिए । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महामन्त्री र अध्यक्ष हुँदै उनको केन्द्रको राजनीति सुरु भएको थियो ।

पार्टीको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका शर्मा १४ औँ महाधिवेशनमा पार्टीको कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका हुन् । उनी अघिल्लो प्रतिनिधिसभाको चुनावमा झापा क्षेत्र नम्बर १ बाट राम कार्कीसँग पराजित भएका थिए । संसदीय प्रतिस्पर्धामा पराजित शर्मा पार्टी प्रतिस्पर्धामा भने सफल भएका छन् ।

‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’को नारा उनले दिएका विश्वप्रकाशपछिल्लो समय राष्ट्रिय राजनीतिमा देखिएको समस्याको निकास र पार्टीको रूपान्तरणका लागि अर्का महामन्त्री गगन थापाको सहयोद्धाको रूपमा रहँदै आएको पाइन्छ ।

दुबैमा सबैको भरोसा

राष्ट्रिय राजनीतिमा देखिएको संकटसँगै नयाँ जनादेशको आधारमा रूपान्तरणसहितको बलियो र निर्णायक पार्टी निर्माणका लागि पार्टीको ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले गगन–विश्वलाई नै केन्द्रमा राखेर आसा र भरोसा राखेको स्पष्ट देखिएको छ ।

यतिबेला सामाजिक सञ्जालभरी ‘फोड्न हैन, दम्भ र अहंकार तोड्न, एक्लै चुनाव लड्न सक्ने गरी कांग्रेसलाई जोड्न । २६ गते काठमाडौं जाउँ !! विशेष महाधिवेशन सफल बनाउँ !!’ भन्दै महाधिवेशन प्रतिनिधिहरूले अभियान चलाइरहेका छन् ।

हजारौँ कार्यकर्ताहरूले पार्टी रूपान्तरण र पुस्तान्तरण जरूरी भएको भन्दै आफ्नो मत राखेको देखिन्छ । साथै, शुक्रबार साँझसम्म विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका बाहेक थप संख्या पनि विशेष महाधिवेशनको पक्षमा थपिएको दाबी सार्वजनिक समेत भइरहेका छन् ।

राजनीतिमा रात गए अघरात पलाउँछ पनि भन्ने गरिन्छ । अब एक दिन मात्रै बाँकी रहेको अवस्थामा शक्ति सन्तुलनमा थप फेरबदल हुँदै हुँदैन भनेर एकिनका साथ भन्न त सकिँदैन । तर, अब गगन–विश्वमाथिको आशा र विश्वासमा कांग्रेसको केन्द्रीकरण भइरहेको छ, जसलाई अब उनीहरूले कसरी पार लगाउँछन् त्यो हेर्न बाँकी छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ६ : २८ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल