२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र « Khabarhub

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी दुई लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा कम सन् २०२१ मा जम्मा १६ हजार १०५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेको ‘एक्याप’को आँकडाले देखाएको छ ।

कोभिड–१९ महामारी कारण त्यस वर्ष पर्यटक आगमनमा भारी गिरावट आएको थियो । सन् २००१ देखि सन् २०१० सम्म वार्षिक एक लाखभन्दा कम सङ्ख्यामा पर्यटक आएकामा सन् २०११ को नेपाल भ्रमण वर्षमा भने पर्यटक एक लाख नाघेका थिए । उक्त वर्ष एक लाख एक हजार ९०८ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए ।

त्यसपछि सन् २०१५ मा गएको गोरखा भूकम्पका कारण पनि पर्यटक आगमन घटेर ७८ हजार ९३० पुगेको थियो । त्यसयता वर्सेनि बढ्दै आएको पर्यटक सङ्ख्या सन् २०२० र सन् २०२१ को कोरोना महामारीका बेला घट्न पुगेको थियो ।

सन् २०२२ पछि भने पुनः पर्यटक सङ्ख्या बढेको देखिन्छ । सन् २०२२ मा एक लाख २९ हजार ७२३, सन् २०२३ मा एक लाख ९१ हजार ५५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र गत वर्ष अर्थात सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।

गत वर्ष आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ रहेका ‘एक्याप’का प्रमुख डा. रबिन कडरियाले जानकारी दिए । सन् २०२५ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको उनले बताए ।

अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जुनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : २७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले