फागुन २१ को निर्वाचन परिणामले नेपाली राजनीतिमा गम्भीर सन्देश दिएको छ। नयाँ शक्तिको उदय र नेपाली कांग्रेस तथा नेकपा एमाले जस्ता लामो इतिहास बोकेका स्थापित दलहरूको लज्जास्पद हारले जनता नेतृत्वको परिवर्तन मात्रै होइन, शासकीय परिवर्तन र चुस्त डेलिभरीको खोजीमा छन् भन्ने स्पष्ट पारेको छ।
जनताले दिएको यो संकेतलाई सामान्य रूपमा लिन मिल्दैन। यो परिणामले पुरानो शैलीको राजनीतिक परिपाटी, सत्तारूढपछि नेतृत्वमा देखिने अहंकारपूर्ण नेतृत्वको प्रवृत्ति र जनताको भावनाबाट टाढा जाने प्रवृत्तिलाई अस्वीकार गरेको सन्देश दिएको छ।
हामी नेकपा एमालेका नेताकार्यकर्ता भएकाले यो परिणामलाई इमानदारीसाथ स्वीकार गर्दै पार्टीको आन्तरिक जीवनभित्र निर्मम र वस्तुनिष्ठ आत्मसमीक्षा गर्नु आवश्यक छ। हारलाई ढाकछोप गर्ने, दोष अरूमाथि थोपर्ने वा जनताको निर्णयलाई हल्का रूपमा लिने प्रवृत्तिले पार्टीलाई अझ कमजोर र क्षतविक्षत बनाएको छ र बनाउँछ। अब वर्तमानको कुरा स्वीकार्ने साहस नै पुनर्जागरणको पहिलो सर्त हो।
स्पष्ट रूपमा भन्नुपर्दा यो हार कार्यकर्ताको हुँदै होइन। देशभरिका हजारौँ कार्यकर्ताले इमानदारीपूर्वक मेहनत गरे, घरदैलो पुगे, जनतासँग संवाद गरे, नेतृत्वले खडा गरेका बदमासी अनि लागेको आरोप सकिनसकी भए पनि आफैँले गाली खाँदै भए पनि जनतालाई बुझाउन कोसिस गरे। तर मूल नेतृत्वमा देखिएको दम्भ, फरक मत राख्ने कार्यकर्तामाथि गरिने ब्रह्मदृष्टि र अपमानजनक व्यवहार, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास कमजोर हुँदै जानु, सुशासनप्रति जनतामा बढ्दो निराशा, बेथिति र भ्रष्टाचारका आरोप, तथा पार्टीको मूल विचारधारा र जनताको बहुदलीय जनवाद (जबज) को भावना विपरीत पार्टी र सरकार सञ्चालन हुनुजस्ता कारणहरूले जनविश्वास कमजोर बनायो।
भदौ २३ गते नयाँ पुस्ताले उठाएको आवाजलाई दबाउने, विद्यार्थीमाथि दमन गर्ने र स्कुल ड्रेसमै विद्यार्थीलाई निर्मम र कारुणिक ढङ्गले गोली हानी हत्या गरिएको घटनाले जनआक्रोश थप चर्कियो। त्यसपछि भदौ २४ गतेको घटनामा आक्रोशका बीच घुसपैठ भई राष्ट्रिय धरोहरमाथि आक्रमण हुनु निन्दनीय र आपराधिक आतंकवादी शैलीमा भए पनि त्यसको राजनीतिक र नैतिक जिम्मेवारीबाट नेतृत्व पन्छिनु ठूलो गल्ती भयो। यो घटनामा मूल नेतृत्व स्वयम् र निजले नेतृत्व गरेको राज्य संयन्त्र संस्थागत रूपमा गल्ती कमजोरी स्वीकार गर्न मानेन, बरू आरोपका पुलिन्दा बुन्दै ढाकछोपतिर लाग्यो।
यो हार कार्यकर्ताको हुँदै होइन। देशभरिका हजारौँ कार्यकर्ताले इमानदारीपूर्वक मिहिनेत गरे, घरदैलो पुगे, जनतासँग संवाद गरे, नेतृत्वले खडा गरेका बदमासी अनि लागेको आरोप सकिनसकी भए पनि आफैँले गाली खाँदै भए पनि जनतालाई बुझाउन कोसिस गरे।
आजको परिणामको यो अवस्थामा पुग्नमा एमालेको मूल नेतृत्व र पार्टीभित्रका दोस्रो पुस्ताको जिम्मेवारी, जवाफदेही र भागिदारी पनि कम जिम्मेवार छैन। परिणामस्वरूप देश र जनताले स्पष्ट राजनीतिक पृष्ठभूमि नभएको, नीति, सिद्धान्त र कार्यक्रम तथा दृष्टिकोण बिनाका नयाँ शक्तिलाई सत्ता मात्रै होइन, देश नै सुम्पिएको वर्तमान अवस्था हो। यो झन् गम्भीर विषय छ। हामीले जनमतबाट जितेर आएका नयाँ नेतृत्वहरूको अहिले नै समीक्षा वा आलोचना गर्नु हतारो हुन्छ। तर उनीहरूको विगत हेर्दा प्रशस्त शंका गर्ने ठाउँ छ।
यसबीचमा ४५ वर्ष पार्टी राजनीतिमा सक्रिय योगदान गर्नु भएकी पूर्व राष्ट्रपति तथा पार्टीकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सदस्यता दिइसकेको अवस्थामा पनि अपमानजनक ढंगले तेजोबध गर्ने र सदस्यता रोक्ने कामले पार्टीभित्र गहिरो असन्तोष पैदा गर्यो। यस्तो व्यवहारले केवल एक व्यक्तिलाई होइन, पार्टीको लामो संघर्ष, योगदान र त्यागको सम्मान गर्ने संस्कृतिलाई नै चोट पुर्यायो। यस्तो व्यवहारले पार्टीले अंगिकार गरेको नीति जबजलाई मात्रै होइन, पार्टी सदस्यहरू र आम जनतामाझ नेतृत्वप्रति आक्रोश झन बढायो।
यी सबै घटना परिघटनासँगै लामो समयदेखि नै आन्तरिक व्यवस्थापनका कमजोरी, राजनीतिक र कूटनीतिको चरम असफलता, जनताको अपेक्षा बुझ्न नसक्नु, र सबैभन्दा ठूलो कुरा नेतृत्वले आफ्ना गल्ती स्वीकार गर्न नचाहनु, यी सबै कारणहरूको परिणाम आज एमालेले भोग्नुपरेको छ। पार्टी ठूलो संकटमा पुग्नुको मूल कारण यही आत्ममुग्धता र आत्मसमीक्षाको अभाव हो।
जनताले दिएको जनमत आजको यथार्थ हो। जनताको जनमतलाई सम्मान गर्नु लोकतन्त्रको आधारभूत मूल्य र मान्यता हो। आज नयाँ शक्तिलाई अवसर दिएका छन् भने त्यसलाई सम्मान गर्नु लोकतन्त्रको आधारभूत मूल्य हो। हारपछि जनता र जनमतलाई दोष दिनु होइन, आफ्ना कमजोरी पहिचान गरेर सुधारको बाटो समात्नु नै जिम्मेवार राजनीतिक संस्कार हो।
अब एमालेले गम्भीर आत्मसमीक्षा गर्दै पार्टीभित्र लोकतान्त्रिक वातावरण पुनःस्थापित गर्नुपर्छ। फरक मतलाई दुश्मनी ठान्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। कार्यकर्ताको सम्मान, सुशासनप्रति प्रतिबद्धता, विचारको स्पष्टता र संगठनको पुनर्गठन बिना पार्टीको पुनर्जागरण सम्भव छैन।
यस परिस्थितिमा पार्टीको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्छ। अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल मात्रै होइन, वर्तमान पदाधिकारी लगायत वर्तमान प्रदेश नेतृत्व, जिल्ला नेतृत्वले पार्टीको हितलाई केन्द्रमा राख्दै मार्ग प्रशस्त गर्नु आवश्यक छ । नयाँ प्लेन कमिटी निर्माण गरेर आत्मशुद्धीकरण गर्नु आवश्यक छ। नेतृत्व परिवर्तन कमजोरी होइन, बरू संगठनलाई पुनर्जीवित गर्ने लोकतान्त्रिक अभ्यास हो। पार्टी व्यक्ति भन्दा ठूलो हुन्छ, र विचार व्यक्ति भन्दा दीर्घकालीन हुन्छ भन्ने सत्यलाई स्वीकार गर्नुपर्छ।
तर इतिहासले देखाएको छ कि एमाले संकटबाट अमरत्व प्राप्त गरेको डराउने पार्टी होइन। जेलनेल, प्रतिबन्ध, दमन र सर्वस्व हरणको कठिन संघर्षबाट बनेको यो पार्टी ठूला चक्रव्यूहलाई तोड्दै बनेको हो। सयौँ सहिद, हजारौँ घाइते, लाखौँको पसिना र कयौँको बलिदानको रक्तबीजबाट बनेको पार्टी हो। त्यसैले सजिलै समाप्त हुने पार्टी होइन नेकपा एमाले। हाम्रो पार्टी सहिदहरूको बलिदान, हजारौँ कार्यकर्ताको त्याग र जनताको विश्वासबाट बनेको संगठन हो।
विश्व राजनीतिमा यस्ता धेरै उदाहरणहरू छन् कि जहाँ पार्टी नेतृत्वको लापरबाही, गलत निर्णय वा जनभावनाबाट टाढा भएको कारण राजनीतिक दलहरूले आम चुनावमा लज्जास्पद हार बेहोरेका छन्। तर हारलाई स्वीकार गर्दै आत्मसमीक्षा, नेतृत्वमा परिवर्तन र नीतिगत सुधारमार्फत ती दलहरू पुनः जनताको विश्वास जित्न सफल भएका छन्।
मूल नेतृत्वमा देखिएको दम्भ, फरक मत राख्ने कार्यकर्तामाथि गरिने ब्रह्मदृष्टि र अपमानजनक व्यवहार, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास कमजोर हुँदै जानु, सुशासनप्रति जनतामा बढ्दो निराशा, बेथिति र भ्रष्टाचारका आरोप, तथा पार्टीको मूल विचारधारा र जनताको बहुदलीय जनवाद (जबज) को भावना विपरीत पार्टी र सरकार सञ्चालन हुनुजस्ता कारणहरूले जनविश्वास कमजोर बनायो।
बेलायतमा विन्सटन चर्चिल नेतृत्वको कन्जर्भेसन पार्टीले दोस्रो विश्वयुद्ध जिताएर पनि सन् १९४५ को चुनावमा अप्रत्याशित हार बेहोर्नुपर्यो। त्यसपछि क्लेमेन्ट एट्टेलल नेतृत्वको लेबर पार्टी सत्तामा आयो। तर कन्जरभेटिभ पार्टीले हारबाट पाठ सिक्दै संगठन र नीति सुधार गर्यो र १९५१ को चुनावमा पुनः सत्तामा फर्किन सफल भयो।
त्यस्तै बेलायतकै लेबर पार्टीले पनि सन् १९७९ देखि १९९७ सम्म लगातार चुनावी हार बेहोर्नुपर्यो। तर आत्मसमीक्षा, नीतिगत रूपान्तरण र नयाँ नेतृत्वको उदयपछि टोनी ब्लेयरको नेतृत्वमा १९९७ मा पुनः भारी बहुमत सहित सत्तामा फर्कियो।
भारतमा इन्दिर गान्धी नेतृत्वको इन्डियन नेशनल कंग्रेसले दि इमरजेन्सीपछि सन् १९७७ को चुनावमा ऐतिहासिक हार बेहोर्नुपर्यो । त्यसपछि जनता पार्टी सत्तामा आयो। तर कांग्रेसले आफ्नो कमजोरी स्वीकार्दै जनतासँग पुनः सम्बन्ध बलियो बनायो र १९८० मा फेरि सत्तामा फर्कियो।
जापानमा लामो समय शासन गरेको लिबरल डेमोक्रेटिकले सन् २००९ मा डेमोक्रेटिक पार्टी अफ जापानसँग पराजय बेहोरेको थियो। तर नेतृत्व र नीतिगत सुधारपछि सिन्जो आबेको नेतृत्वमा २०१२ मा पुनः सत्तामा फर्किन सफल भयो।
भारतमा पनि भारतिय जनता पार्टीले लामो समयसम्म राष्ट्रिय नेतृत्वमा पुग्न सकेको थिएन। तर संगठन विस्तार, वैचारिक स्पष्टता र नेतृत्वको विकाससँगै पछि राष्ट्रिय राजनीतिमा प्रमुख शक्ति बन्यो। पश्चिम बंगालको राजनीतिक इतिहासले पनि देखाउँछ कि राजनीतिमा स्थायी जित वा हार भन्ने कुरा हुँदैन।
यी सबै उदाहरणले एउटा स्पष्ट उत्प्रेरणा के दिन्छन् भने राजनीतिक दलको हार अन्तिम होइन। हारलाई अहंकार त्याग्दै आत्मसमीक्षा, संगठन सुदृढीकरण, नयाँ नेतृत्व र जनभावनासँग मेल खाने नीतिमा रूपान्तरण गर्न सकेमा पार्टी पुनः जनताको विश्वास जित्न सक्छ।
राजनीतिमा टिकिरहने शक्ति अहंकार होइन, आत्मसमीक्षा हो।
हामी फेरि उठ्नेछौँ अझ बलियो भएर उठ्नेछौँ।
किनकि हाम्रो मार्गदर्शक मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताले स्थापित गरेको जनताको बहुदलीय जनवाद (जबज) हो, यो विचार केवल नारा होइन, जनताको आकांक्षालाई सम्बोधन गर्ने र जनताको जीवनमा आर्थिक र सामाजिक रूपान्तरण गर्ने राजनीतिक दर्शन, नीति, सिद्धान्त र कार्यक्रम पनि हो।
यही विचार, यही आत्मसमीक्षा, यही बुझाइ र सुधारको दृढताका आधारमा नेकपा एमाले फेरि बौरिनेछ। जनताको भरोसा फेरि जित्नेछ। र एकदिन फेरि देशको अग्रणी शक्तिका रूपमा उभिनेछ। जनताको भरोसा र विश्वास फेरि जित्नेछ र एकदिन फेरि देशभक्त शक्तिको रूपमा उभिनेछ।
फेरि अन्तिममा,
आगो कसरी निभ्यो खरानीलाई के थाहा !
आँसु कसरी झर्यो सिरानीलाई के थाहा !!













प्रतिक्रिया