कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ? « Khabarhub

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?



काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच वटा बैठक डाकिसकेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने रानो बिनाको मौरीजस्तो संसदीय दलको नेता बिनै सदनमा आफ्ना ३८ सदस्य पठाइरहेको छ ।

सोही अभावको फाइदामा छन्- दलको नेताका आकाङ्क्षीसमेत रहेका ज्येष्ठ सांसद अर्जुननरसिंह केसी । कांग्रेसमा मात्रै नभइ सदनकै ज्येष्ठ सदस्य रहेका उनले सुरुका दुई बैठकमा सभामुखको भूमिका समेत निभाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डोलप्रसाद अर्याललाई सभामुख चुनेपछि भने उनी पार्टीको लागि व्यवस्थापन गरिएको बेन्चको अग्रपङ्क्तिमा देखिन्छन् । बेन्चको अग्रपङ्क्तिमा दलको नेता बस्ने अभ्यास छ । दलको नेता नतोकिइसकेको अवस्थामा ज्येष्ठ सदस्य उनलाई सबै सांसदको मौन सहमति छ । जुन नैतिकताका आधारमा स्वाभाविक पनि हो ।

‘लगातार बैठक बसिरहेको छ । सदनमा हामी रानोबिनाको मौरीजस्तै भुनभुन मात्रै हुने हौँ कि ? म अनुभवी नेता भएको नाताले दलको नेताको दाबेदार पनि हुँ, तर हामी आकाङ्क्षी को–को हौँ, दलको नेता सर्वसम्मत चुन्ने कि निर्वाचनमा जाने भनेर नेताहरुसँग बैठक बसेका छैनौँ,’ डोटीबाट निर्वाचित सांसद भरतबहादुर खड्काले भने ।

सदनमा प्रतिपक्षीको आवाज बलियो बनाउन जतिसक्दो चाँडो दलको नेता चयन गर्न उनको माग छ । ‘उहाँहरु सर्वसम्मतिको आधार खोज्दै हुनुहुन्छ, दलको नेतामा दाबी रहेपनि पार्टीको निर्णमा जे आउँछ, त्यसमा म सकारात्मक हुनेछु’ उनले भने ।

दलको नेतामा सांसद अर्जुननरसिंह केसी, भरतबहादुर खड्का, मोहन आचार्य, भीष्मराज आङ्देम्बे, निश्कल राई, बासना थापासम्मको चर्चा छ । जसमा केसी र आङ्दम्बे समानुपातिकतर्फबाट चुनिएका हुन् भने अन्य प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

अहिले खड्का, राई र थापा तीनै जना पार्टी असहज अवस्थामा रहेकाले सहमति खोज्न सकारात्मक छन् । अर्थात् पार्टीले गरेको निर्णयमा सहमत हुने उनीहरुकै धारणाले संकेत गर्छ ।

यो अवस्थामा दलको नेताका मुख्य प्रतिस्पर्धी केसी, आङ्देम्बे र आचार्य हुन् । रसुवाबाट निर्वाचित आचार्यलाई सभापति गगन थापाको विशेष साथ छ भने आङ्देम्बेलाई उपसभापति विश्वप्रकाश शर्माले अघि बढाउन चाहेका छन् । दलको नेतामा केसीको पनि तीव्र आकाङ्क्षा देखिन्छ ।

यद्यपि केसी आफ्नै साख्खे ससुरा भएको र पटक–पटक लाभको पदमा बसेका उनलाई चुन्दा आफू विवादमा पर्ने थापालाई त्रास छ ।

‘अर्जुन दाइलाई समानुपातिक सांसद बनाउँदा नै नातावादको ट्याग लागेपछि सभापतिजी प्रत्यक्ष निर्वाचित सांसदबाट दलको नेता बनाउन चाहनुहुन्छ ।’ नाम नबताउने सर्तमा केन्द्रीय सदस्य समेत रहेका एक जना नेताले खबरहबलाई भने । तर, सबै सहमत भएमा केसीलाई दलको नेता बनाउन भने थापाले पनि आपत्ति जनाएका छैनन् ।

शर्मा भने आफूलाई विगतमा सघाएका अर्का अनुभवी नेता आङ्देम्बेलाई अघि बढाउन चाहान्छन् । देउवा पक्षका आङ्देम्बे समानुपातिकतर्फबाट सांसद बनेपछि मध्यमार्गी बाटोमा छन । उनी पनि दलको नेताको दाबेदारीबाट पछि हट्ने लक्षण देखिन्न ।

इतर पक्षको भएकाले पनि थापाले उनलाई अघि बढाउन चाहेका छैनन् । त्यसैले उनी तेस्रो विकल्पका रुपमा निर्वाचन नै गराएर भएपनि आचार्यलाई अघि सार्ने कसरतमा छन् । तर, त्यसमा पनि आफू कमजोर हुने डर उनमा देखिन्छ ।

‘थापा र शर्मा दुवै जना केसीलाई चुन्न चाहान्नन् । तर ३८ सांसदमा इतर पक्ष बलियो रहेकाले उनीहरु थापाले सघाएका आचार्यलाई पराजित गर्न बरु केसीलाई अघि बढाउन तयार देखिन्छन् ।’ केन्द्रीय सदस्य समेत रहेका एक नेता बताउँछन् ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेसका १८ जना प्रत्यक्ष र २० जना समानुपातिक गरी ३८ सांसद सदनमा छन् । टिकट वितरणको आधारमा संस्थापन पक्षीय १६ र संस्थापन इतर २२ सांसद रहेको मानिए पनि पछिल्लो ध्रुवीकरणका कारण यथार्थ सङ्ख्या स्पष्ट छैन । केही दिनअघि इतर समूहले आयोजना गरेको बधाई कार्यक्रममा २२ मध्ये ११ जना मात्र सांसद मात्रै सहभागी थिए ।

इतर पक्ष, शर्मा र थापाको शक्ति संघर्षकै कारण दलको नेता चयनमा कांग्रेस सरकार गठनको करिब आधा महिना बितिसक्दा पनि अनिर्णित बनेको हो । तर, शर्मा र थापामै असहमति भएकाले ढिलाइ भएको भने नभएको नाम खुलाउन नचाहेका ती नेताले भने ।

‘पार्टीमा सबैको आ–आफ्नै विचार हुनु र फरक–फरक व्यक्तिलाई लैजानुपर्छ भन्नु स्वाभाविक हो । तर त्यहीँ विचारका कारण दलको नेता चयन हुन नसकेको भने होइन ।’ उनले भने, ‘सभापति र उपसभापतिकै कारण दलको नेता चयनमा समस्या पक्कै आउँदैन । उहाँहरुले अन्यले सहमति दिए जसलाई पनि मान्नुहुन्छ ।’

कार्यसमिति र पदाधिकारी तथा आकाङ्क्षी तयार भए थापा र शर्माकै कारण अप्ठ्यारो नआउने उनी थप्छन् । यत्तिकैमा निर्वाचन हुने अवस्था बनेमा दाबेदार केसी, आङ्देम्बे र आचार्य तीन जना हुने हुन् भन्ने ? खबरहबको जिज्ञासामा उनी भन्छन्, ‘सहमति नजुटेर निर्वाचननै गर्नुपर्ने अवस्था आयोभने आङ्देम्बे र आचार्यबीच प्रतिस्पर्धा हुन्छ भन्न सकिन्छ,’ स्रोतले बतायो ।

कांग्रेस संसदीय दलको विधानको दफा ५ अनुसार प्रतिनिधिसभामा रहेका सांसदहरूले आफ्नै बीचबाट दलको नेता चयन गर्ने व्यवस्था छ । एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानबाट निर्णय हुनेछ । २०६४ यता कांग्रेसले दलको नेता सर्वसम्मतिमा चयन गरेको छैन ।

उसो त समानुपातिकमा निर्वतमान सभापति देउवाको हस्ताक्षर र प्रत्यक्षतर्फ विशेषका सभापति थापाको हस्ताक्षरबाट उम्मेदवार निर्वाचनमा होमिएका थिए । त्यसैले, प्रत्यक्षतर्फ थापा पक्ष बलियो छ भने समानुपातिकमा इतर पक्ष हाबी छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ५ : २६ बजे

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण