निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास « Khabarhub

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातका कारण हुनसक्ने प्राकृतिक विपद्को समयमा गर्नुपर्ने खोज तथा उद्धारको अभ्यास गरेको छ। 

निलगिरि हिमनदी उचाइमा अवस्थित रहेकाले सम्भावित प्राकृतिक विपद्मा गर्नुपर्ने खोज तथा उद्धार अभ्यास आयोजना गरिएको इन्द्रबक्स गणले जनाएको छ ।

इन्द्रबक्स गणद्वारा आयोजित अभ्यासको अन्तिम दिन शुक्रबार मुस्ताङको घरपझोङ गाउँपालिका–५ ड्रमक्याम्पमाथिको निलगिरि हिमालको फेदीमा खोज तथा उद्धार अभ्यास सम्पन्न गरिएको हो । 

प्रतिकूल मौसम, हिमपातकालगायत प्राकृतिक विपद्मा निलगिरिसहित हिमनदीमा केही फसेमा तत्काल उद्धारका लागि अभ्यास आयोजना गरिएको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले बताए। उनका अनुसार इन्द्रबक्स गण, सैनिक उच्चशिखर शिक्षालय र मनाङको भैरव गुल्मका सैनिकले खोज तथा उद्धारको नमूना अभ्यास गरेका हुन् ।
    
प्रमुख सेनानी खाँडका अनुसार मुस्ताङ र मनाङका ५५ जनाभन्दा बढीले हिमाली क्षेत्रमा आइपर्ने प्राकृतिक विपद्सम्बन्धी खोज तथा उद्धार अभ्यासमा सहभागिता जनाएका हुन् । उनले २३ नंं बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायकरथी विजय केशीको उपस्थितिमा समुद्री सतहबाट चार हजार ३०० मिटर उचाइमा अवस्थित निलगिरि हिमनदीको खोचमा अभ्यास गरेको जानकारी दिए । 

अभ्यासस्थलमा सैनिक उच्चशिखर शिक्षालयका महासेनानी सुशील प्याकुरेल र इन्द्रबक्स गणका गणपति प्रमुख सेनानी खाँडसहितको उपस्थिति थियो । नेपाली सेनाद्वारा आयोजित यसप्रकारको अभ्यासमा सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटर जोमसोम, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधिहरूको पनि सहभागिता थियो ।

विगतमा हुड्हुड चत्रवातका कारण यहाँका कैसाङ हिमनदी इलाकामा पर्यटक हिमपात र हिमआँधीमा फसेका परिदृष्यलाई आधार बनाएर मुस्ताङका सुरक्षा निकाय, स्थानीय तह, विभिन्न सङ्घसंस्था तथा सरोकार भएका निकायलाई सहभागी गराई खोज तथा उद्धार अभ्यास सम्पन्न गरिएको प्रमुख सेनानी खाँडले उल्लेख गरे। 

डोरीको सहायताले झुन्डिएर खोचमा फसेका पदयात्री तथा शवलाई बाहिर निकाल्ने कृतिम अभ्यास गरिएको थियो । कैसाङ हिमनदी क्षेत्रको उचाइमा बेपत्ता भएका पर्यटक तथा पदयात्रीको खोजीका लागि नेपाली सेनाका दुई वटा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको प्रमुख सेनानी खाँडले जानकारी दिए ।

यसअघि अभ्यासको पहिलोदिन मुस्ताङको जोमसोमस्थित सैनिक क्याम्प नजिकैको पहाडमा खोज तथा उद्धार अभ्यास गरेको थियो । 

उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धारकार्यलाई सहज बनाउने उद्देश्यले इन्द्रबक्स गणले यसप्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  १ : २६ बजे

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता