होल्डिङ सेन्टरमा औषधीको भरमा बाँचिरहेकी पुष्पा « Khabarhub

होल्डिङ सेन्टरमा औषधीको भरमा बाँचिरहेकी पुष्पा


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – छेउमै प्लास्टिकमा पोको पारेर राखिएको औषधीको बिटो छ । घाँटी तन्काई–तन्काई पानीको सहारामा बिहान उब्रेको चिसो भात खाइरहेका छन्, एक वृद्ध दम्पती ।

यो कारुणिक दृश्य कीर्तिपुरको वंशिघाटस्थित सुकुम्बासी होल्डिङ सेन्टरको हो । जहाँ थापाथलीस्थित बागमती खोला किनारको बस्तीबाट उठाइएका घरबारविहीन सुकुम्बासीलाई ल्याएर राखिएको छ। त्यही सहाराविहीनको भीडमा ६७ वर्षीया पुष्पा कसाई, आफ्ना वृद्ध श्रीमान् र एक मानसिक बिरामी छोरासँगै कष्टकर आश्रय लिएर बसिरहेकी छन् ।

ललितपुरदेखि थापाथली हुँदै होल्डिङ सेन्टरसम्मको यात्रा

उदयपुरबाट विवाह गरेर ललितपुर आएकी उनी सुरुका दिनमा श्रीमानसँगै बहाल (भाडा) मा बस्थिन् । विगतका पाना पल्टाउँदै उनी भन्छिन्, “सकुन्जेल त हामी बहालमै बस्थ्यौँ । मैले सानोतिनो व्यापार गर्थेँ, श्रीमान्‌ले पनि ज्याला मजदुरी गर्नुहुन्थ्यो । दुःखजिलो गरेर तीन छोरा र एक छोरी पालेकै थियौँ ।”

तर, समयले उनीहरूलाई सधैँ अनुकूल साथ दिएन । छोराछोरी हुर्किए, छोरी विवाह गरेर आफ्नो घर गइन् । तर, छोरा भने बुढेसकालको सहारा बन्न सकेनन् । “जेठो छोरो मानसिक रोगी भएर घरै छोडेर हिँड्यो, बाटोमा कता–कता हिँड्छ, केही अत्तोपत्तो छैन,” पुष्पाले भक्कानिँदै भनिन्, “माइलो छोरा अलि ठिकै छ तर उसले हामीलाई हेरेन । कान्छो छोरा पनि त्यस्तै मानसिक रोगी छ, ऊ हामीसँगै बस्छ ।”

उमेर ढल्किँदै गयो, शरीरलाई रोगले च्याप्दै लग्यो । काम गर्न नसक्ने भएपछि कोठा भाडा तिर्न नसकेर उनीहरू थापाथली आइपुगे । त्यहाँ उनीहरूले झन्डै २० वर्ष बिताए । तर, नियतिले त्यहाँ पनि सुख दिएन ।

श्रीमान्‌ले मासु पसलमा काम गर्थे । त्यही क्रममा मासु काट्ने औजार खुट्टामा लागेर उनी घाइते भए । बाह्र वर्ष भयो उनले काम गर्न नसकेको । विगतको चोट सम्झिँदै पुष्पा भन्छिन्, “त्यसपछि थापाथली प्रसूति अस्पताल छेउमा ठेलागाडामा व्यापार गर्थेँ, महानगरले त्यही ठेला पनि उठाइदियो ।”

ठेला खोसिएपछि उनको व्यापार गर्ने बाटो सदाका लागि बन्द भयो । “तर पनि टाउको लुकाउन एउटा सानो टहरो त थियो, बिहान–बेलुका कतै काम गरेर जेनतेन छाक टार्थ्यौँ । अन्तिममा महानगरले त्यही टहरो पनि भत्काइदियो,” उनले थपिन् ।

होल्डिङ सेन्टरको सकस र चिसो भातको सहारा

थापाथलीबाट लखेटिएपछि उनीहरूको गन्तव्य कीर्तिपुरको यो चिसो हल बन्यो । “यहाँ ल्याएर त राखेको छ, तर बाँचुन्जेल अब कहाँ पुर्‍याउने हो, केही थाहा छैन,” पुष्पा भविष्यप्रति अनभिज्ञ छिन्।

पहिल्यैदेखि दमको रोगी पुष्पालाई ‘हाइ प्रेसर’ (उच्च रक्तचाप) को पनि समस्या छ । उनले नियमित औषधि खानुपर्छ । बेलाबेलामा कडा ज्वरो आउँछ । अचेल त आँखा खोल्न पनि गाह्रो हुन्छ, परेला पाकिरहेको छ । तर, उपचार र खानपानको कुनै ठेगान छैन ।

यहाँको व्यवस्थापनप्रति चित्त दुखाउँदै उनी भन्छिन्, “खाना बिहान मात्रै दिन्छ । आफूलाई दिउँसोको पनि औषधि खानुपर्ने भएकाले केही न केही त खानैपर्छ । तर, यहाँ कहिल्यै केही पाइँदैन । आज बिहानको भात उब्रेको रहेछ, बुढाबुढीले त्यही चिसो भात खायौँ ।”

उनीसँगै एउटा खाली ग्यास सिलिन्डर छ । ग्यास सकिएकै बेलामा घर भत्काइदिए, त्यसपछि भर्नै पाइएन । खाली सिलिन्डरतर्फ इसारा गर्दै उनले भनिन्, “ग्यास भर्न पाएको भए कम्तीमा पानी तताएर त खान पाइन्थ्यो, यो चिसो पानी निल्नुपर्ने थिएन ।”

राज्य र आफन्त दुवैबाट अपहेलित

६७ वर्ष काटिसकेकी पुष्पाको अर्को गुनासो राज्यको फितलो संयन्त्रसँग छ । उमेरले ६७ वर्ष पुगे पनि नागरिकतामा प्रशासकीय त्रुटिका कारण ६५ वर्ष मात्र उल्लेख भएकाले सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउनबाट उनी वञ्चित छिन् ।

“दलितलाई त ६० वर्षमै भत्ता दिने व्यवस्था छ भन्ने सुनेको थिएँ । तर, म २–३ पटक सरकारी कार्यालय गइसकेँ, उमेर पुगेको छैन भन्दै फर्काउँछन् । त्यही भत्ता मात्र पाइदिए पनि खान त पुग्थ्यो,” उनले भनिन् ।

उनको दुखेसो राज्यसँग मात्र होइन, आफ्नै रगतसँग पनि छ । छोरा त सहारा भएनन् नै, छोरी पनि टाढिइन् । “एउटी छोरी छे, त्यो पनि म दुःखी गरिब भएर होला कहिल्यै भेट्न आउँदिन,” उनले गुनासो गरिन् ।

माइतीको ओत पनि धेरै अघि नै भत्किइसकेको थियो । माइतमा आमाबुवा पहिल्यै बितेर गए । एउटा भाइ थियो, त्यो पनि बित्यो । दिदीबहिनी त छन्, तर उनीहरूलाई पनि कसैले सम्झिँदैनन् ।

वंशिघाटको यो गुम्सिएको कोठामा अरूका आफन्त खानेकुरा र लुगाफाटो बोकेर भेट्न आउँदा पुष्पाका आँखा टोलाउँछन् । उनी टोलाएका आँखा भुइँमा बिसाउँदै सुकसुकाउँछिन्, “यहाँ सबैका आफन्त भेट्न आउँछन्, मेरो त यो संसारमा कोही आउँदैनन् ।”

प्लास्टिकको पोकोभित्रको औषधि, रित्तो ग्यास सिलिन्डर र थालको चिसो भात नै अहिले पुष्पाका एक मात्र ‘आफन्त’ र नियति बनेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ९ : ४७ बजे

एनबीए फाइनलमा ट्रम्पविरुद्ध दर्शकको चर्को हुटिङ र नाराबाजी 

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीए फाइनलको खेल हेर्न पुगेका

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

महेन्द्रनगर– सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव

नतिजा देखिने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका

गृहमन्त्रीमा फर्किँदै सुधन गुरूङ, दिउँसो ३ बजे शपथ

काठमाडौं– गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरूङ गृहमन्त्रीमा

पूर्वाधार मन्त्रालयको बजेट वितरणमा विगतकै जस्तो असमानता, केही जिल्लामा अति धेरै, केहीमा अति न्यून

काठमाडौं– भौतिक विकास मन्त्रालयको बजेट वितरणमा निकै असमानता देखिएको छ