सामाजिक सञ्जालमा एउटा भनाइ निकै चर्चित छ- ‘पहिले पोस्ट गर, पछि सोचौँला ।’ यही प्रवृत्तिले पछिल्लो समय सार्वजनिक पदमा रहेका केही व्यक्तिहरूलाई पनि छोएको देखिन्छ । ताजा उदाहरण बनेका छन्- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ । उनी सामाजिक सञ्जालमा अन्टसन्ट लेखिरहन्छन् । २४ घण्टामा पचासभन्दा बढी पोष्ट गरिएको भेटिन्छ । लेखिएका धेरै विषय विवादास्पद र विवादित हुन्छन् । आश्चर्य त के छ भने विवादमा परेका विषयमा उनी न माफी माग्छन्, न त करेक्सन नै गर्छन् । यी गतिविधिले उनीभित्र अल्गोरिदम क्रेज बढेको पुष्टि हुन्छ ।
आइतबार साँझ साम्पाङले आफ्नो फेसबुक पेजमा भारतीय सुपरस्टार प्रभासको निधन भएको भन्दै अंग्रेजीमा ‘रेस्ट इन पिस, प्रभास । यू वेर अ ग्रेट एक्टर’ लेखेर श्रद्धाञ्जली व्यक्त गरे। समस्या श्रद्धाञ्जलीमा थिएन, समस्या त्यसको आधारमै थियो। किनकि त्यतिबेला प्रभास सकुशल थिए, छन् र आफ्नो आगामी चलचित्रको काममै व्यस्त छन् ।
१४ लाखभन्दा बढी फलोअर्स भएको फेसबुक पेजबाट आएको यो पोस्ट सामान्य प्रयोगकर्ताको पोस्टजस्तो रहेन। केही मिनेटमै हजारौँ मानिससम्म पुग्यो। कसैले सत्य ठाने, कसैले स्क्रिनसट लिएर अन्य प्लेटफर्ममा फैलाए। हेर्दाहेर्दै एउटा अपुष्ट पोस्टले सामाजिक सञ्जालमा भ्रमको बाढी ल्यायो।
सामाजिक सञ्जालको संसारमा एउटा क्लिकले कहिलेकाहीँ समाचारभन्दा पनि छिटो यात्रा गर्छ। तर त्यो क्लिक तथ्यमा आधारित छ कि छैन भन्ने प्रश्न भने प्रायः पछि मात्रै उठ्ने गर्छ। यसपटक पनि त्यही भयो। धेरै प्रयोगकर्ताले सुरुमा प्रभासको निधन भएको पत्याए, पछि वास्तविकता थाहा पाएपछि आक्रोशित बने।
पोस्ट सार्वजनिक भएको केही समयमै साम्पाङको कमेन्ट बक्स आलोचनाले भरियो। सयौँ प्रयोगकर्ताले तथ्य पुष्टि नगरी यस्तो संवेदनशील सूचना पोस्ट गर्नु गैरजिम्मेवार भएको टिप्पणी गरे। कतिपयले ‘अल्पज्ञान खतरनाक हुन्छ’ भन्दै कटाक्ष गरे भने धेरैले सार्वजनिक पदमा बसेको व्यक्तिले सूचना प्रवाह गर्दा झन् धेरै सावधानी अपनाउनुपर्ने बताएका थिए।
सामान्य प्रयोगकर्ताले गरेको गल्ती र जनप्रतिनिधिले गरेको गल्तीको प्रभाव एउटै हुँदैन । एउटा सामान्य फेसबुक पोस्ट केही साथीभित्र सीमित हुन सक्छ, तर लाखौँ मानिसले पछ्याएको सार्वजनिक व्यक्तित्वको एउटा पोस्टले केही मिनेटमै देशभर भ्रम फैलाउन सक्छ। त्यसैले सार्वजनिक पदसँग अधिकार मात्र होइन, जिम्मेवारी पनि जोडिएको हुन्छ।
सामाजिक सञ्जालको अर्को सत्य पनि यही हो- एकपटक फैलिएको सूचना पोस्ट हटाउँदैमा हराउँदैन। स्क्रिनसट, शेयर र रिपोस्टको संसारमा त्यसले आफ्नै जीवन पाइसकेको हुन्छ।
चौतर्फी आलोचनापछि साम्पाङले सोमबार बिहान उक्त पोस्ट फेसबुकबाट हटाए । तर पोस्ट हटाउँदासम्म त्यसले आफ्नो यात्रा पूरा गरिसकेको थियो। हजारौँ लाइक, कमेन्ट र सयौँ शेयर भइसकेका थिए । जिम्मेवार जनप्रतिनिधिबाटै यस्तो गम्भीर प्रकृतिको हल्ला फैलिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता र अभिनेताका प्रशंसकहरूले कडा असन्तुष्टि व्यक्त गरेका थिए ।
सयौँ प्रयोगकर्ताले उनको पोस्टमा टिप्पणी गर्दै ‘अल्पज्ञान खतरनाक हुने’ भन्दै आलोचना गरेका थिए । धेरैले सार्वजनिक पदमा बसेको व्यक्तिले यस्तो असंवेदनशील र भ्रामक कुरा पोस्ट गर्न नहुने भन्दै उनलाई सचेत समेत गराएका थिए ।
हर्क साम्पाङका लागि यो पहिलो विवाद भने होइन। उनी दिनमै धेरै पोस्ट गर्ने नेतामध्ये पर्छन्। यसअघि पनि तथ्य पुष्टि नभएका वा विवादास्पद सामग्री साझा गर्दा आलोचना खेपिसकेका छन्। यद्यपि, उनी प्रायः यस्ता विषयलाई सामान्य रूपमा लिँदै आएका छन्। त्यसैले यो घटनापछि उनले यसबारे सार्वजनिक रूपमा के प्रतिक्रिया दिन्छन् भन्ने चासो पनि बढेको छ। यो घटनाले फेरि एउटा पुरानो प्रश्न उठाएको छ। सामाजिक सञ्जालमा सबैभन्दा छिटो पुग्ने सूचना नै सबैभन्दा सही सूचना हुन्छ त ? उत्तर स्पष्ट छ- हुँदैन।
डिजिटल युगमा समाचार सार्वजनिक गर्न अब कुनै ठूलो स्टुडियो, प्रेस वा टेलिभिजन आवश्यक पर्दैन। एउटा स्मार्टफोन र इन्टरनेट भए पुग्छ। तर सूचना सार्वजनिक गर्ने गति जति बढेको छ, तथ्य जाँच गर्ने जिम्मेवारी पनि त्यत्तिकै बढेको छ। विशेष गरी जनप्रतिनिधि, प्रभावशाली व्यक्तित्व र लाखौं मानिसले पछ्याएका सार्वजनिक अनुहारका लागि यो जिम्मेवारी अझ ठूलो हुन्छ। किनभने उनीहरूले गर्ने एउटा पोस्ट केवल व्यक्तिगत अभिव्यक्ति हुँदैन, धेरैका लागि त्यो विश्वासको स्रोत पनि बन्न सक्छ।
सायद यस घटनाले फेरि सम्झाइदिएको छ। सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्न केवल केही सेकेन्ड लाग्छ, तर त्यसबाट फैलिएको भ्रम सच्याउन कहिलेकाहीँ धेरै समय लाग्न सक्छ। त्यसैले श्रद्धाञ्जली दिनुअघि, कम्तीमा सम्बन्धित व्यक्ति साँच्चै सकुशल छन् कि छैनन् भन्ने पुष्टि गरिदिँदा कसैको आयु त घट्दैन।
अल्गोरिदम भनेको के हो ?
अल्गोरिदम भन्नाले कुनै समस्या समाधान गर्न वा कुनै काम पूरा गर्नका लागि बनाइएको स्पष्ट, क्रमबद्ध र निश्चित नियमहरूको प्रक्रिया बुझिन्छ । सरल शब्दमा भन्नुपर्दा, कुनै लक्ष्य प्राप्त गर्न चरण-चरणमा अपनाइने विधिलाई अल्गोरिदम भनिन्छ। यो अवधारणा गणित, कम्प्युटर विज्ञान, प्रविधि तथा दैनिक जीवनका धेरै काममा प्रयोग हुन्छ।
अल्गोरिदमको मूल विशेषता भनेको यसको क्रमबद्धता र स्पष्टता हो। कुनै समस्या समाधान गर्दा पहिले के गर्ने, त्यसपछि के गर्ने र अन्त्यमा के गर्ने भन्ने सबै चरणहरू स्पष्ट रूपमा निर्धारण गरिएका हुन्छन्। यदि ती चरणहरू पालना गरियो भने समस्या समाधान हुन्छ। यही कारणले कम्प्युटर प्रणालीहरूमा अल्गोरिदम अत्यन्त महत्वपूर्ण मानिन्छ, किनभने कम्प्युटरले पनि निर्देशित चरणहरू अनुसार नै काम गर्छ।
दैनिक जीवनमा पनि अल्गोरिदमका धेरै उदाहरण भेटिन्छन्। जस्तै, चिया बनाउने प्रक्रिया- पहिले पानी उमाल्ने, त्यसपछि चिया पत्ती हाल्ने, त्यसपछि चिनी र दूध मिसाउने । यी सबै चरणहरू मिलेर एउटा सानो अल्गोरिदम बन्छ। त्यस्तै, गणितीय समस्या समाधान गर्ने विधि, बाटो खोज्ने तरिका वा कुनै काम व्यवस्थित रूपमा सम्पन्न गर्ने योजना पनि अल्गोरिदमकै उदाहरण हुन्।
आधुनिक डिजिटल संसारमा अल्गोरिदमको भूमिका अझ महत्वपूर्ण भएको छ। सामाजिक सञ्जाल, खोज इञ्जिन, अनलाइन व्यापार, बैंकिङ प्रणाली लगायत धेरै प्रविधिहरू अल्गोरिदमकै आधारमा सञ्चालन हुन्छन्। उदाहरणका लागि, सामाजिक सञ्जालले प्रयोगकर्ताको रुचि, गतिविधि र व्यवहारको आधारमा कुन सामग्री देखाउने भन्ने निर्णय अल्गोरिदममार्फत गर्छ।
यसरी हेर्दा, अल्गोरिदम केवल कम्प्युटर प्रोग्रामिङको विषय मात्र होइन, बरु व्यवस्थित सोच र समस्या समाधान गर्ने एउटा वैज्ञानिक तरिका हो। स्पष्ट चरण, निश्चित नियम र परिणाममा पुग्ने प्रक्रिया भएकोले अल्गोरिदम आधुनिक विज्ञान र प्रविधिको आधारभूत तत्व मानिन्छ।












प्रतिक्रिया