मेलबर्न- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणका क्रममा अष्ट्रेलिया र भारतबीच युरेनियम आपूर्तिसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताले अष्ट्रेलियाबाट भारतमा शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम निर्यातको बाटो खुला गरेको छ।
अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँगको द्विपक्षीय वार्तापछि प्रधानमन्त्री मोदीले आणविक ऊर्जा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको जानकारी दिएका हुन्। उनले भारतमा तीव्र रूपमा बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादन विस्तार गर्ने योजना रहेको बताए।
संयुक्त विज्ञप्तिअनुसार सम्झौताले शान्तिपूर्ण प्रयोजनका लागि दीर्घकालीन युरेनियम निर्यातलाई अनुमति दिएको छ। निर्यात भने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले निर्धारण गरेका सुरक्षा मापदण्डअनुसार हुने उल्लेख गरिएको छ।
विश्वको करिब २८ प्रतिशत युरेनियम स्रोत अष्ट्रेलियामा भए पनि कानुनी अवरोध र राजनीतिक संवेदनशीलताका कारण भारतमा यसको निर्यात लामो समयदेखि प्रभावित हुँदै आएको थियो। नयाँ सम्झौताले ती अवरोध हटाउँदै भारतको स्वच्छ ऊर्जा अभियानलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री अल्बानिजले यो सम्झौताले भारतमा अष्ट्रेलियाली युरेनियम निर्यातलाई सहज बनाउने र जीवाश्म इन्धनमा निर्भरता घटाउन सहयोग पुग्ने बताए। उनले प्रधानमन्त्री मोदीको नेतृत्वको प्रशंसा गर्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउन यस भ्रमणले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
भ्रमणका क्रममा मेलबर्नस्थित एक स्टेडियममा प्रधानमन्त्री मोदीको सम्मानमा विशेष सार्वजनिक कार्यक्रम आयोजना गरिने जनाइएको छ। अष्ट्रेलिया भ्रमणपछि उनी न्युजिल्यान्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ।












प्रतिक्रिया