काठमाडौं– प्रतिनिधि सभाको गत जेठ १७ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्न सुझाव दिएको छ ।
समितिले अमर्यादित र उत्तेजक शब्द प्रयोग भएको अवस्थामा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मका व्यवस्थालाई सभामुखले कठोरतापूर्वक गर्नु गराउनुपर्ने निष्कर्ष निकालेको हो ।
समितिले सदस्यहरूले पालना गर्नुपर्ने गरी प्रतिनिधि सभा नियमावलीमा उल्लेख भएका आचारसंहिता तथा नियमहरूको पूर्ण परिपालना गर्ने गराउने विषयलाई स्वयं माननीय सदस्यहरू, सङ्घीय संसद् सचिवालय तथा सभामुखले गम्भीरतापूर्वक लिनुपर्ने सुझाव पनि दिएको छ ।
त्यसैगरी, समितिले अभिमुखीकरण तथा आचारसंहिता सम्बन्धी सचेतना अभिवृद्धि, दलीय नेतृत्व र प्रमुख सचेतकहरूको भूमिकालाई प्रभावकारी बनाउने, सुरक्षा तथा प्रविधि व्यवस्थापनमा सुधार गर्ने, अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अनुकरण गर्ने, आचरण अनुगमन समितिलाई सक्रिय बनाउने, संसद् सचिवालयको जनशक्ति तथा प्रविधि सुदृढीकरण गर्ने, राजनीतिक दलहरूको आन्तरिक अनुशासन र उत्तरदायित्व अभिवृद्धि गर्ने, नजिर व्यवस्थापन, सिसिटिभी निगरानी तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा कार्य व्यवस्था परामर्श समितिको सक्रियता र प्रशासनिक सहजीकरणलाई थप प्रभावकारी बनाउन सुझाव दिएको छ ।
गत जेठ १७ गते भएको घटनाको छानबिन गर्न जेठ १८ गते बसेको प्रतिनिधि सभाको बैठकमा सम्माननीय सभामुखले जाँचबुझ समिति गठन गर्न निर्देशन दिएका थिए ।
समितिमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक तथा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य रहेका थिए ।
समितिले स्थलगत मुचुल्काको अध्ययन, श्रव्यदृश्य प्रमाण संकलन, प्रत्यक्षदर्शीको बयान तथा सम्बन्धित दस्ताबेजहरूको विश्लेषण गरी प्रतिवेदन तयार पारेको हो । समितिलाई प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको थियो । समितिले गत जेठ २५ गते प्रारम्भिक प्रतिवेदन सम्माननीय सभामुख अर्याललाई बुझाएको थियो ।
समितिले उक्त दिनको घटनामा संसदीय मर्यादाको उल्लघंन भएको, नियमावली कार्यान्वयनमा कमजोरी देखिएको, संयमताको अभाव रहेको तथा व्यवस्थापकीय चुनौतीहरू विद्यमान रहेको निष्कर्ष निकालेको छ ।
प्रतिवेदनका मुख्य बुँदाहरु
जाँचबुझमा के देख्यो समितिले?
जाँचबुझ समितिले जेठ १७ गते प्रतिनिधि सभाको बैठकभित्र भएको घटनासम्बन्धी प्रहरी मुचुल्का, सूचनापत्र, श्रव्यदृश्य सामग्री, प्रत्यक्षदर्शीका बयान तथा अन्य सम्बन्धित दस्तावेजहरूको अध्ययन गरेको थियो ।
आधिकारिक श्रव्य दृश्य फुटेजहरूबाट प्राप्त विवरण अनुसार :
मिति २०८३ जेठ १७ गतेको बैठक शुरु हुनासाथ प्रधानमन्त्रीले हात उठाई समय माग गर्नु भएकोमा समामुखवाट अनुमति भएपश्चात् रोष्ट्रम पुगी सदस्यहरुलाई प्रश्रोत्तरका लागि आह्वान गर्नु भएकोमा विपक्षी दलका माननीय सदस्य युवराज दुलाल र माननीय सदस्य ऐन बहादुर महरले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ५६ मिचिएको सम्बन्धमा नियमापत्ति गर्नुभएको ।
तत्पश्चात् प्रधानमन्त्रीसँग प्रत्रोत्तर कार्यक्रम सञ्चालन भएको । प्रश्नोत्तर कार्यक्रम सम्पन्न पश्चात् प्रधानमन्त्री बैठकबाट बाहिरिने क्रममा माननीय ध्रुव राई लगायतका केही विपक्षी सदस्यबाट उठेर विरोध गर्ने कार्य शुरु भएको ।
सभामुखबाट विपक्षी सदस्यहरुबाट भएको व्यवहार प्रति ध्यानाकर्षण भएको र माननीय आरेन राईको भाषा सुधार गर्न र माननीय सदस्यहरुको व्यवहारलाई मर्यादित बनाउनको लागि ध्यानाकर्षण गराउनु भएको ।
यसैबीच सत्तपक्ष र विपक्षी केही सदस्यहरुबीच भनाभन तथा विवादको स्थिति देखिएको । सभामुखले विपक्षीदलका सदस्यहरुलाई आफ्ना भनाई राख समय दिनुभएको र तत्पश्चात् सभा सुचारु भएको ।
आकस्मिक समयमा सदस्यहरुले बोलिसकेपश्चात् प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति माननीय गणेश पराजुलीलाई नियमावली माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न सभामुखवाट अनुमति दिनुभएको र प्रस्ताव पेश भएपछि छलफल शुरु भएको ।
छलफलपश्चात् बैठक सुरु भएको ५ घण्टा ५२ मिनेट जाँदा सभामुखले प्रतिनिधि सभा नियमावली २०८३ उपर माननीय नरेन्द्र कुमार केरुङले राख्नुभएको संसोधनहरुलाई निर्णायर्थ प्रस्तुत गर्नु भएको ।
बैठक सुरु भएको ५ घण्टा ५३ मिनेट जाँदा प्रतिपक्ष बेन्चका सबै सदस्यले आफनो स्थानबाट उठेर विरोध जनाउनु भएको ।
सभामुखबाट माननीय सदस्य बासना थापाहरूलाई आफनो कुरा राख्न समय दिनु भएको, निज सदस्यले आफनो कुरा राखेपश्चात् पनि विपक्षी बेन्चका सबै सदस्यहरुले आफनो स्थानबाट उठेर विरोध जनाउनु भएको ।
बैकठ सुरु भएको ६ घण्टापश्चात् राप्रपाका सदस्यहरुले आआफनो स्थान उठेर विरोध गर्नुभयो भने अन्य विपक्षी बेन्चका सदस्यहरुले बेल घेराउ गर्नुभएको, त्यसपश्चात् नाराबाजी गर्दै बेल घेराउ गर्ने कार्य भइरहेको ।
नाराबाजी क्रममा विपक्षी सदस्यहरुबाट सभामुख महोदय हाम्रो माग सम्बोधन भएन, संसदीय मर्यादा कायम गर, ढोका बन्द गरियोस्, सभामुखले निष्पक्ष बन्नैपर्छ पर्छ, सभामुख महोदय प्रतिपक्षको बहुमत हुँदा कसरी पास, अल्पमतले पारित गर्न पाउँदैन पाउँदैन, यस्तो सभामुख चाहिँदैन चाहिँदैन राजीनामा दे राजिनामा दे’ जस्ता शब्दहरु सुनिएको ।
बैठक सुरु भएको ६ घण्टा ८ मिनेट जाँदा निरन्तर वेल घेराउ गरिरहेका विपक्षी दलका केही सदस्यहरु र मर्यादापालकबीच ठेलामठेल भएको देखिएको । सोही समयमा सभामुखबाट माननीइहरुलाई सभाको मर्यादामा रहन र सभाको मर्यादा कायम गर्न निर्देशन दिनु भए तापनि वेल घेराउ गरिरहेका सदस्यहरु र मर्यादापालकहरुबीच ठेलाममठेल चलिनै रहेको ।
यसै क्रममा वेल घेराउ गरिरहेको एकजना सदस्यले सभामुखको डायस माथि चढ्न खोजेको देखिएको र उहाँलाई मर्यादापालकहरुले तल झारेको देखिएको, त्यसपछि मर्यादापालकहरुले सभामुखलाई अगाडिबाट घेरेर सुरक्षा दिनुपर्ने अवस्था सिर्जना भएको ।
बैठक सुरु भएको ६ घण्टा १० मिनेट जाँदा मर्यादापालकहरुले सभामुखको देब्रेपट्टी रहेको टेबललाई अगाडि पछाडी गरी मिलाउन खोजेको देखिएको । यद्यपि वेल घेराउ गर्नुभएको सदस्यहरु र मर्यादापालकबीच ठेलामठेल कायम नै रहेको ।
६ घण्टा १० मिनेट जाँदा माननीय सदस्य विष्णु वहादुर खड्काले कुर्सीमा खुट्टाले हानेको देखिएको । सभामुखले माननीय सदस्यहरुलाई सभाको मर्यादामा रहन निर्देशन दिनुहुँदै थियो, यसैवीच माननीय सदस्य सन्तोष सुब्बाले टेबुल माथि चढेर सभामुखपट्टी औंला ठड्याउनु भएको देखिएको र उहाँ सभामुखको डायसतर्फ अगाडि बढ्न खोज्दा मर्यादापालकहरुले उहाँलाई रोकिरहेको देखिएको ।
यसैवीच माननीय सदस्य रिंगला यादव पनि टेबलमा चढेर “ओई मर्यादापालकहरु……“भनी मर्यादापालकलाई औंला देखाउँदै गरेको देखिएको र उहाँ निरन्तर टेबलमै उभिएर नारा लगाईरहेको । उहाँ केही समय पश्चात् पुन : टेबलमा चढी सभामुखतर्फ अगाडि वढ्न खोजेको र मर्यादापालकहरुलाई औंला उठाई केही भनिरहेको देखिएको ।
६ घण्टा १३ मिनेट जाँदा विरोधकै क्रममा माननीय सदस्य गणेश पराजुली बसिरहनु भएको कुर्सी धकेलिएपछि उहाँ उठ्नु भएको देखिएको, माननीय सदस्य अशोक कुमार चौधरीपनि सँगसँगै उठ्नुभएको र उहाँ कुर्सी माथि टेकेर टेवल माथि चढ्दै गरेको देखिएको तथा माननीय सदस्य समीक्षा बास्कोटा, गणेश कार्की र प्रकाशचन्द्र परियारले उहाँलाई तानेर तल झारेको देखिएको ।
तत्पश्चात् ६ घण्टा १३ मिनेट जाँदा माननीय सदस्य निता घतानीले कुनै वस्तुले सत्तापक्षका माननीय तर्फ प्रहार गरेको देखिएको ।
यससँगै माननीय सदस्य रिंगला यादवले सत्ता पक्षको टेवलमा चढेर सत्तापक्ष तर्फ आक्रोशित मुद्रामा हात ठड्याएको देखिएको ।
यसैवीच माननीय सदस्य खगेन्द्र सुनारले दुई पक्षको बीचमा गई झडप हुनबाट रोक्न खोजेको देखिएको । यसैबीच ६ घण्टा १३ मिनेट जाँदा उक्त विरोधका बीच कसैले सत्तापक्ष तर्फ माईक स्टयाण्ड फालेको देखिएको ।
६ घण्टा १४ मिनेट जाँदा माननीय सदस्यहरु एक आपसमा ठेलामठेल गरिरहेको र लगातार विरोध भइरहेकोमा ६ घण्टा १७ मिनेट जाँदा सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गर्नुभएको ।
१५ मिनेटको लागि स्थगित भएको बैठक सुरु गर्नका लागि जनाउ घण्टी बज्न शुरु भए देखिनै विपक्षीदलका माननीय सदस्यहरु सभामुख आउने दुईवटै ढोकामा उहाँलाई रोक्नको लागि वसिरहेको देखिएको ।
सभामुख सभाहलमा प्रवेश गर्ने क्रममा उहाँलाई ढोकामा रोक्न खोजेको देखिएको । तत्पश्चात् विपक्षी माननीय सदस्यहरुले सभामुखको आसन अगाडिको टेबललाई ठेलेको र टेबलका केही भागहरु भाँच्चिएको देखिएको। सभामुखले विरोधकाबीच बैठक शुरु गर्नुभएकोमा मर्यादापालकहरुले कुसन उठाएर सभामुखलाई सुरक्षित राख खोजेको देखिएको ।
सभामुखले प्रतिनिधि सभा नियमावलीको मस्यौदा माथिका संसोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिरहँदा माननीय सदस्य रिंगला यादव सभामा रहेको टेवलमाथि चढी नारा लगाइरहेको र अरु माननीय सदस्यहरुले उहाँलाई तानेर तल झार्न खोज्नु भएको देखिएको । सोही क्रममा माननीय सदस्य रिंगला यादवले सभामा रहेको कुर्सि उचालेको र अन्य माननीयहरूले रोक्न खोजेको देखिएको । सोही क्रममा सत्तापक्षका केही माननीय सदस्य पनि अगाडि वेलतर्फ बढेको देखिएको ।
तत्पश्चात् माननीय सदस्य क्षितिज थेवेले भुँइमा झरेको माईक र स्टघाण्ड टिपेर पछाडि माननीय सदस्यलाई समाउन दिएको र माननीय सदस्यले टेवलमा राखेको देखिएको र अर्का माननीय सदस्यले ढलेको कुर्सी मिलाईरहेको देखिएको ।
केही समय पश्चात् माननीय सदस्य रिंगला यादव पुन: सभाको टेवलमाथि चढी नारावाजी गरिरहेको र उहाँ सभामुखको डायसतर्फ अन्य माननीय सदस्यहरुको काँधमा टेकी अगाडि बढ्न खोजेको र सोक्रममा मर्यादापालकको टोपी खसेको देखिएको । विरोध र ठेलमठेल चलिरहेको समयमा उहाँ माननीय सदस्यले पुन : टेबल माथि उभिएर “यस्तो सभामुख चाहिंदैन“,“देश जलाउने सभामुख चाहिदैन’ जस्ता नाराबाजी गरिरहेको देखिएको ।
यसैक्रममा सत्तापक्षका माननीय सदस्य दीपक साहले कोहीसँग मोवाइलबाट भिडियो कल गरिरहेको देखिएको ।
नियमावली मस्यौदा समितिका सभापति माननीय गणेश पराजुलीले प्रतिनिधि सभाको नियमावली, २०८३ पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गर्दैगर्दा माननीय सदस्य ऐन बहादुर महरले पोडियम तर्फ जानको लागि टेबलबाट माननीय सदस्यहरु र मर्यादापालकहरुको काँधमा चढी अगाडि बढेको र मर्यादापालकहरुले उहाँलाई तल झारिरहेको र सो क्रममा मर्यादापालकहरुको टोपी तल खसेको देखिएको । यसै क्रममा नियमावली वहुमतबाट पारित भएको घोषणा भएको ।
दोस्रो बैठक
बैठक सुरु हुनु अगाडि देखिनै विपक्षीदलका माननीय सदस्यहरु रोष्ट्रम अगाडि उभिएर विरोधमै रहेको देखिएको र सभामुखको प्रवेश पश्चात् “राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे“ जस्ता नाराबाजी भइरहेको देखिएको । नारावाजी र होहल्लाकै बीच प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशको जानकारी एवं टेवल गर्नुभयो। तत्पश्चात् सभामुखबाट १५ मिनेटका लागि बैठक स्थगित भयो ।
तेस्रो बैठक
बैठक सुरुको जनाउ घण्टी बजेदेखि नै विपक्षी दलका माननीय सदस्यहरु रोष्ट्रम अगाडि उभिएर विरोधमै रहेको र बैठक नसकिन्जेलसम्मै विरोध कायमै रहेको देखिएको । नारावाजी र होहल्लाकै बीच माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको । उक्त विधेयकमाथिको छलफलमा भाग लिन कुनै पनि माननीय सदस्यहरूको नाम प्राप्त नभएकोले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेको र बहुमतबाट स्वीकृत भई बैठक स्थगित भएको ।
मर्यादापालकबाट प्राप्त जानकारी अनुसार
केही सदस्यहरुले टेवलमाथि चढेर नाराबाजी गरेका र केही सदस्यहरु भिडमाथि चढेर डायसको माइक तान्ने प्रयास गरेका ।
उक्त भिड उत्तेजित भई सदस्यहरुबीच धकेलाधकेल भएको र सो क्रममा सभामुखको आसनको टेवलको बार भत्किएको र समय–सूचक बत्तीको तार चुँडिएको ।
सोही क्रममा सदस्यहरु बस्ने बेन्चको पहिलो लहरमा राखिएको प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको नेमप्लेट फुटेको । तत्पश्चात् सदस्यहरुबीच हात हालाहालको अवस्था सृजना हुन लागेकोमा दुबै पक्षका सदस्यहरुबाट परिस्थिति बिग्रन नदिईएको ।
मर्यादापालकले छेक्ने क्रममा मर्यादापालकहरुको टोपी र पोशाक तानातान भई केहीको टोपी हराएको, केहीलाई सामान्य चोटपटक लागेको तथा हराएको टोपी भोलिपल्ट फिर्ता भएको ।
विरोध पछिको दोस्रो बैठकमा सबै विपक्षी सदस्यहरुले सभामुख आउने ढोकाहरु घण्टी बज्नु अघि नै छेकेर बस्नु भएको । जसले गर्दा सभामुखलाई डायसमा ल्याउने क्रममा पश्चिम तर्फको ढोकामा सदस्यहरुलाई हटाउने क्रममा धकेलाधकेल हुँदा केही सदस्यहरु लड्नु भएको ।
पहिलो बैठकमा विरोध भए पछि दोस्रो बैठकमा राष्ट्रिय सभामा खटिएका सबै मर्यादापालकहरुलाई बोलाई राखिए तापनि तत्कालिन अवस्थामा अगाडिको स्थान (वेल) ज्यादै कम हुँदा मर्यादापालकहरुले सुरक्षाको लागि बनाउनुपर्ने सुरक्षा घेराहरु बनाउन नसकेकाले विपक्षका सदस्यहरु डायस नजिक आउन सफल भएको ।
मर्यादापालकहरू र सचिवालयबाट सभा व्यवस्थापनमा खटिएका कर्मचारीहरूबीच सुरक्षा शतर्कता सम्बन्धमा आवश्यक समन्वय हुन र मर्यादापालकहरूलाई आवश्यक भौतिक सामग्रीहरू (जस्तैः प्रत्यक्ष प्रशारण डिस्प्ले स्क्रिन, कार्यकक्ष आदि) उपलब्ध हुन जरूरी रहेको छ ।
बैठकको सूचनापत्रको विवरण अनुसार
दिउँसो १:२५ बजे सभामुखको अध्यक्षतामा सभाको पहिलो बैठक प्रारम्भ भएकोमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम पश्चात् विपक्षीबाट विरोध भई बैठक बेलुका ७:४० मा स्थगित भएको र ८:५० मा पुन : प्रारम्भ भएको बैठक पुन : सुचारु गर्ने प्रयास गर्दा विपक्षी सदस्यहरूवाट निरन्तर विरोध प्रदर्शन भएको ।
राति ९:४५ बजे सभामुखको अध्यक्षतामा सभाको दोस्रो बैठक प्रारम्भ भई राति ९:५० मा स्थगित भएको ।
राति १०:०५ बजे सभामुखको अध्यक्षतामा सभाको तेस्रो बैठक प्रारम्भ भई राति १०:१५ मा स्थगित भएको ।
अवरोधको शृङ्खला : विपक्षी दलका सदस्यहरू वेलमा आई नाराबाजी गरेपछि बैठक पटक–पटक स्थगित भएको ।
डायस तान्ने प्रयास : केही सदस्यहरूले सभामुखको आसन तान्ने र अडियो कन्फ्रेन्सिङ सिस्टममा भौतिक बल प्रयोगको प्रयास गरेको ।
प्रहरी मुचुल्काबाट प्राप्त विवरण अनुसार
अडियो कन्फ्रेन्सिङ सिस्टम : सभामुखको डायस अगाडि रहेका दुईवटा माइक सहितको स्टयाण्ड ढलेको, डायस अगाडि रहेको खाली ठाउँमा कार्पेट माथि माइकको तारहरू र माइक यत्रतत्र अवस्थामा रहेको ।
सभामुख अगाडिको डायस : सम्माननीय सभामुख वस्ने कुर्सी अगाडिको टेवलको दायाँ कुना चर्किएको र उक्त टेबलको अगाडिपट्टि जोडिएको काठको बार फुटेको ।
ढोका : प्रतिनिधि सभा हलको उत्तरतर्फ रहेको छिर्ने ढोकाको दायाँ पल्लामा चोट लागेको र छेस्किनी फुटेको ।
अन्य सामाग्री : हलभित्र महिला सदस्यले लगाउने क्लिप र पेन होल्डर फुटेको अवस्थामा फिला परेको
नियमावली उल्लङ्घनमा के छ कारबाहीको व्यवस्था ?
प्रतिनिधि सभा नियावली २०८३ मा भएको व्यवस्था अनुसार
नियम ३०. चेतावनी : बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्छ ।
नियम ३१. बैठक कक्षबाट निष्कासन : (१) नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त वाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन ।
(२) उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन । यसरी निकालिएकोमा सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ ।
नियम ३२. सदस्यको निलम्बन : (१) सभामुखको आसनको अवहेलना गर्ने वा सभाको कार्यमा जानाजानी बारम्बार बाधा दिने वा अभद्र व्यवहार गर्ने वा संविधान वा यस नियमावलीको जानाजानी उल्लङ्घन वा अवहेलना गर्ने सदस्यको नाम सभामुखले तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम नाम तोकिएको सदस्यलाई बैठकबाट निलम्बन गरियोस् भनी कुनै सदस्यद्वारा प्रस्ताव पेस भएमा सो प्रस्ताव सभामुखले निर्णयार्थ तुरुन्त बैठकमा प्रस्तुत गर्नेछ र सो प्रस्तावउपर कुनै संशोधन वा स्थगन प्रस्ताव ल्याई छलफल गर्न पाइने छैन ।
(३) उपनियम (२) बमोजिमको प्रस्ताव पारित भएमा त्यस्तो सदस्य निलम्बन भएको मानिनेछ र त्यसरी निलम्बित सदस्यले त्यसपछिको वढीमा पन्ध्र दिनसम्म सभा र समितिको बैठकमा उपस्थित हुन पाउने छैन ।
(४) उपनियम (३) बमोजिम निलम्बन भएको सदस्यले बैठक कक्षवाट तुरुन्त वाहिर जानुपर्नेछ ।
(५) निलम्बित सदस्य उपनियम (४) बमोजिम बैठक कक्षवाट वाहिर नगएमा सभामुखले निजलाई वाहिर निकाल्न मर्यादापालकलाई आदेश दिन सक्नेछ ।
(६) यस नियमवमोजिम कुनै सदस्य निलम्बन भएमा वा त्यस्तो निलम्बन फुकुवा भएमा सचिवले त्यसको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ ।
(७) उपनियम (३) बमोजिम निलम्बित तथा नियम ३१ बमोजिम निलम्बित सदस्यले पूर्वसूचना दिइसकेको प्रस्ताव निलम्बित अवस्थामा बैठकमा प्रस्तुत गर्नुपर्ने भएमा सभामुखले सो प्रस्ताव पेस गर्नको लागि अन्य कुनै सदस्यलाई अधिकृत गर्न सक्नेछ ।
नियम ३३. सुव्यवस्था कायम राख्ने सभामुखको विशेष अधिकार : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्यले बैठक कक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भङ्ग गरेमा वा गर्न लागेमा वा सभाको प्रतिष्ठामा आँच आउने किसिमले बैठक कक्षभित्र ध्वंसात्मक कार्य गरेमा वा बल प्रयोग गरेमा वा गर्न लागेमा वा कुनै भौतिक हानी नोक्सानी पुरÞ्याएमा सभामुखले निजलाई बैठक कक्षबाट तत्काल निष्काशन गर्न मर्यादापालकलाई आदेश दिन सक्नेछ ।
यसरी निष्काशित सदस्यलाई सभामुखले बढीमा पन्ध्र दिनसम्मको लागि निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्नेछ ।
( २) उपनियम (१) बमोजिम निलम्बित सदस्यले सो अवधिभर सभा र कुनै समितिको बैठकमा उपस्थित हुन पाउने छैन ।
(३) यस नियमवमोजिम कुनै सदस्य निलम्बन भएमा वा त्यस्तो निलम्बन फुकुवा भएमा सचिवले त्यसको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ ।
(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्यले बैठकमा आपत्तिजनक वा ध्वंसात्मक व्यबहार गरेको वा बैठक कक्षमा भौतिक हानी नोक्सानी पुर्एको कुरा सभामुखलाई बैठक समाप्त भएपछि थाहा भए पनि सभामुखले त्यस्तो सदस्यलाई वढीमा पन्ध्र दिनसम्मको लागि निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्नेछ ।
तर सभामुखले यसरी कारबाहीको आदेश दिनुभन्दा अगाडि सम्बन्धित सदस्यलाई आफ्नो सफाई पेस गर्ने उचित मौका दिनुपर्नेछ ।
नियम ३४. कारबाही फिर्ता हुन सक्ने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निष्कासित वा निलम्बित सदस्यले चित्त बुझ्दो सफाइ पेस गरेमा वा आफ्नो भूल स्वीकार गरी माफी मागेमा सभामुखले त्यस्तो सदस्यलाई माफी दिई कारवाही फिर्ता लिन सक्नेछ ।
नियम ३५. बैठक स्थगित गर्ने अधिकार : बैठक कक्षभित्र अव्यवस्था भएमा वा हुन लागेमा वा बैठक नियमित रूपमा सञ्चालन गर्न बाधा पर्ने देखिएमा सभामुखले सो दिनको कुनै समयसम्म वा आफूले तोकेको अवधिसम्मको लागि बैठक स्थगित गर्न सक्नेछ । सभामुखले गरेको त्यस्तो स्थगनमाथि कुनै सदस्यले प्रत्र उठाउन पाउने छैन ।
नियम २६०. नियमावलीको व्याख्या : यस नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखलाई हुनेछ र निजको निर्णय अन्तिम हुनेछ । त्यस्तो निर्णयको जानकारी बैठकलाई दिनुपर्नेछ ।












प्रतिक्रिया