प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना « Khabarhub

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिकस्थल र मौलिक संस्कृति ।

प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाएको छ । मर्स्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा रहेका प्राकृतिक तथा धार्मिकस्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्रसमेत बन्न थालेका छन् ।

वडा नम्बर ४ जगतमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा प्राकृतिक वातावरणको आनन्द लिन मानिसहरू पुग्ने गरेका छन् । वडा नम्बर ६ बाहुनडाँडामा रहेको तातोपानी कुण्ड पनि पर्यटकीय सम्भावना बोकेको स्थल हो ।

प्राकृतिक रूपमा निस्कने तातोपानीमा स्नान गर्दा विभिन्न रोग निको हुने जनविश्वास रहँदै आएको छ । त्यस्तै गाउँपालिकाका विभिन्न डाँडाकाँडाबाट हिमशृङ्खला तथा आसपासका मनोरम भूदृश्यावलोकन गर्न सकिन्छ । वडा नम्बर ३ मा रहेको हर्सिङडाँडा प्राकृतिक दृश्यावलोकनका साथै ऐतिहासिक महत्व बोकेको स्थल हो ।

राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालमा गाईवस्तु चराएको स्थानका रूपमा समेत हर्सिङडाँडालाई लिइन्छ । ऐतिहासिक व्यक्तित्वसँग जोडिएको यो स्थललाई पर्यटनसँग जोडेर विकास गर्नसके थप पर्यटक आकर्षित गर्न सकिने स्थानीयको विश्वास छ ।

मर्स्याङ्दी गाउँपालिकाको पर्यटन प्राकृतिक सम्पदामा मात्र सीमित छैन । यहाँको मौलिक संस्कृति पनि अर्को महत्त्वपूर्ण आधार हो । विभिन्न समुदायले मनाउने चाडपर्व तथा परम्परागत नाचगानले स्थानीय सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ ।

घाटु, सोरठी, कृष्णचरित्र, बालन, झ्याउरे, तामाङ सेलोलगायतका सांस्कृतिक गतिविधिलाई पर्यटनसँग जोड्न सके स्थानीय कला र संस्कृतिको संरक्षणसँगै आम्दानीको स्रोत बनाउन सकिने उत्तिकै सम्भावना छ । गाउँपालिकाका विभिन्न वडा यी पर्यटन तथा यातायात मार्गसँग जोडिएकाले मनाङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलतर्फ आकर्षित गर्न सकिने अवस्था छ ।

विशेषगरी पर्यटकीय मौसममा अन्नपूर्ण पदमार्ग हुँदै आउने विदेशी पर्यटक तथा मनाङ जाने यात्रीलाई स्थानीय गन्तव्यसँग जोड्न सके पर्यटनको लाभ गाउँपालिकाका विभिन्न बस्तीमा पुर्याउन सकिन्छ ।

स्थानीयवासी पूर्णबहादुर गुरुङ मर्स्याङ्दी गाउँपालिका प्राकृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले यसको सम्भावनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउँछन् । पर्यटकीय सम्भावना भएका स्थानको पहिचान गरी संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमा थप ध्यान दिन सके स्थानीयले त्यसबाट लाभ लिन सक्ने उनको भनाइ छ ।

हर्सिङडाँडाको पर्यटकीय सम्भावनालाई स्थानीयस्तरबाटै उपयोग गर्न थालिएको छ । ऐतिहासिक व्यक्तित्व भक्ति थापासँग जोडिएको स्थल भएकाले पर्यटक आकर्षित गर्न आफूले त्यहाँ पर्यटनलक्षित व्यवसाय सञ्चालन गर्दै आएको पूर्णबहादुरले बताए ।

प्राकृतिक सौन्दर्य र ऐतिहासिक पहिचानलाई एकैसाथ उपयोग गर्न सके हर्सिङडाँडा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने उहाँको विश्वास छ । मर्स्याङ्दी गाउँपालिकामा सडक तथा अन्य पूर्वाधार विस्तार भइरहेकाले पर्यटन विकासका लागि थप आधार तयार हुँदै गएको छ ।

पर्यटकीयस्थलसम्म सहज पहुँच, पदमार्ग, खानेपानी, शौचालय, सरसफाइ, सूचना केन्द्र, सङ्केतचिह्न र घरबासलगायतका पूर्वाधारलाई व्यवस्थित बनाउन सके यहाँको पर्यटनले थप गति लिनसक्छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ मर्स्याङ्दी गाउँपालिका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको बताउँछन् । यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै प्रचारप्रसारलाई प्राथमिकता दिइएको उनले बताए ।

पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन, आवश्यक पूर्वाधार निर्माण तथा पर्यटकीयस्थलसम्म यातायात सेवा विस्तारमा गाउँपालिकाले ध्यान दिइरहेको उनको भनाइ छ । ‘यहाँका सम्पदाको संरक्षणसँगै व्यापक प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माण र यातायात पहुँच विस्तार गरी पर्यटक आकर्षित गर्ने वातावरण बनाउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ’, अध्यक्ष गुरुङले भने ।

अन्नपूर्ण पदमार्ग र बेँसीसहर–चामे सडकसँगको पहुँचलाई स्थानीय पर्यटकीय गन्तव्यसँग जोड्दै संरक्षण, पूर्वाधार विकास, स्थानीय समुदायको सहभागिता र व्यवस्थित प्रचारप्रसारलाई सँगसँगै अघि बढाउन सके मर्स्याङ्दी लमजुङकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनसक्ने सम्भावना छ । (रासस)

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ८ : १० बजे

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका

तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको