मस्को- रूसले युक्रेनसँग जारी द्वन्द्वलाई तत्काल ‘फ्रिज’ वा अस्थायी रूपमा रोक्ने प्रस्ताव अस्वीकार गर्दै दीर्घकालीन शान्तिका लागि द्वन्द्वका मूल कारण समाधान गर्नुपर्ने अडान दोहोर्याएको छ।
रुसी उपविदेशमन्त्री मिखाइल गालुजिनले द्वन्द्वका अन्तर्निहित कारण सम्बोधन नगरी युद्ध रोक्दा दीर्घकालीन समाधान ननिस्कने बताएका हुन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि पटक–पटक यही धारणा सार्वजनिक गर्दै आएको उल्लेख गरे।
‘सङ्कटका मूल कारणलाई सम्बोधन नगरी द्वन्द्वलाई ‘फ्रिज’ गर्न सकिँदैन,’ गालुजिनले भने।
रुसले युक्रेनको स्थायी तटस्थता तथा केही क्षेत्रसम्बन्धी आफ्ना मागलाई शान्ति प्रक्रियाका महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै आएको छ। गालुजिनले युक्रेनी नेतृत्वले द्वन्द्वको वर्तमान वास्तविकता बुझ्न नसकेको आरोप लगाउँदै द्वन्द्व थप बढाउने गतिविधि गरिरहेको दाबी गरे।
उनले युक्रेनले नागरिक तथा ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाएको आरोप लगाउँदै त्यस्ता आक्रमणलाई “बर्बर” गतिविधिको संज्ञा दिए। उनले नोभोरोसिस्कस्थित क्यास्पियन पाइपलाइन कन्सोर्टियम (सीपीसी) को टर्मिनलमा भएको आक्रमणलाई समेत उदाहरणका रूपमा प्रस्तुत गरे।
उक्त टर्मिनलमार्फत कजाखस्तानको कच्चा तेल युरोप तथा एसियाली बजारमा पठाइन्छ। सीपीसीका प्रमुख लगानीकर्तामा एक्सोनमोबिल, सेभरन र शेललगायत पश्चिमी ऊर्जा कम्पनी छन्।
रुसी पक्षको पछिल्लो आरोप युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ओडेसा, खार्किभ र पावलोहरादलगायत क्षेत्रमा भएका रुसी आक्रमणबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको विवरण सार्वजनिक गरेपछि आएको हो।
जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ओडेसामा ऊर्जा पूर्वाधार तथा बन्दरगाह सुविधामा भएको आक्रमणपछि विद्युत् आपूर्ति पुनःस्थापना गर्न आपतकालीन टोली परिचालन गरिएको बताए। उनले रुसी आक्रमणलाई विश्वव्यापी खाद्य सुरक्षामाथिको योजनाबद्ध आक्रमणको हिस्सा भएको आरोप लगाएका छन् ।
जेलेन्स्कीका अनुसार ओडेसामा भएको आक्रमणमा कम्तीमा आठ जना घाइते भएका छन्। आवासीय भवन तथा बन्दरगाहसमेत क्षतिग्रस्त भएको र आक्रमणपछि ओडेसा तथा आसपासका क्षेत्रमा तीन लाखभन्दा बढी परिवार विद्युत्विहीन भएको उनले बताए। तीमध्ये करिब एक तिहाइ परिवारमा विद्युत् आपूर्ति पुनःस्थापित भइसकेको र बाँकी क्षेत्रमा काम जारी रहेको उनको भनाइ छ।
खार्किभमा भएको ड्रोन आक्रमणबाट आवासीय भवनको चार तला ध्वस्त हुँदा दुई जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको जेलेन्स्कीले दाबी गरेका छन्। त्यस्तै, पावलोहरादमा सपिङ मल तथा विद्युत् संरचनानजिक भएको आक्रमणमा चार बालबालिकासहित नौ जना घाइते भएको उनले बताए।
युक्रेनमाथि पछिल्लो समय भएका हवाई आक्रमणको व्यापकता उल्लेख गर्दै जेलेन्स्कीले एक साताको अवधिमा विभिन्न प्रकारका ६१ वटा क्षेप्यास्त्र प्रयोग भएको दाबी गरेका छन्। तीमध्ये ५६ वटा ब्यालिस्टिक क्षेप्यास्त्र रहेको तथा एक हजार ५६० भन्दा बढी आक्रमणकारी ड्रोन र एक हजार ५४० हवाई बम प्रयोग भएको उनको दाबी छ।
‘मानव जीवनमाथि हुने प्रत्येक आक्रमणले हामीलाई थप दबाब, रुसमाथि थप प्रतिबन्ध र युक्रेनका लागि थप हवाई प्रतिरक्षाको आवश्यकता सम्झाउँछ,’ जेलेन्स्कीले भनेका छन् ।
उनले युक्रेनलाई निरन्तर सहयोग गर्दै आएका अन्तर्राष्ट्रिय साझेदारप्रति धन्यवादसमेत व्यक्त गरेका छन्। पछि सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले ओडेसामा राहत तथा पुनःस्थापनाको काम जारी रहेको जानकारी दिएका छन् ।
रुसले भने अस्थायी युद्धविराम वा द्वन्द्वलाई ‘फ्रिज’ गर्ने उपायभन्दा आफूले उठाउँदै आएका राजनीतिक तथा सुरक्षा सम्बन्धी मूल मुद्दाको समाधानलाई युद्ध अन्त्यको आधार मानेको छ।
मस्कोको पछिल्लो अडानले युद्ध अन्त्यका लागि तत्काल सहमति खोज्ने प्रयास र रूस–युक्रेनका आधारभूत मागबीचको दूरी अझै कायम रहेको देखाएको छ।












प्रतिक्रिया