आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ « Khabarhub

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता बढेपछि यहाँ पाटेबाघको सङ्ख्या वृद्धि भएको छ । ३०५ पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पाटे बाघको सङ्ख्या ५० पुगेको हो ।

चार वर्षअघि गरिएको राष्ट्रिय बाघ सर्वेक्षणमा यहाँ बाघको सङ्ख्या ३६ रहेकामा गत चैतमा गरिएको सर्वेक्षणमा उक्त सङ्ख्या बढेर ५० पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनले निकुञ्जमा पानीको पर्याप्त उपलब्धता, एसियाकै ठूलो घासेमैदान र आहारा प्रजातिको घनत्व बढेकाले शुक्लाफाँटामा पाटेबाघको सङ्ख्यामा वृद्धि भएको बताए ।

“निकुञ्जमा हाल एक वर्ग किलोमिटरमा ११३ वटा आहारा प्रजाति उपलब्ध छन्”, संरक्षण अधिकृत वाग्लेले भने, “यहाँ चोरीसिकारी शून्य छ । निकुञ्जभित्र पानीको उपलब्धता पनि प्रशस्त भएकाले बाघको सङ्ख्या बढेको हो ।” राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा १७ वटा बाघ थिए । निकुञ्ज कार्यालयका अनुसार २०१८ मा १६, सन् २०२१ मा १९ र सन् २०२२ बाघको सङ्ख्या ३६ पुगेको थियो ।

निकुञ्जमा क्यामेरा ट्रयापिङ्ग विधिबाट गरिएको गणनाअनुसार यसवर्ष बाघको सङ्ख्या बढेर ५० पुगेको हो । निकुञ्जभित्र रहेका रानी ताल, बाबा ताल, चौधर नदी र महाकाली नदी वन्यजन्तुका लागि पानी पिउने प्रमुख स्रोत बनेका छन् । यसबाहेक निकुञ्ज कार्यालयले पनि वन्यजन्तुका लागि विभिन्न स्थानमा कृतिम पोखरी निमार्ण गरेको छ ।

राष्ट्रिय निकुञ्जमा बाघको मुख्य आहारका रूपमा चित्तल, जरायो, रतुवा, जङ्गली बँदेललगायत वन्यजन्तु रहेका निकुञ्जका संरक्षण अधिकृत वाग्लेले जानकारी दिए। “यी आहारा प्रजातिको सङ्ख्या र घनत्व पर्याप्त हुँदा बाघलाई आवश्यक आहारा जङ्गलमा उपलब्ध हुने भएकाले आहारा खोज्नुपर्ने अवस्था कम छ । सोही कारणले शुक्लाफाँटामा थोरै क्षेत्रफलमा पनि बाघको सङ्ख्या धेरै छ”, उनले भने ।

शुक्लाफाँटाको विशेषता यहाँको विशाल घाँसेमैदान पनि हो । यहाँका फाँटमा चित्तललगायत शाकाहारी वन्यजन्तुका लागि प्रशस्त घाँस तथा पानीको उपलब्धता छ । शुक्लाफाँटामा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै जानु सुखद पक्ष भएपनि यसले व्यवस्थापनमा चुनौती थपेको निकुञ्जका संरक्षण अधिकृत वाग्लेले बताए ।

बाघको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रसँग जोडिएका मानव बस्तीमा आवतजावत बढ्न सक्ने भएकाले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले बताउनुभयो । “बुढो बाघ बस्तीतर्फ आउने जोखिम हुन्छ, त्यसका लागि समुदायलाई तयार पार्नुपर्छ”, उनले भने, “शुक्लाफाँटामा बढेका बाघ देखाएर यहाँका नागरिकलाई पर्यापटनमार्फत रोजगारीतर्फ जोड्न सकिन्छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ र बाह्रसिङ्गाका लागि प्रख्यात भएकाले यसको प्रचारप्रसार गरी पर्यटनबाट लाभ लिन सकिने पर्यटन व्यवसायीहरू बताउँछन । “महाकाली नदीमा पक्की पुल बनिसकेको छ पारीपट्टि सुक्खा बन्दरगाह निमार्ण हुँदैछ”, व्यवसायी गणेश भट्टले भने, “यो नाका सञ्चालनमा आए भारतका उत्तराखण्डका पर्यटकीय क्षेत्र घुम्न आएका विदेशी पर्यटक यहाँ आउन सक्छन । त्यसकारण शुक्लाफाँटाको प्रचारप्रसारमा जोड दिन आवश्यक छ ।”

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् । निकुञ्ज कार्यालयका अनुसार ५६ प्रजातिका घस्रने वन्यजन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यहाँ छन् । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि यहाँ पाइन्छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ९ : ११ बजे

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी