भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन « Khabarhub

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डिएनए’ नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ । शव पहिचानमा हुन सक्ने त्रुटि न्यूनीकरण गर्न प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि मार्फत नमुना परीक्षण अघि बढाएको हो ।

सामाखुशीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट प्राप्त डिएनए नमुनाको परीक्षण गरिरहेको छ । नमुना सङ्कलनदेखि भण्डारण र परीक्षणसम्मका प्रक्रियामा वैज्ञानिक मापदण्ड तथा आधुनिक प्रविधिको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज, उद्धारसँगै शव पहिचानलाई प्राथमिकतामा राखिएको जानकारी दिए । प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतकका नमुना र आफन्तबाट सङ्कलित नमुना आउने क्रम जारी छ ।

“सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गरी मानक प्रक्रियाअनुसार डिएनए परीक्षणमा अहोरात्र टोली खटिएको छ,” पालले भने ।

प्रयोगशालामा हालसम्म प्राप्त १,२४० नमुनामध्ये मृतकका आफन्त तथा अन्य स्रोतका ८०८ रगतका नमुना, मृतकका दाँत तथा हड्डीका ३४८ र औँलाछापका ८४ वटा नमुना रहेका छन् । हालसम्म २६ जिल्लाबाट डिएनए प्रोफाइलिङका लागि नमुना प्राप्त भएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार शव पहिचानका लागि मृतकका १,२८६ र आफन्तका १,४१२ गरी कुल २,६७८ डिएनए नमुना सङ्कलन भइसकेको छ । मृतकका सङ्कलित नमुनामध्ये चितवनबाट ३५४, नवलपरासी पश्चिमबाट २१३, नुवाकोटबाट २०७, नवलपरासी पूर्वबाट १९९, रसुवाबाट १३४, गोरखाबाट ७१, धादिङबाट ७० र तनहुँबाट ३८ वटा छन् ।

यसैगरी, नेपाल प्रहरी अस्पतालमा हालसम्म ९९० मृतकका आफन्तको नमुना सङ्कलन गरिएको छ भने अन्य जिल्लामा पनि नमुना सङ्कलन जारी छ ।

भोटेकोशी बाढीपछि सम्पर्कविहीन तथा हराइरहेका नेपाली र विदेशी नागरिकको पहिचानका लागि डिएनए प्रोफाइलिङलाई दायरा फराकिलो बनाइएको छ । बाढीमा भेटिएका शव वा शरीरका अङ्गको डिएनए र सम्भावित आफन्तको नमुनाबीच तुलना गरी पहिचान यकिन गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शव पहिचान तथा डिएनए परीक्षण प्रक्रियालाई वैज्ञानिक विधि र मापदण्डअनुसार उच्च प्राथमिकताका साथ सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रह री प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीका अनुसार सङ्कलन र परीक्षण कार्यलाई पूर्णतः व्यवस्थित बनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ८ : ५० बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६