काठमाडौं– उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकेपछि उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा बुझाएकी छिन्। उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर पदबाट राजीनामा दिएकी हुन्।
उनी प्रधानमन्त्री वालेन्द्र शाहसँगै २०८२ चैत १३ गते उद्योगमन्त्रीमा नियुक्ति भएकी थिइन्। मन्त्रिपरिषद् बैठक बस्नुअघि नै उनले राजीनामा दिएकी हुन्।
उनको राजीनामा स्वीकृतिसँगै वालेन्द्रले मन्त्रिपरिषद् बैठक राख्न लागेका छन् । प्रधानमन्त्रीले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उक्त मन्त्रिपरिषद् बैठकमा उद्योगमन्त्रीलाई प्रधानमन्त्रीले सचेत गराउने तयारी थियो ।
‘ग्यासको हाहाकार देखिएपछि मन्त्रिपरिषद बैठकमा उहाँलाई सचेत गराउने तयारी थियो। तर उहाँले राजीनामा बुझाउनुभयो’,स्रोतले भन्यो, ‘उहाँलाई यसअघि पनि प्रधानमन्त्रीले एकपटक सचेत गराइसकेको हो। तर चाहेअनुसारको काम गर्न नसकेपछि मार्ग प्रशस्त गरिदिनुभएको हो। उहाँको राजीनामा स्वीकृति हुन्छ।’
एक महिनाभन्दा बढी समयदेखि देशभर ग्यासको हाहाकार छ । ग्यास अभावले विद्यार्थीदेखि श्रमिकको दैनिक अस्तव्यस्त भएको छ। उता काठमाडौंसहित ठूला सहरका होटल-रेस्टुरेन्ट बन्द हुने अवस्थामा छन् । त्यहीकारण मन्त्री यादवको चर्को आलोचना भइरहेको थियो।
बुधबार मात्रै सत्तापक्षकै सांसद पारसमणि गोलालले त उनको राजीनामा नै मागेका थिए। उता राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुली, सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियार, सांसदहरू गणेश कार्की, तोसिसमा कार्की लगायतले काम गर्न नसक्ने मन्त्रीले राजीनामा बुझाएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए ।
बुधबार संसदीय समितिमा विवादास्पद अभिव्यक्ति दिँदै गौरीकुमारीले व्यापारीहरूको पाता कस्ने जानकारी दिएकी थिइन्। त्यसपछाडि उनी अझ विवादमा तानिइन्। बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता कस्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी उनले त्यसको भोलिपल्टै मन्त्रालयबाट झोलागुन्टा कसेर बाटो लाग्नुपरेको छ।
उनको अभिव्यक्तिपछि बिहीबार नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठले बिहीबार नै वक्तव्य निकालेर गम्भीर आपत्ति जनाएका थिए। त्यसअघि बुधबार मन्त्री यादवले उद्योगीलाई ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएपछि ग्यास उद्योगीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा गुनासो गरेका थिए।
उद्योगीको गुनासोपछि वालेन्द्रको सचिवालयले उनीहरूलाई बोलाएर थामथुम गर्ने प्रयास गरेको थियो । तर उद्योगीले मन्त्रीको अभिव्यक्ति नसच्याए ग्यास आपूर्ति ठप्प पारिदिने चेतावनी दिए ।
उद्योगीहरूले मन्त्रीको अभिव्यक्ति नसच्याए ग्यास आपूर्ति रोक्नेसम्मको चेतावनी दिएकै भोलिपल्ट मन्त्रीले सरकारबाट हात धुन बाध्य भएकी छन् । उद्योगीको चेतावनीको मन्त्री यादवले नै पद छाडेर घरतिर लाग्नु परेको छ।
अध्यक्ष श्रेष्ठले बिहीबार वक्तव्य निकालेर मन्त्रीले आफ्नो भनाइ फिर्ता लिनुपर्ने माग राखेका थिए। तर उनले आफ्नो भनाइ फिर्ता नलिई राजीनामा दिएकी हुन् । सरकारी निकायको आपूर्ति प्रणाली प्रभावकारी बनाउन मन्त्रीले चासो नदिएको कुरा यसअगाडि पनि उठेको थियो।
बुधबारको संसदीय समिति बैठकमा त सत्तापक्षकै सांसदहरुले मन्त्री गौरीकुमारीको राजीनामा मागेका थिए। त्यसपछि आवेग आएकी मन्त्रीले उद्योगीको पाता कस्नेसम्मको धम्की दिइन् । तर अहिले आफ्नै उक्त भनाइ उनलाई भारी परेको छ।
एकपटक गराइएको थियो सचेत
मन्त्री गौरी कुमारीलाई यसअगाडि पनि प्रधानमन्त्री वालेन्द्र शाहले सचेत गराएका थिए। मन्त्रिपरिषद बैठक र छुट्टै भेटेर प्रधानमन्त्रीले गौरी कुमारीलाई जिम्मेवारी पूरा गरेर देखाउन नत्र पद छाडेको जानकारी गराउन भनेका थिए।
सरकारले १०० दिन पूरा गरेकै बेला बालेनले मन्त्री गौरीलाई सचेत गराएका थिए । त्यसपछि रास्वपा सभापति रवि लामिछानेले पनि गौरीलाई सचेत गराएका थिए। बजारमा ग्यास अभाव भइरहँदा मन्त्रीले अनुगमनलाई तीव्रता नदिएको र समस्या पहिचान नगरेको भन्दै आफ्नै सांसदहरुले घेरिरहेका थिए ।

भारतबाट पर्याप्त आइरहे पनि ग्यास अभाव भइरहेको छ । उपभोक्ताले अझै पनि समयमा पाउन सकेका छैनन्। तीन दिनसम्म लाइन बस्दा पनि ग्यास नपाएर उपभोक्ताहरू मारमा परेका छन् । यस्तोमा त्यो सबै कुराको जिम्मेवारी लिँदै मन्त्रीको राजीनामा आएको हो ।
गत चैत १३ गते वालेन्द्र नेतृत्वको सरकार गठन भएको ५ महिनामा तीनजना मन्त्रीले राजीनामा दिइसकेका छन्। तर राजीनामा बुझाएका गृहमन्त्री सुधन गुरुङ भने २६ दिनमा पुनर्बहाली भए । अर्कामन्त्री दीपक शाह र गौरीगढी दुईजनाले राजीनामा बुझाइसकेका छन्।
शंकास्पद सम्पत्ति र घरजग्गासमेत जोडेको पाइएपछि छानबिनमा तानिँदा गुरुङले गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि छानबिन गर्न वैशाख ३१ मा पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति बन्यो ।
उक्त समितिले सुधनलाई क्लिन चिट दिइएको बताइयो अनौपचारिक रुपमा । तर भण्डारी नेतृत्वको समितिको प्रतिवेदन बुझेपनि प्रम वालेन्द्रले आजसम्म सार्वजनिक गर्न चाहेका छैनन् । अनौठो त के छ भने सुधनलाई गत जेठ ३० गते गृहमा फर्काएका सुधनले त्यसदिन प्रतिवेदन बुझेका मात्रै थिए ।
प्रतिवेदन बुझेर मन्त्रिपरिषद्मा पेश भएकै दिन सुधन गृहमन्त्री बनाइए। अर्थात्, वालेन्द्रले आफूलाई सत्तासम्म उचालेर ल्याइपुर्याएका आफ्ना हितैषीलाई प्रतिवेन पढ्दै नपढी सफाइ दिएर गृहको बागडोर सुम्पिए । त्यसयता सुधन कहिले रविको त कहिले बालेनको भरासिलो मन्त्री बनेर सरकारमा शक्तिशाली मन्त्रीका रुपमा छन् ।
उता तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदभार सम्हालेको १४ औँ दिनमा २६ चैत २०८२ प्रधानमन्त्री वालेन्द्रले बर्खास्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगको सिफारिसमा प्रधानमन्त्री बालेनले उनलाई पदबाट हटाए । उनीमाथि श्रीमतीलाई सरकारी नियुक्ति दिएको विषयमा वालेन्द्रले स्पष्टीकरण पेश गर्नेसमेत समय दिएनन्। यता गृहमन्त्री गुरुङलाई भने आफैंले च्यापेर छानबिन समितिको प्रतिवेदन बुझेकै दिन अध्ययन नै नगरी गृहमन्त्रीमा बहाल गराए। दीपक र सुधनपछि अब तेस्रो नम्बरमा गौरीकुमारीले पद गुमाएकी छन्।
ग्यास अभाव नै कारण
विगतमा भन्दा बढी नै ग्यास आपूर्ति भए पनि बजारमा अझै हाहाकार छ। सरकारले अनुगमन गर्न सकेको छैन। एउटै व्यक्तिले तीनचार ग्यास सिलिन्डर खरिद गर्दा अभर परेकाले नपाउने समस्या धेरै छ। प्रतिनिधि सभा र संसदीय समितिको बैठकमा पनि सत्ता र प्रतिपक्षी सांसदले ग्यासको कृत्रिम अभाव भएकाले मन्त्रीसहितले निर्मम भएर अनुगमन र कारबाही गर्नुपर्ने माग राखेका थिए ।
तर उद्योगमन्त्री यादवले अनुगमनबाट समस्या पत्ता लगाउन सकेकी थिइनन्। रास्वपाका एक शीर्ष नेता गौरीकुमारीको राजीनामाको मुख्य कारण ग्यासकै समस्या रहेको बताउँछन्।
‘सभापतिज्यूले पनि सकिँदैन भने मार्ग प्रशस्त गर्नुहोला भन्ने सय दिनको कामपछि नै भन्नुभएको हो। अहिलेसम्म समस्या उस्तै रहेपछि दशैँ तिहार लगायतका चाडपर्वमा झन् समस्या आउन सक्छन् । त्यहीकारण उहाँले मार्ग प्रशस्त गर्नुभएको हो’, उनी भन्छन्।












प्रतिक्रिया