रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन  « Khabarhub

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको कामनासहित काठमाडौंको बौद्धनाथ परिसरमा ११ हजार १ सय ११ दीप प्रज्वलन गरिएको छ ।

नेपाल बौद्ध महासंघका अध्यक्ष गेसे थुप्तेन जिन्पा र फाउन्डेसनकी अध्यक्ष तथा संस्थापक चिनियाँ मूलकी जिउमेईले संयुक्त रूपमा मुख्य दीप प्रज्वलन गरेपछि सहभागीहरूले दीपसहित बौद्धनाथ स्तूपको परिक्रमा गर्दै प्रार्थना गरेका थिए।

गेसे जिन्पाले विपद्ले मानिसमा दुःख र क्षति ल्याए पनि एकअर्काप्रतिको करुणा र जिम्मेवारी बोध गराउने धारणा राखे । उनका अनुसार मृतकका लागि प्रार्थना गर्नु मात्र पर्याप्त नभई दुःखलाई सहयोग र सेवामा रूपान्तरण गर्नु नै करुणाको महत्त्वपूर्ण अभ्यास हो।

कार्यक्रममा राखिएका प्रार्थना कार्डमध्ये एक सहभागीले विपदमा गुमाएका २० भन्दा बढी परिवारका सदस्यको नाम लेखेर उनीहरूको सम्झनामा दीप प्रज्वलन गरेका थिए। उक्त दृश्यले सहभागीहरूलाई भावुक बनाएको थियो।

इनलाइट फाउन्डेसनकी अध्यक्ष जिउमेईले विश्व शान्तिको दीप प्रज्वलन अभियान नेपालबाट सुरु गरिएको बताउँदै नेपालमार्फत संसारले एकअर्कालाई पुनः महशुस गर्न सक्ने वातावरण बनाउने उद्देश्य रहेको बताइन्।

उनले भौतिक सहयोग सीमित भए पनि मानिसको मनमा जागृत हुने करुणा र प्रेम असीमित रहेको बताइन् । उनका अनुसार एउटा हृदयमा उज्यालो बाल्दा अर्को हृदयसँगको सम्बन्ध जोडिन्छ ।

फाउन्डेसनले विपद्बाट प्रभावित समुदायलाई राहत सामग्री, आर्थिक सहयोगलगायतका माध्यमबाट सहयोग जारी राख्ने जनाएको छ । संस्थाले विपदपछिको राहतका लागि अन्तर्राष्ट्रिय रेडक्रसलाई समेत आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ ।

इनलाइट फाउन्डेसन, अमेरिकाको पहलमा हिजो साँझ आयोजित ‘नेपाल ग्लोबल पिस ल्याम्प–लाइटिङ एक्सन’ कार्यक्रममा नेपाल पर्यटन बोर्ड, बौद्धनाथ स्तूप विकास समिति, सञ्चार क्षेत्र तथा नेपाली समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो । 

एक हजारभन्दा बढी स्थानीय, बौद्ध समुदायका प्रतिनिधि, विभिन्न क्षेत्रका व्यक्तित्व, विदेशी पर्यटक तथा स्वयंसेवक पनि सहभागी थिए।

साँझ पखको वर्षापछि खुलेको आकाशमा अस्ताउँदै गरेको सूर्यको किरणले बौद्धनाथ स्तूपलाई उज्यालो बनाइरहेका बेला दीप प्रज्वलन सुरु गरिएको थियो । 

स्वयंसेवकहरूले स्तूप परिसरमा दीप, फूल, प्रार्थना कार्ड तथा विभिन्न शान्ति र सद्भावका प्रतीकात्मक आकृति तयार गरेका थिए।

अँध्यारो बढ्दै गएपछि ११ हजार १ सय ११ दीप एकपछि अर्को गर्दै प्रज्वलित हुँदा बौद्धनाथ परिसर दीपको उज्यालोले झिलिमिली बनेको थियो । 

कार्यक्रममा सहभागी नेपाली तथा विदेशीहरूले विपदमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारको शान्ति र नेपालमा शान्तिको कामना गरेका छन् ।

सोही अवसरमा जिउमेईले ‘हृदय सूत्र’को चिनियाँ सुलेखन कलाकृति नेपाल बौद्ध महासंघलाई हस्तान्तरण गरेकी थिइन् । 

आयोजकले उक्त कलाकृतिलाई विभिन्न संस्कृति, करुणा, बुद्धिमत्ता र विश्वशान्तिलाई जोड्ने प्रतीकका रूपमा प्रस्तुत गरेको छ।

लुम्बिनीमा पनि दीप प्रज्वलन

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पनि इनलाइट फाउन्डेसनको टोली र स्थानीय सहभागीहरूले एकै समयमा दीप प्रज्वलन गरेका थिए। बौद्धनाथ र लुम्बिनीमा एकसाथ प्रज्वलित दीपले करुणा, शान्ति र मानव एकताको सन्देश फैलाउने आयोजकको भनाइ छ।

बौद्धनाथमा दीप प्रज्वलनसँगै सुरु भएको अभियानलाई भोलिपल्ट राहत कार्यसँग जोडिएको छ । इनलाइट टोलीले बाढी प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री खरिद गरी आज वितरण गरेको छ ।

विपदपीडित समुदायको सहयोगका लागि रेडक्रसलाई आर्थिक पीडितप्रतिको सहानुभूतिलाई व्यवहारिक सहयोगमा रूपान्तरण गर्ने अभियानका रूपमा अघि बढ्न सम्पन्न कार्यक्रमले सम्बन्धित परिवारप्रति सहयोग गरेको जनाएको छ।

आयोजकले दीप प्रज्वलनलाई केवल धार्मिक वा सांकेतिक कार्यक्रम नभई पीडितप्रतिको सहानुभूतिलाई व्यवहारिक सहयोगमा रूपान्तरण गर्ने अभियानका रूपमा अघि बढाइएको जनाएको छ।

‘एउटा हृदयमा उज्यालो बालौँ, संसार उज्यालो पारौँ’ भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले विपदको पीडामा परेका परिवारप्रति ऐक्यबद्धता र मानवीय करुणाको सन्देश दिएको आयोजकको भनाइ छ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ३ : ३४ बजे

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला