काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा सम्बोधन गर्दै आफ्नै पार्टी नेतृत्वको सरकार र राज्य संयन्त्रको सुस्त कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । संसद बैठकमा बोल्दै उनले निजी क्षेत्रको तीव्र पुनर्निर्माण क्षमताको प्रशंसा गरे भने त्यसको तुलनामा राज्य संयन्त्रको ढिलासुस्तीलाई लिएर कडा आलोचना गरे ।
आफ्नो नियमित यात्राको उदाहरण दिँदै महामन्त्री आचार्यले भदौ २४ गतेको विध्वंसमा खरानी बनेका भाटभटेनीजस्ता व्यापारिक केन्द्रहरू निजी क्षेत्रको सक्रियताका कारण आज थप बलियो र व्यवस्थित रूपमा उठिसकेको बताए ।
निजी क्षेत्रको यस्तो ऊर्जा र तत्परता देख्दा गर्व लाग्ने उल्लेख गर्दै उनले राज्यको मुटु मानिने सिंहदरबारको अवस्था भने अझै उस्तै रहेकोमा चिन्ता व्यक्त गरे । सिंहदरबारको गेटबाट भित्र छिर्दा जलेको सिंहदरबार र गृहमन्त्रालयको संरचना अझै यथास्थितिमा देखिनु व्यवहारिक रूपमा निराशाजनक रहेको उनको भनाइ थियो ।
चालु आर्थिक वर्षको बजेट नयाँ संसद भवनबाटै प्रस्तुत हुने चर्चा भए पनि अझैसम्म अस्थायी भवनबाटै बैठक सञ्चालन गर्नुपरेको तर्फ ध्यानाकर्षण गराउँदै उनले राज्यका प्रमुख निकायहरूको पुनर्निर्माण गतिप्रति प्रश्न उठाए । देशको सार्वभौम संसद र सिंहदरबार जस्ता संवेदनशील क्षेत्रकै निर्माण गति यति धेरै सुस्त हुँदा रसुवा र नुवाकोटका सर्वसाधारण नागरिकले पुनर्निर्माण सही दिशामा अघि बढ्छ भनेर कसरी विश्वास गर्ने भन्दै उनले सरकारलाई प्रश्न गरे ।
सम्बोधनका क्रममा महामन्त्री आचार्यले यस ढिलासुस्तीका पछाडि रहेका नीतिगत र व्यवहारिक कमजोरीहरू तत्काल पत्ता लगाएर पुनर्निर्माणको गतिलाई तीव्र बनाउन सरकारसँग जोडदार माग समेत गरे ।












प्रतिक्रिया