आफ्नै दलका सांसदलाई थर्काउन थालेपछि गृहमन्त्रीविरुद्ध मोर्चाबन्दी, रविसामु पोखियो नेताहरूको आक्रोश « Khabarhub

आफ्नै दलका सांसदलाई थर्काउन थालेपछि गृहमन्त्रीविरुद्ध मोर्चाबन्दी, रविसामु पोखियो नेताहरूको आक्रोश

विगतमा साथ दिएका जेन-जीहरू पनि दुखित



काठमाडौं- गत वर्ष भदौ २३ र २४ को आन्दोलनमा ज्यान गुमाएका जेन-जीहरूलाई सम्झिन मंगलबार आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ अस्वभाविक शैलीमा देखिए । कार्यशैलीमा पनि उनी केन्द्रीय कमान्डमा बस्नेभन्दा कन्टेन्टका लागि दौडिने देखिएको छ।

उनको यो स्वभाव र अस्वभाविक हर्कतले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा तीव्र असन्तुष्टि देखिएको छ। जेन-जीलाई समेत अस्वभाविक लाग्ने विवादित अभिव्यक्ति दिने, अनावश्यक स्टन्टबाजी गर्ने र आफ्नो आलोचना हुँदा प्रतिवादमा उत्रिने उनको शैलीका कारण पार्टीको ठूलो पंक्ति रुस्ट बनिरहेको छ।

भदौ १० गते गएको विनाशकारी भोटेकोशी बाढीपछि पनि उनी केन्द्रीय कमान्डमा बस्ने भन्दा हेलिकप्टर लिएर कुदिरहे । सुरक्षाकर्मीले रातदिन मिहिनेत गरेर बचाएका मानिसको सिलिन्डर बोक्नसमेत उनी पुगे । गृहमन्त्रीको यही कार्यशैलीका कारण प्रधानमन्त्री वालेन्द्र शाहको शुभेच्छाका कारण दोस्रो पटक सरकारमा फर्किएका उनीमाथि प्रश्नको ओइरो लागिरहेको छ।

यस्तोमा रास्वपा नेताहरूले सुधनलाई लिएर प्रधानमन्त्री वालेन्द्र र सभापति रवि लामिछानेले गम्भीरतापूर्वक सोचविचार गर्नुपर्ने नेताहरूले कुरा राखेका छन्। रास्वपा सांसद र नेताहरूले गृहमन्त्रीको शैलीका कारण पार्टीलाई थप क्षति हुने बताइसकेका छन्।

रास्वपा नेताहरू क्रान्तिशिखा धिताल, सुशान्त बौद्धिक, पारसमणि गोलाल, मनिष खनाल, सृष्टि भट्टराई, गणेश पराजुली, जगदीश खरेल, शिवशंकर यादव, पुरुषोत्तम यादव र अमरेशकुमार सिंहलगायतले गृहमन्त्रीको कार्यशैलीप्रति रविसामु असन्तुष्टि व्यक्त गरेका हुन्। उनीहरूमध्ये धेरैले सार्वजनिक रुपमै प्रश्न पनि उठाएका छन् । त्यही प्रश्न उठाउनेलाई उनी फोनदेखि ह्वाट्सएप ग्रुपमा पनि थर्काउउन पछि पर्दैनन्।

कार्यशैलीमा प्रश्न उठाएकै भरमा सुधनले ह्वाट्सएप ग्रुपमा सांसदहरूलाई थर्काउन पनि बाँकी राखेका छैनन्। पछिल्लो समय उनले मंगलबार पत्रकार र दलका नेताहरूलाई समेत चेतावनीको शैलीमा सार्वजनिक मञ्चबाट औँला ठड्याए । विवादित गतिविधि नगर्न सुझाव दिँदा उल्टै प्रतिशोध साँध्न खोजेपछि रास्वपाकै नेताहरूले सभापति लामिछानेसमक्ष कडा आपत्ति जनाएका छन्।

रविसामु असन्तुष्टि पोख्दै नेताहरूले यही शैलीमा अघि बढ्दा पार्टीलाई नै क्षति पुग्ने भएकाले गृहमन्त्रीलाई सुधार्न या उक्त पदमा अन्य व्यक्तिबारे पुनर्विचार गर्न जरूरी रहेको बताइसकेका छन्।

‘गृहमन्त्रीको कार्यशैलीमा हामी पनि खुसी छैनौं। हामीले सभापति लामिछानेलाई जानकारी गराएका छौं। उहाँले प्रधानमन्त्रीसँग कुरा गरेर सचेत गराउनुपर्छ भन्नु भएको छ। पहिला पनि एकपटक उहाँलाई सचेत गराएको हो,’ रास्वपाका एकजना नेताले भने।

अहिले गृहमन्त्रीको रास्वपाका अधिकांश सांसद रुस्ट रहेका उनी बताउँछन् । ‘पार्टीका अधिकांश सांसद गृहमन्त्रीको कार्यशैलीप्रति खुसी हुनुहुन्न। उहाँको स्टन्टबाजी र विवादित कार्यशैलीका कारण पार्टी समस्यमा पर्ने अवस्थामा पुगेको छ। त्यसकारण सँच्चिने कुरामा सच्याउनु जरूरी रहेको शीर्ष नेतालाई भनेका छौँ,’ ती नेताले भने।

भौतिकमन्त्रीको भूमिकामाथि पनि प्रश्न

गृहमन्त्रीसँगै भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललगायतको भूमिकामाथि पनि नेताहरूले प्रश्न उठाएका छन्। लम्साललाई विगतमा प्रधानमन्त्री शाहले नै विभिन्न विषयमा सम्झाइसकेका छन्।

तर पछिल्लो समय लम्सालको भन्दा गृहमन्त्रीको भूमिका बढी विवादित बनेको छ। तर पार्टीभित्र उनीमाथि पनि प्रश्न उठ्न थालेको नेताहरू बताउँछन्। लम्साल काठमाडौंमा कमै बस्छन् । बेलाबेला लङ ड्राइभका गइरहन्छन्। कहीँ पुगेर गाउँ नै सारिदिऊँ भन्छन् त कहीँ काम पूरा हुन लागेको ठेक्का पनि तोड्न निर्देशन दिँदै हिँड्छन्।

सभापति लामिछानेलाई गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका अर्का सांसदले पनि आलोकाँचो प्रवृत्तिले पार्टीलाई कतै नपुर्‍याउने बताउँछन्।

‘गृहमन्त्री युवा हुनुहुन्छ। त्यसकारण युवाको जोशजाँगर अलि कडा हुन सक्छ। यसलाई कन्ट्रोल गर्नुस् भनेर सचेत गराएका छौं। यो कुरा सभापतिज्यूले पनि मनन गर्नुभएको छ,’ ती नेताले भने।

उनले पार्टीका सबै सांसदहरूलाई एउटै डालोमा राखेर हेर्न नमिल्ने भन्दै हरेक नेताले आफ्ना कमजोरी सुधार्नुपर्ने बताए।

‘हाम्रा १८२ मध्ये सबै सांसद ठिकै हुनुहुन्छ भन्ने होइन। हामीले आलोकाँचो प्रवृत्ति सुधार्नुपर्छ। हिजो आशिका तामाङजीको आलोकाँचो व्यवहारका कारण उहाँलाई सम्झाएकै हो। खगेन्द्र सुनारलाई पनि सम्झाई-बुझाई गरेका हौं। त्यसकारण गृहमन्त्रीलाई पनि प्रधानमन्त्री र सभापतिले सम्झाउनुपर्ने आवश्यकता छ,’ उनले भने।

विवादित सुधन

विगतमा विवादास्पद व्यवसायीसँग सेयर कारोबार र अवैध सम्पत्ति आर्जन गरेको आशंकामा गृहमन्त्री गुरुङले राजीनामा दिएर छानबिनको सामना गरेका थिए। तर आफ्नै सरकारको समितिले छानबिन गरे पनि प्रतिवेदन सार्वजनिक नगरी २६ दिनमै प्रधानमन्त्री वालेन्द्रले पुनः गृहमन्त्रीमा ल्याएका थिए।

चैत १३ गते गृहमन्त्री बनेका सुधनले विवादित व्यवसायीसँगको साँठगाँठ गर्दा प्रश्न उठेपछि गत वैशाख ९ गते राजीनामा दिएका थिए । सुधनसँग सुरुवाती अवस्थामै नेताहरू असन्तुष्ट थिए । उनको कार्यशैलीले गृहमन्त्रीको जिम्मेवारी धान्न नसक्ने भन्दै त्यतिबेलै नेताहरूले आलोचना गरे । तर वैशाख ३१ मा उनीबारे पूर्वन्यायाधीश अच्युत भण्डारी नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयनमा नजाँदै वालेन्द्रले फेरि जेठ ३० गते गृहमन्त्रीमा फर्काए।

‘पार्टीका शीर्ष नेतालाई पाखा लगाएर आलोकाँचोलाई गृहमन्त्री बनाउँदा भोलि प्रश्न उठ्छ, समस्या होला भन्ने त जानकारी गराएकै थियौं। तर दुई नेतालाई मिलाउन महत्वपूर्ण भूमिका खेलेको र वालेन्द्रको विश्वासपात्र भएकै कारण जिम्मेवारी दिइयो,’ पार्टीका एक शीर्ष नेताले भने।

रवि र वालेन्द्रलाई मिलाउन महत्वपूर्ण भूमिका खेलेका गुरुङलाई प्रधानमन्त्रीकै इच्छामा गृहमन्त्री बनाइएको थियो । वालेन्द्रको संरक्षण रहेकै कारण गुरुङले गृहमन्त्रीको जिम्मेवारी पाउँदा अन्य नेता ओझेलमा परेको उनीहरूको भनाइ छ। त्यसैले उनको नियुक्ति र भूमिकालाई लिएर पार्टीभित्र संस्थापन पक्षमासमेत असन्तुष्ट छ। रास्वपा संस्थापन पक्षसँगै सुधननकै सहयोगी जेन-जीहरू पनि गृहमन्त्रीको कार्यशैलीबारे तीखो प्रश्न गर्न थालेका छन्।

चरित्र सुधार्न सुझाव

रास्वपा सांसद मनिष खनाल, सृष्टि भट्टराई, रुबिना आचार्य, पुरुषोत्तम यादव, शिवशंकर यादवलगायत जेनजीबाट आएका नेताहरूले पनि गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन्।

शिवशंकरले खबरहबसँगको अन्तर्वार्तामा आलोकाँचो मन्त्रीहरूका कारण सरकार विवादमा रहेकाले आफ्नो कार्यशैली सुधारेर अघि बढ्नुपर्ने बताएका थिए।

‘हामी धेरैजना आन्दोलनबाट सांसद र मन्त्रीमा त पुग्यौं। तर हामीले आफ्नो व्यवहार सुधार्न जरुरी छ। हामीमा युवा जोसजाँगर र आलोकाँचो प्रवृत्ति देखिन्छ। त्यसलाई कन्ट्रोल गर्न सकियो भने पनि धेरै हदसम्म राम्रो हुन्छ। म के भन्न चाहन्छु भने हामी सबैले आफ्नो व्यवहारलाई सुधार गर्नुपर्छ। मैले पनि त्यो गरिराखेको छु,’ उनले भनेका थिए।

आन्दोलनबाटै सांसद बनेका पार्टी सहमहासचिव पुरुषोत्तम यादव पनि गृहमन्त्रीको कार्यशैलीप्रति सन्तुष्ट छैनन्। विगतमा गृहमन्त्रीकै सहयोगमा टिकट पाएर सांसद बनेका नेताहरू पनि उनको कार्यशैलीबाट आजित छन्।

मन्त्रीहरूकै कारण सरकार विवादमा परेकोबारे हामीले रास्वपा प्रवक्ता जगदीश खरेललाई गरेका थियौं। उनले १८२ जना सांसद भएका कारण सबैलाई एउटै डालोमा राखेर हेर्न नमिल्ने बताए।

‘पार्टी र सरकारमा भएका व्यक्तिहरूले इमान्दार भएर आफ्नो काम गर्नुपर्छ। यहाँले भनेजस्तै कार्यशैलीमा पक्कै गडबडी भएको हो, त्यसलाई सुधार्छौँ। यसबारे कुराकानी भएका छन्। हाम्रा मन्त्री र नेताहरूको कार्यशैली सुहाउँदो नभए एक-दुईपटक अवगत गराइन्छ। अवगत गराउँदा नमाने विकल्प खोज्ने दिशामा जानुपर्छ,’ खरेलले भने।

विवादित व्यक्ति पदमा बस्नु हुँदैन

राष्ट्रिय स्वतन्त्र पार्टीलाई यस्तै विवादित गतिविधिका लागि जनताले सरकार चलाउने म्यान्डेट दिएका हुन् भन्ने प्रश्न सांसद अमरेशकुमार सिंहलाई गरेका थियौं।

उनले आफूले भन्नुपर्ने कुरा सदनबाटै भनिरहेको बताए। प्रधानमन्त्री र सभापतिबीच सल्लाह र छलफल गरेर विभिन्न विषयको निष्कर्ष निकाल्नुपर्ने उनले बताए।

‘विवादित व्यक्ति कोही पनि पदमा बसिरहनुपर्छ भन्ने मेरो मान्यता होइन। प्रधानमन्त्री र सभापतिले यो कुरा बुझ्नुहोला। मैले भन्ने कुरा सदनमा भन्छु,’ अमरेशले भने।

‘तपाईंहरूलाई थाहा नै छ त, यो सरकारले पूरै राम्रो गर्‍यो, सरकारका मन्त्रीहरूले साह्रै राम्रो काम गरे, सबै राम्रै भयो, भलै-भलो भयो भन्ने कुरा त मैले कहिल्यै राखेकै छैन नि। म हरेक विषयमा जनताको गुनासोका आधारमा आफ्ना कुरा नडराई राख्ने मान्छे हो,’ उनले भने।

केही समयअघि खबरहबसँगको अन्तर्वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारसमणि गोलालले काम गर्न नसक्ने र आफ्नो भूमिका बिर्सने मन्त्रीहरूले राजीनामा दिनुपर्ने स्पष्ट माग राखेका थिए।

‘सरकारमा रहेका र बाहिर बसेका हरेक व्यक्तिले आफ्नो जिम्मेवारी के हो भन्ने कुरालाई गम्भीरताका साथ हेर्नुपर्छ। यदि पूरा गर्न सकिँदैन भने पदमा बसिरहनु आवश्यक छैन,’ उनले भनेका थिए।

‘मनपरी गर्न म्यान्डेट दिएका होइनौँ’

सडकबाट सरकारलाई खबरदारी गरिरहेका जेन-जी नेता उपार्जुङ राईले सरकारमा बसेका व्यक्तिहरूले खाँदा, हिँड्दा, बोल्दा, बस्दा, संगत गर्दा र सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा विशेष ख्याल गर्नुपर्ने बताएका छन्।

‘पदमा रहनुभएका व्यक्ति सार्वजनिक हुनुहुन्छ। त्यसकारण उहाँहरूको हरेक जीवन सार्वजनिक हुन्छ। आलोकाँचो प्रवृत्तिले राजनीति चल्दैन। त्यसकारण मैले एकजना व्यक्तिलाई किटान गरेको छैन, सिंगो सरकारमाथि नै भनिरहेको छु, सांसदहरूलाई नै भनिरहेको छु। हामीले आफ्नो प्रवृत्ति सच्याऊँ, हामी नै अन्तिम विकल्प हौं भन्ने नठानौं,’ राईले भने।

‘विगत सात महिनाअघि हामीले सरकारलाई मनपरी गर्न, मनपरी बोल्न र मनपरी व्यक्तिहरूलाई संरक्षण गर्न म्यान्डेट दिएको होइन। जनतामा निराशा र छटपटी बढिरहेको छ। सबैले कार्यशैली बदलेर काम गर्नुपर्ने देखिन्छ,’ उनले भने।

जेन-जी अभियन्ता मोनिका निरौला पनि पुराना दललाई गाली गरेर, पत्रकारलाई गाली गरेर र आपराधिक पृष्ठभूमिका व्यक्तिहरूलाई स्टेजमा राखेर ‘म नै ठूलो हुँ’ भन्ने हिसाबले जनताले नयाँ सरकारलाई म्यान्डेट नदिएको बताउँछिन्।

आफूहरूको आन्दोलन पनि यस्तो प्रवृत्ति देखिनका लागि नभएको भन्दै उनले सुध्रिएर अघि नबढे ‘आफ्नै अन्तिम विकल्प’ हो भनेर नसोच्न आग्रह गरिन्।

‘पुराना दललाई गाली गरेर, पुराना व्यक्तिहरूले गरेनन् भनेर मात्रै कसैलाई छुट छैन। पत्रकार र पुराना दललाई गाली गरेर कहीं पनि पुगिँदैन, आफूले राम्रो गर्न सक्नुपर्छ। विवादित व्यक्तिहरूलाई प्रश्रय दिने अनि म नै ठूलो हुँ भन्ने हिसाबले कुरा गर्‍यो भने त पुराना दलभन्दा झन् घामट भइन्छ,’ निरौलाले भनिन्।

‘म चाहिँ यो सरकारप्रति निकै नै निराश छु। यस्तो किसिमको गतिविधि र क्रियाकलाप गर्नका लागि हामीले म्यान्डेट दिएको होइन,’ उनले भनिन्।

विवादित व्यक्ति अतिथि

विगतमा आपराधिक क्रियाकलापमा जोडिएका व्यक्तिहरूलाई अगाडि राखेर जेन-जी सहिद परिवार तथा कल्याणकारी परिषद्को कार्यक्रममा गृहमन्त्री गुरुङ, भौतिक पूर्वाधारमन्त्री लम्साल र कानुनमन्त्री सोविता गौतमसहितका मन्त्री पनि अतिथि थिए।

मंगलबार भएको यो कार्यक्रममा उनीहरूसँगै अतिथिको आसनमा दुई विवादास्पद व्यक्ति आचार्य श्रीनिवास र विजय भण्डारी पनि उपस्थित थिए। धर्मगुरुको आडमा विगतमा आपराधिक र विवादास्पद गतिविधिमा जोडिएका दुई पात्रलाई अगाडि राखेर गृहमन्त्री गुरुङले केही पत्रकार र दलका नेतामाथि आक्रोश पोखेका थिए।

उनले धेरैजना पत्रकारले राम्रो लेखेको भए पनि केही पत्रकार सुध्रिन आवश्यक रहेको बताएका थिए। यति मात्र होइन, उनले पुराना दलका नेताहरूलाई ‘ठेगान लगाउने’ भन्दै कड्किएका थिए। त्यसपछि गृहमन्त्रीको कार्यशैलीलाई लिएर पार्टीभित्र नेताहरूको असन्तुष्टि थप चुलिएको हो।

अनि खनिए गुरुङ

गुरुङको भनाइ र कार्यशैलीलाई लिएर पार्टी सचेतक क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमा जेन-जीको अपमान हुने गरी पार्टी र सरकारका व्यक्तिबाट गतिविधि भइरहेको आशयमा आलोचना गरेकी थिइन्।

त्यसलगत्तै गृहमन्त्री गुरुङले सामाजिक सञ्जालको जेन-जी ह्वाट्सएप ग्रुपमा धिताललाई लक्षित गर्दै प्रतिक्रिया दिएका थिए। त्यसपछि केही समय गृहमन्त्री र क्रान्तिशिखाबीच सवाल-जवाफ भएको थियो।

त्यसमा अन्य सांसदहरूले पनि गृहमन्त्री र धिताल एकपटक बसेर समस्या समाधान गर्नुपर्ने सुझाव दिएका थिए।

नेताहरूलाई रविको आश्वासन

गृहमन्त्री गुरुङ भदौ १० गते नेपाल-चीन सीमास्थित रसुवागढीमा गएको पहिरोका कारण प्रभावित क्षेत्रमा पुगेपछि पनि आलोचित भएका थिए।

सुरुङमा फसेका व्यक्तिहरूलाई उद्धार गर्न भन्दै आफैं माटो कोट्याएको र उद्धार भइसकेका व्यक्तिहरूलाई सिलिन्डर बोकेर गाडीमा लगिरहेकोलगायत गतिविधि गुरुङले गरेका थिए।

आफैं फिल्डमा खटेर काम गरेको देखाउने प्रयास गर्दै स्टन्टबाजी गरेको आरोप प्रतिपक्षीले लगाएपछि गृहमन्त्री गुरुङ आक्रोशित भएका थिए।

नीति बनाउने जिम्मेवारीमा रहेका व्यक्तिले तत्काल उद्धारका लागि आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेमा आफैं फिल्डमा पुगेर अनावश्यक स्टन्टबाजी गरेको आरोप उनीमाथि लागेको थियो। त्यसको जवाफमा उनले आफू फिल्डमै खटेर काम गरेको बताएका थिए।

त्यही विषयमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र तीव्र असन्तुष्टि रहेको नेताहरू बताउँछन्। यसअघि गृहमन्त्री गुरुङले प्रहरी युनिटलाई थर्काएको, उनीहरूलाई भेट्न जाँदा मानमर्दन हुने गरीको टी–सर्ट लगाएको लगायत आरोप खेप्दै आएका छन्।

अनावश्यक रूपमा तीनवटै सुरक्षा अंगका व्यक्तिलाई दुःख दिएको भन्दै गृहमन्त्रीको स्वभावप्रति सुरक्षा निकायका प्रमुखहरू पनि सन्तुष्ट छैनन्। सुरक्षा निकायका प्रमुखहरू गृहमन्त्रीसँग असन्तुष्ट भएपछि पार्टी सभापति रवि र वालेन्द्रले उनलाई सम्झाएका थिए।

यसपटक पनि विवाद सिर्जना भएपछि रविले नेताहरूलाई आफूले गृहमन्त्रीको विषयमा बसेर कुरा गर्ने जानकारी दिएका छन्। ‘तपाईंहरूले भनेको कुरामा म गम्भीर छु। एकपटक प्रधानमन्त्रीसँग पनि कुरा गर्छु। उहाँले जानीजानी गर्नुभएको होइन होला। अनजानमा भएको भए एकपटक कुरा गरौंला। म प्रधानमन्त्रीज्यूलाई पनि भेटेर कुरा गर्छु,’ रविको आश्वासनबारे एक सांसदले भने ।

उनका अनुसार पार्टी रवि पनि गृहमन्त्रीसँग सन्तुष्ट छैनन्। ‘पार्टी सभापति पनि गृहमन्त्रीसँग खुसी हुनुहुन्न। उहाँले कार्यशैली सुधार्नुपर्छ भन्ने पक्षमै हुनुहुन्छ। प्रधानमन्त्री र उहाँ बसेर एकपटक गम्भीर ढंगले सम्झाउने कुरा भएको छ। हामीले प्रतिक्षा गरिरहेका छौं,’ ती सांसदले भने।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ६ : ३४ बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट