काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गरी राज्यका तर्फबाट भ्रम फैलाउने काम भइरहेको आरोप लगाएका छन् । उनले थापाविरुद्ध भइरहेका प्रचारबाजी र गतिविधिको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कँडेलले राजनीतिक प्रतिस्पर्धालाई प्रतिशोधमा बदल्ने, राज्यशक्तिको दुरुपयोग गर्ने तथा सामाजिक सञ्जालमार्फत भ्रम र चरित्रहत्या गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि स्वीकार्य नहुने बताएका छन् ।
उनले पछिल्लो समय थापालाई लक्षित गरी सरकारका तर्फबाट गतिविधि भइरहेको र सामाजिक सञ्जालमा विभिन्न प्रकारका प्रचारबाजी भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । सरकारको ध्यान सुशासन, विकास र जनताको जीवनस्तर सुधार्नुभन्दा राजनीतिक नेतृत्वलाई कमजोर बनाउने प्रचारमा केन्द्रित भएको हो कि भन्ने आशंका उत्पन्न भएको उनको भनाइ छ ।
कँडेलले कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीको पुस्तान्तरण, रूपान्तरण र पुनर्जागरणको महत्वपूर्ण प्रस्थानबिन्दुका रूपमा व्याख्या गरेका छन् ।
महाधिवेशनमा ७० प्रतिशतभन्दा बढी युवा प्रतिनिधिको सहभागिता रहेको उल्लेख गर्दै उनले विभिन्न पेसा, समुदाय र भूगोलको प्रतिनिधित्व गर्दै नयाँ पुस्ता पार्टी नेतृत्वमा स्थापित भएको बताएका छन् ।
लोकतन्त्रमा राजनीतिक प्रतिस्पर्धा स्वाभाविक प्रक्रिया हो। विचार, सिद्धान्त, नीति र कार्यक्रमका आधारमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर राजनीतिक प्रतिस्पर्धालाई प्रतिशोधमा बदल्ने, राज्यशक्तिको दुरुपयोग गर्ने र सामाजिक सञ्जाललाई भ्रम तथा चरित्रहत्याको माध्यम बनाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक व्यवस्थाका लागि स्वीकार्य हुन सक्दैन।
पछिल्लो समय नेपाली कांग्रेसका सभापति आदरणीय गगनकुमार थापालाई लक्षित गरी सरकारका तर्फबाट भइरहेका गतिविधि, मिडिया ट्रायल तथा सामाजिक सञ्जालमा फैलाइएका विभिन्न प्रकारका प्रचारबाजीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। घटनाक्रमलाई नजिकबाट नियाल्दा सरकारको ध्यान सुशासन, विकास र जनताको जीवनस्तर परिवर्तनमा भन्दा राजनीतिक नेतृत्वलाई कमजोर बनाउने प्रचारमा केन्द्रित भएको त होइन भन्ने गम्भीर आशंका उत्पन्न भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्र जुन ऐतिहासिक परिवर्तन र नयाँ नेतृत्व स्थापित गरेको छ, त्यसबाट सत्तापक्ष आत्तिएको र हतास भएको देखिन्छ। यो महाधिवेशन केवल नेतृत्व परिवर्तनको नियमित प्रक्रिया थिएन, पार्टीको पुस्तान्तरण, रूपान्तरण र पुनर्जागरणको महत्वपूर्ण प्रस्थानबिन्दु थियो।
महाधिवेशनमा ७० प्रतिशतभन्दा बढी युवा प्रतिनिधिको प्रभावशाली सहभागिता रह्यो। डाक्टर, इन्जिनियर, प्राध्यापक, विद्यार्थी, उद्यमी तथा समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरू पार्टीको नेतृत्व तहमा स्थापित भए। महिला, दलित, जनजाति, मधेसी, पिछडिएको क्षेत्र र भूगोलको समेत अभूतपूर्व प्रतिनिधित्व भयो। वडा तहदेखि केन्द्रसम्म नयाँ पुस्ताले आफ्नो उपस्थिति र हस्तक्षेप स्थापित गरेको छ। यो नेपाली कांग्रेसभित्रको मात्र परिवर्तन होइन, समग्र राष्ट्रिय राजनीतिका लागि एउटा महत्वपूर्ण सन्देश पनि हो।
विशेष महाधिवेशनबाट नेतृत्वमा आउनुभएका आदरणीय सभापति गगनकुमार थापा लामो समयदेखि राजनीतिक नेतृत्वमा युवा पुस्ताको हस्तक्षेप हुनुपर्छ भन्ने विचारको पक्षमा दृढतापूर्वक उभिँदै आउनुभएको व्यक्ति हुनुहुन्छ। उहाँले पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमै युवाले नेतृत्व लिनुपर्छ, पुरानो राजनीतिक सोच र कार्यशैली बदलिनुपर्छ भन्ने चेतना फैलाउँदै आउनुभएको छ। त्यही विचार र परिवर्तनको बहसको जगमा नयाँ राजनीतिक शक्तिहरूको उदय भएको हो। आज ती शक्तिहरू सत्तासम्म पुगेका छन्।
विडम्बना, जुन राजनीतिक चेतना र परिवर्तनको बहसले नयाँ राजनीतिक शक्तिहरूको उदयका लागि आधार तयार गर्यो, आज त्यही विचारको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसको नेतृत्वमा पुग्नुभएका गगनकुमार थापालाई कमजोर बनाउने प्रयास भइरहेको छ।
नेपाली कांग्रेस कुनै सामान्य राजनीतिक संगठन होइन। यो नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको ऐतिहासिक पार्टी हो। लाखौँ कार्यकर्ताको त्याग, संघर्ष र बलिदानसँग जोडिएको पार्टी हो। बहुमतमा नरहँदा पनि राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्ति रहँदै आएको कांग्रेस आज नयाँ नेतृत्व, नयाँ ऊर्जा र नयाँ आशासहित अघि बढिरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित यो पार्टीप्रति आम नागरिकको भरोसा फेरि बढ्दै गएको छ। अब यही नेतृत्वले देशलाई नयाँ दिशामा लैजान सक्छ भन्ने विश्वास जनतामा विस्तार हुँदै गएको छ।
सायद यही सम्भावनाले सत्तापक्षलाई असहज बनाएको छ। अन्य दलभन्दा नेपाली कांग्रेस नै भविष्यमा राजनीतिक हस्तक्षेप गर्न सक्ने र ठूलो राष्ट्रिय शक्तिका रूपमा पुनः स्थापित हुन सक्ने सम्भावनाबाट सत्तापक्ष चिन्तित भएको हो कि भन्ने प्रश्न उठ्नु स्वाभाविक छ। तर राजनीतिक प्रतिस्पर्धाबाट डराएर राज्यका संयन्त्र प्रयोग गरी भ्रम फैलाउने प्रयास गर्नु लोकतान्त्रिक चरित्र होइन। गगनकुमार थापाविरुद्ध राज्यका संयन्त्र नै परिचालन गरेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको हो भने त्यो राज्यकै लागि दुर्भाग्यपूर्ण विषय हो।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा व्यक्त गरिरहेका टिप्पणी, अभिव्यक्ति र प्रचारबाजीले राजनीतिक संस्कारलाई बलियो बनाउँदैन। विचारमा असहमति राख्न पाइन्छ, नेतृत्वको आलोचना गर्न पाइन्छ, राजनीतिक दलका कामको समीक्षा गर्न पाइन्छ। तर त्यसको नाममा चरित्रहत्या गर्ने, अप्रमाणित आरोप फैलाउने र सामाजिक सद्भाव बिगार्ने काम उचित हुन सक्दैन। यस्तो व्यवहारले अन्ततः राजनीतिक सहिष्णुता र लोकतान्त्रिक संस्कारलाई नै कमजोर बनाउँछ।
म स्पष्ट रूपमा भन्न चाहन्छु, नेपाली कांग्रेस कुनै व्यक्तिको इच्छाले बनेको र चलेको पार्टी होइन। यो नेपालको संविधानप्रदत्त अधिकार र लोकतान्त्रिक अभ्यासका आधारमा स्थापित, विधि र विधानअनुसार सञ्चालन हुँदै आएको ऐतिहासिक राजनीतिक दल हो। यस पार्टीप्रति लाखौँ कार्यकर्ताको आस्था, विश्वास र प्रतिबद्धता जोडिएको छ। लोकतान्त्रिक समाजवाद, सामाजिक न्याय, समुन्नत नेपाल र सम्मानित नेपालीको सपना बोकेर नेपाली कांग्रेस आज पनि जनताको बीचमा उभिएको छ।
यस सन्दर्भमा नेपाली कांग्रेसका सभापति आदरणीय गगनकुमार थापाले संसदमा व्यक्त गर्नुभएको विचार हामी सबैले गम्भीरतापूर्वक मनन गर्न आवश्यक छ। उहाँले भन्नुभएको छ, ‘कांग्रेसलाई समर्थन गर्ने होस् वा आलोचना गर्ने, घण्टीमा मतदान गर्ने होस् वा रुखमा मत दिने, हँसिया हथौडा बोक्ने होस् वा घाममा उभिने होस्—कानुनभन्दा माथि कोही पनि छैन।’
यो लोकतन्त्रको आधारभूत मान्यता हो। कानुन सबैका लागि समान हुनुपर्छ। कसैले गल्ती गरेको छ भने निष्पक्ष, स्वतन्त्र र पूर्वाग्रहरहित छानबिन हुनुपर्छ। दोषी देखिए कानुनअनुसार कारबाही हुनुपर्छ। नेपाली कांग्रेस कुनै पनि प्रकारको छानबिनबाट भाग्ने पार्टी होइन। हामी विधिको शासनमा विश्वास गर्छौँ र कानुनको सर्वोच्चतालाई सम्मान गर्छौँ।
तर मेरो प्रश्न छ—छानबिनको नाममा राजनीतिक पूर्वाग्रह राख्ने, मिडिया ट्रायल गर्ने, सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने र राजनीतिक नेतृत्वलाई हतोत्साहित गर्ने अधिकार कसलाई छरु अनुसन्धानको निष्कर्ष आउनुअघि नै कसैलाई दोषी करार गर्ने र राज्यका निकायलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यम बनाउने छुट कसैलाई छैन।
कांग्रेसका नेताहरूलाई साइबर ब्युरोमा बोलाउनेदेखि पार्टी सभापतिलाई लक्षित गरेर सार्वजनिक रूपमा प्रचारबाजी गर्ने गतिविधिले सरकारको नियतमाथि नै प्रश्न उठाएको छ। अनुसन्धान गर्ने निकायले आफ्नो संवैधानिक र कानुनी सीमाभित्र रहेर काम गर्नुपर्छ। राज्यका निकाय कुनै राजनीतिक दल वा व्यक्तिका निजी स्वार्थ पूरा गर्ने साधन बन्नु हुँदैन।
म सरकारलाई स्पष्ट रूपमा भन्न चाहन्छु—राजनीतिक प्रतिशोधको बाटो छाड्नुहोस्। सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने, मिडिया ट्रायल गर्ने र राजनीतिक नेतृत्वलाई बदनाम गर्ने गतिविधि तत्काल बन्द गर्नुहोस्। आरोप छन् भने निष्पक्ष छानबिन गर्नुहोस्। प्रमाण छन् भने कानुनी प्रक्रिया अघि बढाउनुहोस्। तर राज्यशक्तिको आडमा कसैको राजनीतिक भविष्य समाप्त पार्ने वा जनताको नजरमा भ्रम सिर्जना गर्ने काम नगर्नुहोस्। म यस्ता हतकण्डाको घोर निन्दा गर्दछु र सरकारको कार्यशैलीप्रति खेद व्यक्त गर्दछु।
आज देशले सामाजिक सञ्जालमा एकअर्कालाई गाली गर्ने, आरोप लगाउने र अफवाह फैलाउने सरकार खोजेको होइन। देशले परिणाम दिने सरकार खोजेको हो। देशका कुनाकाप्चामा बाँझो रहेका खेतबारी जोत्ने वातावरण बनाउनुहोस्। विदेश पलायन भइरहेका युवालाई स्वदेशमै उद्यमशीलतासँग जोड्नुहोस्। उत्पादन र रोजगारी बढाउनुहोस्। किसानको उत्पादनले बजार पाउने व्यवस्था गर्नुहोस्। उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउनुहोस्। जनताको जीवनस्तर सुधार्ने काममा आफ्नो सम्पूर्ण ऊर्जा लगाउनुहोस्।
आज तपाईंहरू जुन राजनीतिक तथा संवैधानिक व्यवस्थाभित्र रहेर सत्ता सञ्चालन गरिरहनुभएको छ, त्यसको जग नेपाली कांग्रेसका अग्रजहरूको त्याग, संघर्ष र बलिदानले निर्माण भएको हो। आदरणीय बीपी कोइरालाको दूरदर्शी सोच, गणेशमान सिंहको त्याग, किसुनजीको निष्ठा र सुवर्णशमशेरको उदारतालाई हामीले बिर्सन मिल्दैन। उहाँहरूले लोकतन्त्रका लागि गर्नुभएको संघर्षकै परिणामस्वरूप आज हामीले स्वतन्त्र रूपमा बोल्न, लेख्न र राजनीतिक गतिविधि गर्न पाएका छौँ।
इतिहासको सम्मान गर्नु भनेको कुनै दलको प्रशंसा गर्नु मात्र होइन, लोकतन्त्रका लागि भएका संघर्ष र प्राप्त उपलब्धिको सम्मान गर्नु हो। त्यसैले इतिहासबाट पाठ सिक्दै प्राप्त राजनीतिक उपलब्धिको सही सदुपयोग गर्न म सरकारलाई आग्रह गर्दछु।
हामी सरकारका राम्रा कामको खुलेर समर्थन गर्छौँ। जनताको हितविपरीत हुने गलत कामको दृढतापूर्वक प्रतिवाद गर्छौँ। सरकारको विरोध गर्नु हाम्रो बाध्यता होइन। लोकतन्त्रमा गलत कामको आलोचना गर्नु हाम्रो अधिकार र जिम्मेवारी हो। सत्तापक्षले आलोचनालाई शत्रुता ठान्नु हुँदैन। आलोचनाले सरकारलाई सच्याउने अवसर दिन्छ। प्रश्न गर्ने आवाजलाई दबाएर होइन, प्रश्नको जवाफ दिएर मात्रै लोकतन्त्र बलियो हुन्छ।
अहिले देशले खोजेको आवश्यकता राजनीतिक प्रतिशोध होइन, राष्ट्रिय एकता र आर्थिक रूपान्तरण हो। युवालाई देशमै भविष्य देखाउन सक्ने वातावरण निर्माण गर्नु हो। कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार र उद्यमशीलताको क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्नु हो। जनतामा राज्यप्रति विश्वास जगाउनु हो।
देश विकास फेसबुकको स्टाटसले होइन, कर्मले हुन्छ। अफवाहले होइन, उत्पादनले हुन्छ। आरोपले होइन, परिणामले हुन्छ। सामाजिक सञ्जालमा कसैलाई गाली गरेर, कसैको चरित्रहत्या गरेर वा राजनीतिक प्रतिस्पर्धीलाई कमजोर बनाएर मुलुक समृद्ध बन्दैन। देश निर्माणमा पसिना बगाउने कर्मशील नेपालीको सम्मान गर्न सिकौँ। राजनीतिक आस्थाका आधारमा कसैको योगदानको अवमूल्यन नगरौँ। सामाजिक सञ्जाललाई घृणा र भ्रम फैलाउने माध्यम होइन, सकारात्मक परिवर्तनको माध्यम बनाऔँ।
नेपाली कांग्रेसका तमाम नेता, कार्यकर्ता र समर्थक आज पनि सम्मानित नेपाली र समुन्नत नेपाल निर्माणको अभियानमा प्रतिबद्ध छन्। हामी लोकतन्त्रको रक्षा गर्न, जनताको आवाज उठाउन र सामाजिक रूपान्तरणका लागि निरन्तर क्रियाशील रहनेछौँ। कुनै पनि प्रकारको राजनीतिक दबाब, प्रतिशोध वा प्रचारबाजीले हाम्रो लोकतान्त्रिक प्रतिबद्धतालाई कमजोर बनाउन सक्दैन।
अन्त्यमा, सरकारलाई मेरो हार्दिक आग्रह छ—मिडिया ट्रायल बन्द गर्नुहोस्, राज्यका निकायलाई निष्पक्ष र स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउनुहोस्, आरोपमाथि पूर्वाग्रहरहित छानबिन गर्नुहोस् र जनताको जीवन परिवर्तन गर्ने काममा आफ्नो सम्पूर्ण शक्ति लगाउनुहोस्।
लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्छ, तर सरकारभन्दा शक्तिशाली संविधान र कानुन हुन्छ। राजनीतिक नेतृत्वभन्दा ठूलो जनताको विश्वास हुन्छ। र कुनै पनि सरकारभन्दा महत्वपूर्ण राष्ट्र र लोकतान्त्रिक व्यवस्था हुन्छ।














प्रतिक्रिया