वीरगन्ज- प्रहरीले पर्सा जिल्लाका विभिन्न स्थानबाट चार दिनको अवधिमा करिब तीन लाख ५० हजार रुपैयाँ बराबरका पटाका तथा आतिशबाजीजन्य पदार्थ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी टोलीले कात्तिक २१ गतेदेखि हालसम्म विभिन्न स्थानबाट खुर्सानी पटाका, चक्र, फुलझरी, रकेट पटाका, आलु बम र झिरझिरेलगायतका विस्फोटकजन्य पदार्थ नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पटाका तथा आतिशबाजीजन्य पदार्थ विस्फोटक पदार्थअन्तर्गत पर्ने भएकाले कानुनले यसको उत्पादन, भण्डारण, बिक्रीवितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाएको छ ।
उनले पटाका पड्काउँदा आगलागी, जनधनको क्षति तथा वातावरण प्रदूषणजस्ता जोखिम हुने भएकाले यस्ता पदार्थको कारोबार र प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । साथै बालबालिकालाई यस्ता विस्फोटक पदार्थबाट टाढा राखी सुरक्षित रूपमा चाडपर्व मनाउन प्रहरीले अनुरोध गरेको छ ।
पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा सोमबार पटाका पड्काउने क्रममा छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको थियो । उक्त घटनापछि प्रहरीले जिल्लामा पटाकाको ओसारपसार, बिक्रीवितरण र प्रयोग नियन्त्रणमा थप कडाइ गरेको जनाएको छ ।
सीमावर्ती क्षेत्रमा हुने पटाकाको अवैध कारोबार नियन्त्रण गर्न प्रहरी गस्ती र निगरानीसमेत बढाइएको छ । प्रहरीले यसअघि असोज २६ गते नै चाडपर्वका बेला पटाका तथा विस्फोटकजन्य सामग्रीबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको थियो ।













प्रतिक्रिया