भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोधमा उत्रिए एमाले अध्यक्ष ओली « Khabarhub

भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोधमा उत्रिए एमाले अध्यक्ष ओली


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा विश्व राजनीतिका पछिल्ला घटनाक्रमबारे पार्टीको दृष्टिकोण प्रस्तुत गरेका छन् । केन्द्रीय कमिटीको दोस्रो बैठकलाई शनिबार सम्बोधनका क्रममा उनले असुरक्षा, हस्तक्षेप र अत्याचारविरुद्ध एमालेको स्थिर नीतिको व्याख्या गरेका छन् ।

ओलीले विश्व राजनीति अस्थिर, जोखिमपूर्ण र पूर्वानुमान गर्न कठिन बन्दै गएको बताए। नियममा आधारित अन्तर्राष्ट्रिय प्रणाली कमजोर हुँदै गएको, बहुपक्षीयता क्षीण भएको र शक्ति राष्ट्रबीच अस्वस्थ प्रतिस्पर्धा बढेको उनको निष्कर्ष थियो। हाल देखिएका घटनाहरूको उदाहरण दिँदै उनले सार्वभौम राष्ट्रका नेतामाथि हत्या धम्की, अपहरण, आतङ्कवादी आक्रमण, निर्दोष नागरिकको नरसंहार, कृत्रिम बौद्धिकता र सूचना प्रविधिको सामरिक प्रयोग तथा जलवायु सङ्कटले मानव अस्तित्वमै गम्भीर चुनौती थपेको बताए।

एमालेको नीति स्वतन्त्र परराष्ट्र नीति, सन्तुलित बाह्य सम्बन्ध, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षण, अहस्तक्षेप र सहअस्तित्व प्रवर्द्धनमा आधारित रहेको ओलीले दोहोर्याए। उनले अतिवाद, कट्टरपन्थ, संरक्षणवाद र पथभ्रष्ट राजनीतिको पार्टीले निरन्तर विरोध गर्दै आएको उल्लेख गरे। ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ नै नेपालको परराष्ट्र नीतिको मूल मान्यता भएको भन्दै कुनै मुद्दा वा विचारधाराले राष्ट्रहरूबीच ध्रुवीकरण वा विभाजनको आधार बन्न नहुने उनले स्पष्ट पारे।

अन्तर्राष्ट्रिय विवादहरू संवाद र कूटनीतिक पहलमार्फत शान्तिपूर्ण रूपमा समाधान हुनुपर्नेमा उनले जोड दिए। ओलीले हालै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणमा लिनु र अमेरिका प्रक्रियामा मुद्दा चलाउनु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशील सिद्धान्तविपरीत भएको भन्दै त्यसप्रति पार्टीको विरोध जनाए।

यस्तै, युक्रेनको भौगोलिक अखण्डतासम्बन्धी विषय, ग्रिनल्याण्ड नियन्त्रणका प्रयास तथा गाजा–वेस्ट ब्याङ्कमा प्यालेस्टिनी जनतामाथि भइरहेको ज्यादतीप्रति गहिरो आपत्ति व्यक्त गरे। अल्पसंख्यक समुदायमाथि भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त गर्दै उनले बङ्गलादेशको अवस्था सुधारतर्फ ध्यानाकर्षण गराइएको उल्लेख गरे। यसका साथै, म्यान्मारमा लोकतन्त्र शीघ्र बहाल हुनुपर्ने माग पनि बैठकमा उठाए।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : २७ बजे

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी

बहुमत महाधिवेशन प्रतिनिधि जहाँ हुन्छन्, त्यहीँ हुन्छ नेता : नेता आचार्य

काठमाडौं– नेपाली कांग्रेसका नेता महेश आचार्यले बहुमत महाधिवेशन प्रतिनिधि भएको

इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु

इस्लामाबाद– पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि