रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ? « Khabarhub

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

सरकारको शासकीय सुधारमा अटाएन स्वास्थ्य बिमा


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । आधुनिक प्रविधिको प्रयोगसँगै जटिल रोगको उपचार सहज बन्दै गएको छ भने शिशु तथा मातृ मृत्युदरमा उल्लेख्य कमी आएको छ ।

बाल मृत्युदर घट्नु पनि यस क्षेत्रको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । तर यी सकारात्मक उपलब्धिका बाबजुद स्वास्थ्य सेवा अझै सबै नागरिकको पहुँचमा पुग्न सकेको छैन ।

विशेष गरी ग्रामीण भेगमा बसोबास गर्ने महिला अझै पनि प्रसूति सेवाको अभावमा बाटोमै सुत्केरी हुन बाध्य छन् । स्वास्थ्य सेवामा सहज पहुँच नहुनु, जनचेतनाको कमी, बालविवाहजस्ता सामाजिक समस्याले गर्दा अझै पनि कतिपय आमाले ज्यान गुमाउनुपरेको अवस्था कायमै छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको ‘एक स्थानीय तह एक अस्पताल’ निर्माण कार्यक्रमसमेत वर्षौँसम्म अधुरै रहेको छ । त्यस्तै स्वास्थ्य बिमा कार्यक्रम अस्तव्यस्त अवस्थामा पुगेको छ । नसर्ने रोग महामारीका रूपमा फैलिरहेको अवस्था छ ।

राजनीतिक अस्थिरता र स्थायी सरकारको अभावले स्वास्थ्य पूर्वाधार विकासका धेरै योजना प्रभावित भएका छन् ।

चालु आर्थिक वर्षको सात महिनामै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व तीन पटक परिवर्तन भएको छ । यस अवधिमा प्रदीप पौडेल, डा. सुधा शर्मा र निसा मेहताले मन्त्रालयको नेतृत्व सम्हालेका छन् । नेतृत्वमा बारम्बार हुने परिवर्तनले नीति निरन्तरतामा असर पारेको स्वास्थ्य क्षेत्रका विज्ञ बताउँछन् ।

विज्ञका अनुसार वर्तमान सरकार दुई तिहाइ बहुमतका साथ गठन भएकाले पटक-पटक नेतृत्व फेरिरहनुनपर्ने र केही नीति नियमहरू संशोधन गर्न बाधा नहुने हुँदा विगतमा हुन नसकेका कामहरू गर्ने ठुलो अवसर छ ।

निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी गरेको वाचापत्रमा स्वास्थ्यका ६ वटा बुँदा समेटेको थियो । जसमा स्वास्थ्य बिमा सुधारदेखि जलन उपचार कोष स्थापना गर्ने सम्मका वाचा गरेको थियो ।

निर्वाचन परिणाममा रास्वपा दुईतिहाइ बहुमतका साथ पहिलो पार्टी बन्यो र रास्वपाको एकल सरकार गठन भयो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मुलुकको शासकीय सुधारका लागि भन्दै १०० बुँदे कार्यसूची बनायो ।

तर त्यो कार्यसूचीमा रास्वपाले निर्वाचनका बेला आफैँले गरेको बाचा भुल्यो । चुनावी वाचापत्रमा तेस्रो प्राथमिकतामा राखेको स्वास्थ्य बिमा कार्यक्रमलाई कार्यसूचीमा स्थान नै दिएन ।

वाचापत्र र शासकीय सुधार कार्यसूचीमा के छ फरक ?

स्वास्थ्य क्षेत्र सुधारका विषयमा राजनीतिक वाचापत्रमा गरिएका प्रतिबद्धता र सरकारले अघि सारेको शासकीय सुधार कार्यसूचीबीच धेरै बुँदामा समानता देखिए पनि केही महत्त्वपूर्ण पक्षमा स्पष्ट भिन्नता देखिएको छ ।

वाचापत्र र शासकीय सुधार कार्यसूची दुवैले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेका छन् ।

वाचापत्रमा आधारभूत स्वास्थ्य सेवामा ‘न्यूनतम मापदण्ड’ लागू गर्दै आवश्यक जनशक्ति, औषधि, उपकरण र पूर्वाधार सुनिश्चित गर्ने उल्लेख छ । त्यस्तै, शासकीय सुधार कार्यसूचीमा पनि सरकारी अस्पतालमा सरसफाइ, स्वास्थ्यकर्मीको उपस्थिति, व्यवहार र सेवा प्रवाहलाई मापदण्डअनुसार व्यवस्थित गर्ने योजना अघि सारिएको छ ।

विपन्न तथा असहाय नागरिकलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विषयमा पनि दुवै पक्षबीच समानता देखिन्छ । कार्यसूचीले सरकारी तथा निजी अस्पतालमा कम्तीमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्था लागू गर्ने भनेको छ भने वाचापत्रले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा ल्याउने लक्ष्य लिएको छ ।

डिजिटल प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा सुधार गर्ने विषय पनि दुवैमा साझा देखिन्छ । कार्यसूचीले ‘फ्री हेल्थ पोर्टल’ र डिजिटल बिरामी अभिलेख प्रणाली लागू गर्ने उल्लेख गरेको छ भने वाचापत्रले एकीकृत स्वास्थ्य सेवा मोडेल विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

औषधिको सहज उपलब्धता र मूल्य नियन्त्रणमा पनि समान दृष्टिकोण देखिन्छ । कार्यसूचीअन्तर्गत ‘सुलभ फार्मेसी’ सञ्चालन गरी जेनेरिक औषधि सस्तो मूल्यमा उपलब्ध गराउने योजना छ भने वाचापत्रले पनि सबै नागरिकलाई उपचार र औषधिमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

तर केही महत्त्वपूर्ण पक्षमा भने भिन्नता देखिएको छ । वाचापत्रमा स्वास्थ्य बिमा कार्यक्रमलाई सुदृढ बनाउँदै मानसिक स्वास्थ्यसमेत समेटिने गरी एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने उल्लेख भए पनि कार्यसूचीमा यसबारे उल्लेख गरिएको छैन ।

त्यसैगरी, वाचापत्रले क्यान्सरलगायत नसर्ने रोगको रोकथामलाई प्राथमिकता दिने दीर्घकालीन रणनीति अघि सारेको छ । तर कार्यसूची भने तत्काल देखिने सेवा सुधार, व्यवस्थापन र अनुगमनमा केन्द्रित भएको पाइएको छ ।

अपाङ्गता भएका व्यक्तिका लागि प्रदेशस्तरमा विशिष्ट पुनस्र्थापना केन्द्र स्थापना गर्ने, प्रोस्थेटिक्स, फिजियोथेरापी, स्पिच थेरापीजस्ता सेवा एउटै स्थानमा उपलब्ध गराउनेजस्ता विषय वाचापत्रमा समेटिएका छन् । यस्ता विशेषीकृत सेवा कार्यसूचीमा भने समावेश छैनन् ।

यस्तै, दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई जोड्ने भर्चुअल सञ्जाल निर्माण गर्ने वाचापत्रको योजना पनि कार्यसूचीमा छुटेको देखिएको छ ।

वाचापत्रले स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधार र नीतिगत दिशा प्रस्तुत गरेको छ भने शासकीय सुधार कार्यसूचीले छोटो अवधिमा देखिने सेवा सुधार र कार्यान्वयनमा जोड दिएको देखिन्छ ।

शासकीय सुधारका १०० बुँदा : स्वास्थ्य क्षेत्रमा के के भए कार्यान्वयन ?

नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ मंसिर १३ गते गरेको निर्णयअनुसार शासकीय सुधारका १०० बुँदामध्ये स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन चरणमा प्रवेश गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २०, २२ र २३ गतेसम्म सार्वजनिक गरेको प्रगति विवरणअनुसार अस्पताल सेवा सुधार, निःशुल्क उपचार, डिजिटल प्रणाली विकास र औषधि व्यवस्थापनमा प्रगति देखिएको छ ।

अस्पताल सेवा सुधारमा जोड

राष्ट्रिय ट्रमा सेन्टर, डडेल्धुरा अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र गजेन्द्रनारायण सिंह अस्पतालमा सेवा सुधार कार्ययोजना कार्यान्वयन सुरु गरिएको छ ।

सरसफाइ, कर्मचारी हाजिरी र गुनासो सुनुवाइका लागि फोकल पर्सन तोक्दै सेवा गुणस्तर सुधारका काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ लागू भएसँगै सरकारी अस्पतालहरूमा नागरिकमैत्री सेवा सुनिश्चित गर्ने मापदण्डसमेत कार्यान्वयनमा आएको छ । हालसम्म १७ वटा अस्पतालले सेवा सुधारसम्बन्धी प्रगति प्रतिवेदन बुझाइसकेका छन् ।

निःशुल्क उपचार सेवा विस्तार

विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्था देशभर विस्तार गरिएको छ ।

चैत २० गतेसम्म ६३ अस्पतालमा सीमित रहेको यो सेवा चैत २२ गतेसम्म ८३ अस्पताल र २३ गतेसम्म १०९ अस्पतालमा कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ ।

यसको ‘रियल टाइम’ अनुगमनका लागि डिजिटल पोर्टल सञ्चालनमा ल्याई विवरण सार्वजनिक रूपमा अद्यावधिक भइरहेको छ ।

गुनासो व्यवस्थापनमा सक्रियता

एकीकृत गुनासो व्यवस्थापन प्रणाली तथा इमेलमार्फत प्राप्त गुनासाहरूको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

डिजिटल स्वास्थ्य र रिफरल प्रणाली

बिरामीको उपचार इतिहास व्यवस्थित गर्न एकीकृत डिजिटल सूचना प्रणाली विकास भइरहेको छ ।

अनावश्यक रूपमा निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न ‘बिरामी प्रेषण निर्देशिका, २०८२’ लागू गरिएको छ भने अस्पतालहरूले आफ्नै रिफरल प्रोटोकल तयार गरी कार्यान्वयन गर्न थालेका छन् ।

जलन उपचार सेवा विस्तार

हालसम्म संघीय र प्रदेशस्तरका गरी २१ अस्पतालमा जलन उपचार सेवा सञ्चालनमा आइसकेको छ ।

थप विस्तारका लागि तयारी गर्दै २२ अस्पतालमा सेवा सञ्चालन गर्ने योजना अघि बढाइएको छ ।

सुलभ औषधि र स्वदेशी उत्पादन

नागरिकलाई सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउन ‘सुलभ फार्मेसी’ सञ्चालन प्रक्रिया सुरु गरिएको छ, जहाँ जेनेरिक नाममा औषधि उपलब्ध गराइनेछ ।

नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाबाट उत्पादित औषधिको उत्पादन क्षमता वृद्धि र खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।

त्यस्तै दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी तथा आपतकालीन बिरामीको उद्धारका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि परिमार्जन प्रक्रिया अघि बढाइएको छ ।

एयर एम्बुलेन्स सेवा व्यवस्थित गर्न १३ वटा एयरलाइन्स अपरेटरहरूको सूची तयार गरिएको छ ।

अनुगमन र उत्तरदायित्व

संघीय तथा प्रादेशिक अस्पतालहरूमा सेवा गुणस्तर सुनिश्चित गर्न चेकलिस्ट आधारित अनुगमन सुरु गरिएको छ ।

१०० दिनभित्र सम्पन्न गर्नुपर्ने १० बुँदे सुधार कार्यका लागि जिम्मेवारी तोकिएको छ । यसैबीच, शासकीय सुधार कार्यक्रम प्रभावकारी बनाउन अतिरिक्त स्वास्थ्य सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।

समग्रमा, स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रमहरू नीतिगत घोषणा मात्र नभई कार्यान्वयनको चरणमा प्रवेश गरेको मन्त्रालयको दाबी छ । यद्यपि, यी सुधार प्रभावकारी रूपमा सेवा प्रवाहमा रूपान्तरण हुन्छन् कि हुँदैनन् भन्ने विषय आगामी दिनमा परीक्षणको विषय रहने देखिन्छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ११ : २१ बजे

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र