काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई आज सम्बोधन गरेका छन्।
गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो पटक आह्वा भएको सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सिंहदरबारस्थित संसद भवनमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न सम्बोधन गरेका हुन् ।
उनले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्न आह्वान गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनपछि शुक्रबार भएको संयुक्त बैठकमा बोल्दै उनले जनताको अपेक्षा उत्तरदायी र पारदर्शी शासन, प्रभावकारी सेवा प्रवाह, भ्रष्टाचार अन्त्य, सामाजिक न्याय र तीव्र आर्थिक विकास भएको उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भूमिका खेल्ने सबै राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी र मतदाताप्रति धन्यवाद व्यक्त गर्दै नयाँ सरकारलाई जनअपेक्षाअनुसार काम गर्न आग्रह गरे।
उनले अन्तरिम सरकारले निर्वाचन सम्पन्न गर्दै सुशासन प्रवर्द्धन र सेवा प्रवाह सुधारमा खेलेको भूमिकाको प्रशंसा पनि गरे।
रोजगारीमा विशेष ध्यान
राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा युवाको अभूतपूर्व सहभागिताले नयाँ आशा जगाएको उल्लेख गर्दै युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताए।
‘परम्परागत सोचभन्दा बाहिर निस्केर नयाँ अवसर खोज्नुपर्छ, शिक्षालाई बजारको मागअनुसार रूपान्तरण गर्नुपर्छ,’ उनले भने।
श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न र युवामा देखिएको निराशा अन्त्य गर्न सरकार केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
सुशासनमा जोड
उनले भ्रष्टाचार नियन्त्रण गर्दै नागरिकले घरदैलोमै सरकारको अनुभूति गर्ने गरी सेवा प्रवाह सुधार गर्नुपर्नेमा जोड दिए। ढिलासुस्ती र अनियमितता हटाई प्रभावकारी प्रशासन सञ्चालन गर्नुपर्ने उनको धारणा थियो।
एकता, कूटनीति र जलवायु मुद्दा
राष्ट्रपति पौडेलले वर्तमान विश्व परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रिय हित केन्द्रमा राखेर सन्तुलित कूटनीति अपनाउनुपर्ने बताए।
यसका साथै, जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्नेमा जोड दिए।
एकताबद्ध हुन आह्वान
उनले लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण, राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि सबै पक्ष एकताबद्ध हुनुपर्ने उल्लेख गर्दै विगतका कटुताबाट पाठ सिक्दै अघि बढ्न आग्रह गरे।
उनले सुशासन, विकास र समृद्धिको यात्रामा सबै नेपाली एकजुट हुनुपर्ने भन्दै संसद्ले जनताको चाहनालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे।




















प्रतिक्रिया