महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा सुरु गरेका छन् ।
जिल्लामा नौवटा स्थानीय तह रहेका छन् । अधिकांशले पालिकाले प्राविधिक टोली खटाएर विभिन्न वडामा धमाधम नाप नक्सा कार्य सुरु गरेका हुन् ।
शुक्लाफाँटा नगरपालिका प्रमुख रणबहादुर महराले आजदेखि वडास्तरमा पुगेर नापजाँच सुरु गरिएको बताए । नगरपालिकाका नंं ५, १० र ११ मा नाप नक्सा भइरहेको उनले जानकारी दिए ।
‘छवटा वडाको नापजाँच पहिले नै गरिसकेका थियौँ, हाल तीनवटा वडामा काम सुरु गरेका छौँ’, नगरप्रमुख महराले भने, ‘वडा नं ६, ७ र ८ को बर्खा सकिए लगत्तै नापनक्साका लागि टोली फिल्डमा खटिनेछ ।’
करिब १२ हजार सुकुम्वासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेको शुक्लाफाँटा नगरपालिकाले नापजाँचको सबै कार्य सकिएपछि लालपुर्जा वितरणका लागि भूमि आयोगलाई बुझाउने जनाएको छ ।
‘हाल भूमि आयोगको प्राविधिक प्रतिनिधिसहितको टोली फिल्डमा खटिएको छ’, नगरप्रमुख महराले भने, ‘नाप नक्सा सकिएपछि सबै प्रक्रिया पूरा गरेर पुर्जाका लागि आयोगसमक्ष कागजात हस्तान्तरण गरिनेछ ।’
करिब ६० हजार भूमिहीन दलित–सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेको कञ्चनपुरमा सबै पालिकामा समस्या रहेको जनाइएको छ ।
यसैगरी, यहाँको कृष्णपुर नगरपालिकाले पनि दुई दिनअघिदेखि पालिकाभित्र नाप नक्सा सुरु गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिको वडा नं ५ र ६ मा जग्गा नाप नक्सा कार्य थालिएको सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिए।
अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि आवश्यक काम छिट्टै सम्पन्न गर्न नाप नक्सा थालिएको उनले बताए । यस पालिकामा १७ हजारभन्दा बढी सुकुम्वासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेका छन् ।
यस्तै, नौ हजार ५०० भन्दा बढी सुकुम्वासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेको बेदकोट नगरपालिकामा प्रायः नापनक्साको काम सम्पन्न भइसकेको नगरप्रमुख भोजराज बोहराले जानकारी दिए ।
‘शुक्लाफाँटा निकुञ्ज विस्थापितको जग्गा किचलो रहेका केही वडामा नापनक्साको काम भएको छैन । बाँकी सबैतिर नाप नक्सा सकिसकेका छौँ’, उनले भने ।
यहाँको लालझाडी गाउँपालिका पनि केही वडाबाहेक सबै ठाउँमा नापनक्साको काम सकिएको छ ।
गाउँपालिकाका अध्यक्ष निर्मल रानाले वडा नं ५ मा पुनः नाप नक्सा गर्नुपर्ने र हाल वडा नं १ मा काम भइरहेको जानकारी दिए । यस पालिकामा चार हजारभन्दा बढी सुकुम्वासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित छन् ।












प्रतिक्रिया