काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको नियतमाथि नै विपक्षीले शंका व्यक्त गरेका छन् । गत जेठ १७ गते प्रधानमन्त्री शाहले प्रतिनिधिसभा बैठकमा ‘नेपालले पनि भारतको भूभाग मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि रास्वपाले पार्टीको आधिकारिक धारणा सार्वजनिक नगरेको र प्रधानमन्त्रीले पनि सदनमा आएर माफी नमागेपछि विपक्षी सशंकित भएका हुन् ।
प्रधानमन्त्रीले राष्ट्रियतामाथि नै धावा बोलेको र देशको सार्वभौमसत्तामाथि प्रहार गर्दा पनि सत्तारुढ पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरेकोप्रति एमाले प्रमुख सचेतक ऐन महर, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे लगायत विपक्षी दलले पार्टीको नियतमाथि नै प्रश्न उठाएका छन् ।
१० दिन बितिसक्दा पनि प्रधानमन्त्रीले आफ्नो भनाइ नसच्याएको र सदनमा आएर जवाफ नदिएको उल्टै विपक्षीले प्रधानमन्त्रीको जवाफ माग्दा अटेरी भएर बसिरहेको उनीहरुको आरोप छ । विपक्षीले आफूहरूलाई नभएर नेपाली जनतालाई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने, नदिने भए नियतमाथि प्रश्न गर्ने ठाउँ रहेको स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले १० दिनसम्म पनि प्रधानमन्त्रीले आफ्नो भनाइ नसच्याउनु र राष्ट्रियताका विषयमा धावा बोल्नुले आम नेपाली जनताको चित्त दुखेको भन्दै प्रधानमन्त्री गैर जिम्मेवार हुन छुट नभएको उल्लेख गरे ।
पार्टी सभापति रवि लामिछानेसँगको छलफलमा विपक्षी दलका नेता आङ्देम्बेले भने, ‘१० दिन बितिसकेको छ । योभन्दा प्रधानमन्त्री कति गैरजिम्मेवार बन्नुहुन्छ ? राष्ट्रियताको विषय भएकाले हामीले यसलाई चानचुने ठानेका छैनौँ । यहाँलाई हामीले हिजो पनि भनिसकेका छौँ, प्रधानमन्त्रीले जसरी पनि सदनमा आएर माफी माग्नुपर्छ । प्रधानमन्त्रीले माफी नमागेसम्म कि तपाईँहरूको नियत नै राष्ट्रलाई कमजोर बनाउनु र मित्रराष्ट्रसँग साँठगाठ गर्नु हुन जान्छ । तर त्यतातिर हामी शङ्का गरिहाल्ने अवस्थामा छैनौँ । यो अवस्था नआउँदै तपाईँहरुले स्पष्ट जवाफ दिनुपर्छ। फेरि पनि भन्छु यो चानचुने कुरा पटक्कै होइन ।’
एमाले नेता ऐन महरले पनि प्रधानमन्त्री र पार्टी सभापति गम्भीर नहुँदा नियतमाथि शङ्का गर्ने ठाउँ स्पष्ट देखिएको धारणा राखे । उनले भने, ‘अब त राष्ट्रिय स्वतन्त्र पार्टी प्रधानमन्त्री र पार्टी सभापतिको नियतमाथि नै शङ्का गर्ने ठाउँ देखिएको छ । यहाँ आफैँ भनिदिनुस् कहाँ-कहाँ नेपालले भारतको भूभाग मिचेको छ ? प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले सदनमा गएर यस्तो बोल्न मिल्छ ? बोलियो होला तर माफी माग्नु पर्दैन ? भारतीय मिडियाले कहाँसम्मको कुराहरू लेखे ? प्रधानमन्त्रीले अघिल्लो दिन नाटकीय शैलीमा प्रतिनिधिसभामा आएर यस्तो बोल्नु, भोलिपल्टै तपाईं भारत जानु, त्यसको केही दिनमै परराष्ट्रमन्त्री खनाल भारत पुगेर स्पष्ट रुपमा सीमाको विषयमा कुरा नउठाउनु, यसले त शंका गर्ने ठाउँ प्रशस्त देखिन्छ । चानचुने कुरा भएको भए सहमति गर्ने विषय हुन्थ्यो । राष्ट्रियताको विषयमा कुनै पनि हिसाबले हामी तलमाथि हुने छैनौँ । बजेटबारे छलफल गर्दै जाउँला । तर पहिला राष्ट्रियता जोगाउनु हाम्रो मुख्य दायित्व हो। नेपाली जनताले हामीलाई राष्ट्रियता, अखण्डता र देशको सार्वभौमसत्ता जोगाउने महत्वपूर्ण जिम्मेवारी दिएर पठाएका छन्। चानचुने कुरा होइन ।’
महरले भने, ‘विपक्षी सबै दलहरूले यसमा असहमति जनाइसकेको अवस्थामा तपाईंहरू बलमिच्चाई गर्न खोज्दै हुनुहुन्छ । आज तपाईँहरू बलियो बन्नुहोला तर यो स्थायी होइन । बलियो भएँ भन्दैमा देशको विषयमा यति धेरै नालायक र नाजायज कुरा राख्ने अधिकार तपाईहरुलाई कसले दियो ? पार्टीको आधिकारिक धारणासमेत अहिलेसम्म आएको छैन। परराष्ट्र मन्त्रालयको विज्ञप्ति त थामथुम गर्ने किसिमको मात्रै छ। अब पनि भन्नुहोस् नियतमाथि शङ्का गर्नुपर्ने ठाउँ छ कि छैन ?’
नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता युवराज दुलालले राष्ट्रियताका विषयमा कुनै पनि हिसाबले कम्प्रमाइज गर्न आफूहरू तयार नभएको बताए । उनले भने, ‘विपक्षीले मिल्ने ठाउँसम्म मिलेर सहयोग गरेकै थिए । तर यो राष्ट्रियताको विषयमा काहीँ पनि सम्झौता गर्ने कुरा आउँदैन। हामीले कुनै पनि देशको भूभाग मिचेका छैनौं स्पष्ट रुपमा यहाँलाई थाहा छ । भारतले लिपुलेक, लिपियाधुरा कालापानी दशगजा क्षेत्रका सिमाना स्पष्ट रूपमा विवादमा छन् । यी विवादहरूलाई समाधान गर्नुको साटो उल्टै नेपालले भारतको भूभाग मिचेको छ भन्नु प्रधानमन्त्रीको यो गतिविधि कहाँसम्मको हो ?’
दुलालले भने, ‘तपाईहरुले हामीसँग प्रधानमन्त्रीले यस्तो भन्न खोज्नुभएको होइन भनेर पुग्दैन किनकि नेपाली जनताले यो कुरा काहीँ पनि स्वीकार्नेवाला छैनन्। तपाईँहरुले हामीसँग माफी माग्नु पर्दैन । बरु नेपाली जनतासँग माफी माग्नुहोस् । एउटा प्रधानमन्त्रीको विषयलाई लिएर १० दिनसम्म सदन अवरोध हुनु भनेको हामी सबैका लागि घाटाको विषय हो। तर राष्ट्रियताको विषयमा फेरि पनि भन्छु हामी कम्प्रमाइज गर्दैनौँ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु बोलीले पनि अरु नेताहरुले जस्तै प्रधानमन्त्री भारततर्फ लचिलो भएको सङ्केत देखिन थालेको बताइन् । उनले भनिन्, ‘कि हामी भारततिर लचिलो भयौँ भन्नुपर्यो, त्यो भएपछि हामी कहाँबाट के लिएर उठ्नुपर्ने हो उठौँला । नत्र भए प्रधानमन्त्रीले बोलेको यो कुरा फेरि पनि पटक पटक भन्छु- चानचुने पटक्कै होइन । हाम्रा पिता पुर्खाले ठूलो त्याग तपस्या र जीवन नै समर्पण गरेर नेपालको रक्षा गरेका थिए। त्यसलाई हामी निरन्तरता दिन्छौं यदि तपाईहरु यसमा लचिलो भएकै हो भने हो भन्ने जवाफ दिनुहोस् ।’
ओलीले भनिन् ‘ प्रधानमन्त्रीले राष्ट्रियताप्रति धावा बोलेको विषय कसरी सामान्य हुन्छ ? संसारको कुनै देशमा प्रधानमन्त्री प्रतिनिधिसभामा उभिएर हामीले पनि अरु देशको भूभाग मिचेका छौं भन्न सकेको छ अहिलेसम्म ? कहाँसम्मको नालायक र लज्जास्पद कुरा हो ? तपाईहरु आफै मूल्याङ्कन गर्नुहोला । हामीलाई प्रधानमन्त्रीको जवाफ चाहियो चाहियो ।’
प्रतिपक्षीले यदि प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिने अवस्था भएको भए त्यसको पनि जानकारी गराउनुपर्ने बताए । ‘प्रधानमन्त्री बिरामी पर्नुभयो कि के कारणले सदनमा आएर आफूले बोलेको कुराको जवाफ दिन सक्नुभएन ? त्यो पनि जानकारी हामीलाई चाहियो,’ आङ्देम्बेले भने, ‘प्रधानमन्त्रीज्यू कुनै कारण बिरामी परेको अथवा उठ्नै नसक्ने अवस्थामा भएको भए कुनै मन्त्री अथवा परराष्ट्रमन्त्रीज्यूले पनि उहाँले लेखेको स्टेटमेन्ट आएर पढिदिनुभए पनि पुग्छ। तर अरु मन्त्रीले पढेको स्टेटमेन्ट प्रधानमन्त्रीज्यूको लिखित हुनुपर्यो । प्रधानमन्त्रीले बोलेको कुरा संसदको रेकर्डबाट हटाइनुपर्यो ।’
रविको स्पष्टोक्ति, ‘राष्ट्रियता र अखण्डताप्रति दृढ छौँ’
विपक्षीले बोल्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्रीको नियतमाथि शङ्का गरेपछि सभापति रविले नेपाली जनतालाई भ्रममा नपार्न आग्रह गरे । उनले राष्ट्रिय एकता, अखण्डता र आफ्नो राष्ट्र प्रेमप्रति राष्ट्रिय स्वतन्त्र पार्टी दृढ रहेका जानकारी गराउँदै प्रधानमन्त्रीको भनाइलाई लिएर पार्टीको नियत र अरु गतिविधिमाथि शङ्का नगर्न आग्रह गरे । उनले नेपाल भारत सिमाना विवाद कूटनीतिक र टेबल संवाद मार्फत समाधान गर्न नेपाल भारत दुवै तयार रहेको अवस्थामा शङ्का गर्नु जनतालाई भ्रम छर्नु रहेको बताए ।
‘नेपाली जनतालाई भ्रममा नपारौँ । राष्ट्रिय एकता धृणता र राष्ट्रिय अखण्डताप्रति हामी एकदमै धेरै प्रतिबद्ध छौँ। कुनै पनि रूपमा हामी कसैप्रति लचिलो भएको होइन । दुवै देशका सीमा विवादहरू संवाद र टेबल टक मार्फत कूटनीतिक रुपले समाधान गरौं भनेको हो। प्रधानमन्त्रीज्यू चिप्लिनुभएको यही अभिव्यक्तिलाई लिएर तपाईहरुले सदनलाई निरन्तर अवरोध नगरिदिनुहोला प्लिज। यसरी त नेपाली जनताले पनि हामीलाई टुलुटुलु हेरिरहेका छन् । बजेटमाथिको छलफल बाँकी छ । मध्यबिन्दु पत्ता लगाएर मिलौँ,’ सभापति रविले भने, ‘अहिलेलाई प्रधानमन्त्रीले बोलेको कुरा परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ । प्रधानमन्त्रीले अह्राएको व्यक्तिले जवाफ दिने नियम हाम्रै संविधानमा लेखिएको छ । हामी नीति कानुन र संविधानभन्दा बाहिर पटक्कै गएका छैनौँ । प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ भनेर भनिसकेपछि तपाईहरुसँग म छलफलमा जुटेको हो। मङ्गलबार पनि सहमति जुटेन आज पनि मध्यविन्दुमा सहमति गरौँ प्लिज । परराष्ट्रमन्त्रीले यसबारे जवाफ दिनुहुन्छ त्यसपछि हामी सदन अवरोधलाई हटाएर जाउँ ।’
रविले प्रधानमन्त्रीले तत्काल लिखित जवाफ दिने समय नभएकाले परराष्ट्रमन्त्रीको जवाफ स्वीकार्न अनुरोध गरे । तर विपक्षीले भने परराष्ट्र मन्त्रीको जवाफ आफूलाई स्वीकार्य नहुने भन्दै एकै स्वरमा असहमति राखेका छन् । उनीहरूले प्रधानमन्त्रीले लिखित रूपमा जवाफ पठाएर कुनै एक मन्त्रीले पढिदिन समेत आग्रह गरे । ‘यहाँभन्दा लचिलो हुने अवस्था छैन । उसोभए प्रधानमन्त्रीज्यूले लिखित रूपमा पठाएको जवाफ कुनै एकजना मन्त्री अथवा परराष्ट्र मन्त्रीले पढिदिनुहोस्।’ प्रमुख प्रतिपक्षी दलका नेता आङदेम्बेले भने, ‘हामी सबै प्रतिपक्षीले सल्लाह गरेर यो प्रस्ताव राखेका हौँ। यसमा हामीलाई मन्जुर हुन्छ।’
आङदेम्बेको भनाइमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक दुलाल,एमाले प्रमुख सचेतक महर र राप्रपा सांसद खुश्बु ओलीले पनि समर्थन जनाएका थिए । सभापति रविले भने यसबारे अहिले तयारी गर्न नसकिने जवाफ दिए । रविले प्रधानमन्त्रीलाई लिखित जवाफ पठाउन अनुरोध अहिलेसम्म नगरेको बालेनको सचिवालय बताउँछ ।












प्रतिक्रिया