वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी « Khabarhub

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा वर्षायाममा सडक अवरुद्ध भए पनि आधा घण्टाभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार केही दिनभित्र पुनर्निर्मित ट्र्याकबाटै पूर्ण रूपमा सवारी सञ्चालन गरिनेछ।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको यो राजमार्ग वर्षा हुनेबित्तिकै अवरुद्ध हुने समस्या थियो। यस वर्ष भने सकेसम्म सडक अवरुद्ध हुन नदिने र अवरोध भएमा तत्काल हटाउने योजना बनाइएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ।

‘वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै पुनर्निर्मित ट्र्याकबाटै पूर्ण रूपमा सवारी आवागमन सञ्चालन हुनेछ। विपद्का कारण सडक अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी भइसकेको छ,’ उनले भने।

उनका अनुसार अधिकांश स्थानमा साविककै ट्र्याकबाट सवारी सञ्चालन भइरहेको छ। यसअघि रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सन बाढीले बगाउँदा सडक पटकपटक अवरुद्ध हुने गरेको थियो।

हाल चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्र्याकबाट सवारी सञ्चालन भइरहेको छ। चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुंगा र पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरिएको छ। क्षतिग्रस्त स्थानमा ग्राभेल बिछ्याउने तथा आवश्यक ठाउँमा ठूला ढुंगा राखेर सडकलाई सुरक्षित बनाइएको छ।

विसं २०८१ असोजको बाढीपहिरोले भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो। त्यसबेला सवारी सञ्चालनका लागि बनाइएका अस्थायी डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो।

क्षतिग्रस्त चार खण्डमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडकको पुनर्निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) को सहयोगमा भइरहेको छ। उक्त खण्डमा माटो भर्ने र बोल्डर राख्ने काम जारी छ। राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेजमा ठेक्का सम्झौता गरिएको छ।

इन्जिनियर योगेशका अनुसार पुनर्निर्माणपछि सडक दुई लेनको हुनेछ। हाल रहेको पुलसँगै नयाँ पुल निर्माण गरिनेछ भने पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने योजना रहेको छ।

क्षतिग्रस्त २९.५ किलोमिटर सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्डका लागि जाइकाले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल–सिन्धुली–बर्दिबास (१६० किलोमिटर) बीपी राजमार्ग निर्माण सुरु गरिएको थियो।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ६ : २० बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे