काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि जारी रहँदा विश्वको प्रमुख सामुद्रिक व्यापार मार्ग होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजको सङ्ख्यामा उल्लेख्य कमी आएको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन्।
अमेरिकाले होर्मुज नजिकका अड्डासहित ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ। यता, इरानले पछिल्ला दुई दिनमा भएका अमेरिकी आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बुशहर परमाणु ऊर्जा केन्द्र आसपासका केही स्थानमा पनि आक्रमण भएको छ। उक्त जानकारी प्रान्तका उपगभर्नरलाई उद्धृत गर्दै सार्वजनिक गरिएको हो। यद्यपि, यी पछिल्ला आक्रमणबारे अमेरिकाले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
इरानले जबाफी कारबाहीस्वरूप कुवेत, बहराइन र कतारस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ।
यसैबीच, इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको छ दिनसम्म चलेको अन्त्येष्टि कार्यक्रमपछि अन्तिम संस्कार सम्पन्न गरिएको छ।
उत्तरपूर्वी इरानको मशहद शहरमा हजारौं मानिस इरानी झण्डासहित सडकमा उत्रिएका थिए। केही प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध धम्कीपूर्ण सन्देश लेखिएका पोस्टर पनि बोकेका थिए।
इरानका अनुसार अयातोल्लाह अली खामेनीको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको प्रारम्भिक आक्रमणका क्रममा मृत्यु भएको थियो।












प्रतिक्रिया