काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर संसदमा चर्को बहस भइरहँदा गृहमन्त्री सुधन गुरुङले स्थानीय सरकारमाथि दोष थोपर्दै आफ्नो बचाउ गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यो घटनालाई लिएर विरोध गर्ने विपक्षी सांसदहरूमाथि आक्रोश पोखे । उनले संसद्मा विपक्षीहरूलाई सरकार कसरी सञ्चालन हुन्छ भनेर आफूले सिकाउने चेतावनी दिँदै घोक्रो सुक्नेगरी भाषण गर्ने कति जना माननीयहरू हिजो अस्पताल जानुभयो ? भनी प्रश्न गरे ।
सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले देशमा तीन तहको सरकार सञ्चालनमा रहेको बताउँदै आत्मदाहको घटना भएको ठाउँमा नेपाल प्रहरी वा ट्राफिक प्रहरीले नभई नगर प्रहरीले ह्वील लक लगाएको दाबी गरे । कुनै पनि भिडियोमा ट्राफिकले ह्वील लक लगाएको नदेखिएको प्रष्टीकरण दिँदै उनले स्थानीय सरकारले गरेको गल्तीको दोष पनि संघीय सरकारले नै बोक्नुपर्ने भनी असन्तुष्टि व्यक्त गरे । विपक्षी दलहरूतर्फ लक्षित गर्दै उनले दुई तहको सरकार उनीहरूसँगै रहेको र अहिलेको नियम कानुन पनि उनीहरूले नै बनाएको उल्लेख गर्दै विपक्षीले बनाएको नियम कानुन नै आफूहरूले कार्यान्वयन गरिरहेको जिकिर गरे ।
विपक्षीप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएका गृहमन्त्री गुरुङले संसदमा आफूले धेरै कुरा सहेको र अब सहने सीमा नाघिसकेको बताए । सदनलाई मर्यादित दृष्टिकोणबाट हेरिनुपर्ने र बोल्दा मर्यादा राखिनुपर्नेमा जोड दिँदै उनले अहिलेको अवस्था देख्दा गाह्रो महसुस हुने गरेको उल्लेख गरे । देश राम्रो होला भनेर आफूहरू जस्ता युवाहरू एउटा आशा बोकेर लडेको स्मरण गर्दै उनले ५०औँ वर्ष राज गरेका अनुभवी राजनीतिज्ञहरू र पुराना दलको गल्तीबाट सिक्नुपर्नेमा अहिले यस्तो हिलो छ्यापाछ्यापको राजनीति देख्नुपरेको भन्दै दुखेसो गरे ।
आफूलाई राम्रोसँग बोल्न नआए पनि काम गर्न र देशलाई जोगाउन राम्रोसँग आउने दाबी गर्दै गृहमन्त्री गुरुङले सरकारले कुनै दल वा पार्टी भनेर भेदभाव नगरेको स्पष्ट पारे। आत्मदाह गरेका गणेश नेपालीको उपचारका सन्दर्भमा सरकार गम्भीर रहेको भन्दै उनले नेपालीलाई उपचारका लागि भारत लैजान सबै तयारी पूरा गरिएको जानकारी दिए । तर, चिकित्सकहरूले बिरामीको अवस्थालाई स्थिर राख्नुपर्ने सुझाव दिएका कारण डाक्टरहरूकै सल्लाहअनुसार उनलाई भारत नलगेको गृहमन्त्री गुरुङले संसद्मा प्रष्ट पारेका छन् ।












प्रतिक्रिया