भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’ « Khabarhub

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार निधन भएको छ । उनको निधनपछि वीर अस्पताल परिसरमा मृतकका आफन्त, सहकर्मी राइड शेयरिङमा काम गर्नेहरू, मुगुवासी, मानव अधिकारकर्मी तथा पत्रकारहरूको ठूलो भिड जम्मा भएको छ ।

मृतकले न्याय पाउनुपर्ने माग गर्दै प्रदर्शनकारीले अस्पताल परिसरमा चर्को नाराबाजी गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीको बाक्लो उपस्थिति छ भने गणेशको शव राखिएको कक्षमा हाल कसैलाई पनि प्रवेश दिइएको छैन ।

तनावग्रस्त भिडका कारण उपचारका लागि वीर अस्पताल आएका अरु सेवाग्राहीहरू सास्ती खेप्दै ओहोरदोहोर गरिरहेका देखिन्छन् । अस्पतालको एउटा कुनामा भावविह्वल अवस्थामा बसिरहेका गणेशका दाइ मदन नेपालीको भने सबैप्रति एउटै गहिरो गुनासो छ ।

अगाडि क्यामेरा तेर्स्याएर बसेका सञ्चारकर्मीहरूप्रति आक्रोश र पीडा पोख्दै उनले भने, ‘आज यत्रो भिड जम्मा हुने गरी आएका मिडियाकर्मी र सुरक्षाकर्मीहरूले हिजो मेरो भाइलाई किन बचाउन सकेनन् ? हिजो मेरो भाइ आगोले जलेर छटपटाइरहँदा तपाईंहरू कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ? आज किन आउनुभएको ?’

१० हजारको चिट र महानगरको क्रूरता

मृतकका वडाबासी चन्द्रबहादुर शाहीका अनुसार गणेश विगत तीन वर्षदेखि श्रीमती र सानी छोरीका साथ भक्तपुरमा डेरा गरी बस्दै आएका थिए । गणेशले किस्तामा मोटरसाइकल किनेर पठाओ गरी जीवन चलाइरहेका थिए ।

बिहीबार एक जना यात्रीले त्रिपुरेश्वरबाट अनलाइन राइड बुक गरेपछि उनी त्यहाँ पुगेका थिए । राहदानी विभागअगाडि यात्रु पर्खिरहेका बेला ट्राफिक र नगर प्रहरीले उनको मोटरसाइकलमा ह्विल लक लगाइदिएर १० हजार रुपैयाँको जरिवाना चिट काटेका थिए ।

दिनभरि पठाओ चलाएर बिहान–बेलुकाको छाक टार्ने सामान्य श्रमजीवीका लागि एकैपटक १० हजार रुपैयाँ जरिवाना तिर्नु ठूलै समस्या थियो । अत्तालिएका गणेशले नजिकै मिनरल वाटरको खाली बोतल भेटे र प्रहरीकै अगाडि मोटरसाइकलबाट पेट्रोल झिकेर आफ्नो शरीरमा खन्याउन थाले । तर, प्रहरीले उनलाई रोक्नुको साटो उनको मोटरसाइकल महानगरको गाडीमा लोड गरिरह्यो ।

प्रत्यक्षदर्शीका अनुसार उनी आगोले जलिसकेपछि पनि अपराधीलाई जस्तै घिस्याएर हिँडाइयो र ट्याक्सीमा राखेर अस्पताल लगियो । वीर अस्पतालको इमर्जेन्सीमा ल्याइपुर्‍याएपछि मात्र दाइ मदनलाई खबर गरिएको थियो । मदन अस्पताल पुग्दा गणेशले अन्तिम पटक भनेका थिए, ‘दाइ म अब बाँच्दिनँ होला, बा आमालाई राम्रो गर्नू ।’

त्यसपछि उनको बोली सधैँका लागि बन्द भयो । भेन्टिलेटरमा कृत्रिम श्वास दिएर राखिएको भए पनि उनको मृत्यु हिजै भइसकेको आफन्तको दाबी छ ।

सहनशील र व्यावहारिक थिए गणेश

अकस्मात आत्मदाहको निर्णय लिएका कारण कतिपयले गणेशलाई ’सन्की’ स्वभावको ठानेका भए पनि आफूलाई गणेशकी भाउजू बताउने एक महिलाले त्यसको खण्डन गरेकी छन् । उनले भनिन्, ‘उनी एकदमै सहनशील, व्यावहारिक र जिम्मेवार मान्छे थिए । बेलाबेलामा मेरो कोठामा पनि आउँथे । आफ्नी श्रीमती र छोरीलाई असाध्यै माया गरेर पालेका थिए ।’

चार भाइबहिनीमध्ये तेस्रो सन्तान रहेका गणेशका वृद्ध बुवाआमा मुगुमै छन् । काठमाडौँ आइपुग्न मात्रै कम्तीमा ३ दिन लाग्ने दुर्गम गाउँमा रहेका ती आमाबुवाले छोराको यस्तो दर्दनाक अन्त्यको खबर कसरी थाम्लान् भन्ने आफन्तमा चिन्ता छ । यता काठमाडौंमा रहेकी उनकी श्रीमती र सानी छोरीको अवस्था पनि बेहाल छ ।

गणेशको शव राखिएको कक्षमै रहेकी उनलाई अन्य आफन्तहरुसँग पनि भेट्न दिइएको छैन ।

‘राष्ट्रिय लज्जा’

अस्पतालमा उपस्थित मानव अधिकारकर्मी र आफन्तहरूले यो घटनाले राज्य र सरकार श्रमजीवी नागरिकप्रति कति क्रूर र अनुदार छ भन्ने पुष्टि गरेको टिप्पणी गरेका छन् ।

उनीहरूले यसलाई ’राष्ट्रिय लज्जा’ को भन्दै सरकारमा बस्नेहरूले गरिबलाई बाँच्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

स्थानीय र पीडित पक्षले राज्य पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने, मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गरिनुपर्ने र उनकी नाबालक छोरीको भविष्य सुनिश्चित गरिनुपर्ने माग अघि सारेका छन् ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ५ : ४४ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग