पाँचथर – यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन् । गोलभेँडा उत्पादनको लागत बढे पनि मूल्य गत वर्षभन्दा आधा कम भएपछि कृषकहरु समस्यामा परेका हुन् ।
ठूलो परिमाणमा गोलभेँडा उत्पादन हुने याङवरक गाउँपालिका–६ का कृषक नवीन श्रेष्ठ गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु समस्यामा परेको बताउँछन् । ‘मूल्य कम भए पनि बजारसम्म पठाउनै प-यो, उत्पादन फाल्न सकिएन’, श्रेष्ठले भने, ‘तर यसपालि किसानलाई फाइदा छैन । विषादीदेखि उत्पादनसम्ममा धेरै लगानी भएको हुन्छ । हामी किसानलाई घाटै घाटा छ ।’
अहिले यहाँ गोलभेँडा प्रतिकिलो रु १५ देखि १७ मा बिक्री भइरहेको छ । गत वर्ष औषतमा प्रतिकिलो रु ३० मा बिक्री भएको थियो । ‘प्रतिकेजी रु ३० भन्दा कममा बिक्री हुँदा घाटा हुन्छ, अहिले प्रतिकेजी रु १५ मा बिक्री भइरहेको छ’, उनले भने ।
किसान आइतराज योङहाङका अनुसार अहिले गोलभेँडा उत्पादनबाट कृषकहरुले फाइदा लिन मूल्य प्रतिकिलो रु ३० भन्दा माथि पुग्नुपर्छ । अहिलेको मूल्यले लगानी उकास्न पनि मुस्किल परेको योङहाङको गुनासो छ । ‘विगतमा राम्रो फाइदा भएकाले कृषकहरुले धेरै टमाटर ९गोलभेँडा० को खेती गरेका छौँ । तर यसपालि लगानी पनि उकास्न नसकिने भयो’, योङहाङले भने ।
कृषक सीता पौडेल मिश्रका अनुसार अहिले मल्चिङ गरेर मात्रै गोलभेँडा फलाउन सकिन्छ । मल्चिङ गर्दा उत्पादन लागत बढेको छ । तर अहिले मूल्य कम हुँदा निमेक ९परिश्रम० नै नउठ्ने अवस्था आएको मिश्रको भनाइ छ ।
गोलभेँडाको व्यवसाय गर्दै आएका याङवरक–६ का लेखप्रकाश खेवाङका अनुसार गोलभेँडाको बजार मूल्य घटबढ भइरहने गर्दछ । पूर्वी पहाडमा उत्पादित गोलभेँडाको मुख्य बजार पूर्वी तराई हो । बाहिरबाट पूर्वी तराईका बजारमा गोलभेँडा आउँदा यहाँका कृषकले राम्रो मूल्य नपाएको खेवाङको भनाइ छ ।
‘अहिले हामीले कृषकहरुबाट प्रतिकिलो रु १५–१६ मा खरिद गर्नुपर्ने अवस्था छ’, खेवाङले भने,‘अहिले झापा, मोरङ र सुनसरीका बजारमा बाहिरबाट गोलभेँडा थुप्रिदा मूल्य घटेको हो । अहिले काठमाडौँतर्फबाट पनि गोलभेँडा झापाका बजारमा आउने गरेको छ ।’
विगतमा यहाँका कृषकहरुले प्रतिकिलो रु ५० भन्दा बढी पनि मूल्य पाएको खेवाङको भनाइ छ । उहाँका अनुसार विगतमा यहाँको गोलभेँडा भारतमा पनि निर्यात हुन्थ्यो । तर अहिले भारतमा निर्यात हुनुको सट्टा भारतबाट नेपाल आउन थालेको छ ।
काठमाडौँ उपत्यका, मध्य तथा पश्चिम तराईका अन्य बजारमा पनि यहाँको गोलभेँडा पुग्ने गर्दथ्यो । तर अहिले उत्पादन बढेर बजारलाई प्रभाव पारेको खेवाङले बताउनुभयो । विगतमा निकै कम उत्पादन हुने तेह्रथुम, धनकुटालगायत जिल्लाबाट समेत अहिले ठूलो परिमाणमा गोलभेँडा तराईका बजारमा पुग्ने गरेको व्यवसायीहरु बताउछन् ।
पाँचथरका फिदिम नगरपालिका, हिलिहाङ र याङवरक गाउँपालिकामा ठूलो मात्रामा गोलभेंडा उत्पादन हुने गरेको छ । साविकका पञ्चमी, अमरपुर, नागी र थर्पू गाविसमा धेरै गोलभेंडा उत्पादन हुने गरेको छ ।
गत चैतमा रोपिएको गोलभेंडा फलेर अहिले पाकेको छ । यस क्षेत्रमा कात्तिकसम्म गोलभेंडा उत्पादन भइरहन्छ । पहिलो सिजनको गोलभेंडाले मूल्य नपाएपनि यसभन्दा पछि उत्पादन हुने गोलभेँडाले मूल्य पाउने आशामा यहाँका कृषकहरु बसेका छन् ।












प्रतिक्रिया