काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना क्रममा निजी निवास बूढानीलकण्ठमै नराम्रोसँग कुटिएर गम्भीर घाइते भएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किन लागेका छन् ।
कांग्रेस नेता प्रकाशशरण महतका अनुसार उनी भदौ २८ गते दिउँसो १२ बजे नेपाल आइपुग्नेछन्। तर उनकी पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र छोरा जयवीर भने फर्किने पक्का भएको छैन ।
देउवा नेपाल आउने समय निश्चित भएसँगै उनीहरूको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा समर्थक उतार्ने तयारी भइरहेको छ। खासगरी कांग्रेस संस्थापनइतर समूहका नेताहरू देउवाको स्वागतलाई शक्ति प्रदर्शका रुपमा देखाउने तयारीमा छन् ।
भदौ २९ गतेदेखि ३१ सम्म संस्थापनइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी भएर देउवाले सम्बोधन गर्ने कार्यक्रम पनि तय भइसकेको छ ।
कांग्रेस नेता मीन विश्वकर्माले पनि देउवा नेपाल आउन लागेको पुष्टि गरेका छन्। उनीहरूमध्ये आरजु र जयवीर आउने तयारी नरहेको नेताहरूले बताएका छन् । यसबारे विश्वकर्माले भने, ‘देउवा दाइ नेपाल आउन लाग्नुभएको हो।’
तर, देउवा नेपाल फर्किन लागेसँगै पक्राउ पर्न सक्ने कुरालाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरू भएको छ। उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाइरहेको छ । त्यसका कारण उनीहरू नेपाल फर्किएपछि कानुनी प्रक्रिया अघि बढ्न सक्ने चर्चा छ ।
किन फर्किए नेपाल ?
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सीआईबीले अनुसन्धान थालेपछि देउवा दम्पतीको विदेश बसाइ लम्बिएको कतिपयले आकलन गरेका थिए। तर, देउवाले साउन ५ गते वीपी स्मृति दिवसका अवसरमा जारी गरेको वक्तव्यमार्फत् आफू नेपाल फर्किन लागेको बताएका थिए।
वक्तव्यमा उनले राष्ट्रिय प्रेम तथा न्यायप्रतिको विश्वासमा पूर्ण भरोसा रहेको उल्लेख गरेका थिए। नेपाली नागरिकको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि आफ्नो पूर्ण आस्था र समर्पण रहेको उनको भनाइ थियो।
राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग गरेर प्रतिपक्षलाई आतङ्कित बनाउन सरकार लागेको आरोप लगाउँदै देउवाले त्यसको सामना गर्न आफू तयार रहेको सन्देशसमेत दिएका थिए। उनले उक्त वक्तव्यमा आफूलाई वालेन्द्र शाह नेतृत्वको सरकारले धरपकड गर्ने आशंका पनि व्यक्त गरेका थिए ।
२०८२ फागुन २१ गतेको निर्वाचनको मुखमा उनले देश छाडेका थिए । उनी फागुन १४ गते उपचारका लागि सिङ्गापुर गएका थिए । त्यहीँबाट देउवा चैतमा हङकङतिर लागे । त्ययसता नेपाल फर्किएका छैनन्। जेन-जी आन्दोलनलगत्तै उपचारका लागि सिङ्गापुर गएका देउवा दम्पती हङकङ पुगेर उतै बसेका थिए ।
कांग्रेसमा गत पुस अन्तिम साता दोस्रो विशेष महाधिवेशनमार्फत् गगन थापा सभापति बनेपछि देउवा पार्टीभित्र भूमिकाविहीन भए। लामो समय शक्तिमा रहेका उनी गगनको उक्त कदमले एकाएक शक्तिहीन भए ।
पार्टीमा पनि शक्तिहीन भएपछि उनी विदेशमै बस्न चाहेको अड्कल हुने गरेको थियो । भदौ २२ गतेसम्म भावी प्रधानमन्त्रीका रुपमा रहेका उनी भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाको हेलिकप्टरमा भागेसँगै सकंटमा परे।
त्यसपछि पुस अन्तिममा गगन थापाले पार्टीमा रहेको उनको शक्ति पनि खोसे। देशको सत्तादेखि पार्टीको सत्ताबाट पनि अचानक गलहत्तिनुपर्दा असुरक्षित महसुस गरेका देउवा उपचार भन्दै विदेश बसे ।

पक्राउ पर्लान् ?
देउवा नेपाल फर्किएलगत्तै विमानस्थलबाटै पक्राउ पर्न सक्ने चर्चा पनि एकथरीले गरेका छन् । तर यसअघि पक्राउ पुर्जी प्रक्रिया अघि बढाएको सरकारले यसबारे अहिलेसम्म औपचारिक रूपमा धारणा सार्वजनिक गरेको छैन।
गृहमन्त्री सुधन गुरुङनिकट स्रोतसँग यस विषयमा बुझ्दा अनुसन्धान भइरहेको विषयमा तत्काल ठोस रुपमा बोल्न नमिल्ने प्रतिक्रिया दिएको छ।
स्रोतका अनुसार देउवा दम्पतीविरुद्ध इन्टरपोलको रेड नोटिस जारी भएको छैन। ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान भइरहेको बुझेका छौँ। यो हाम्रो वशमा रहने विषय होइन, त्यसैले अहिले यसबारे धेरै नबोलौँ’, सुधनका निकट सहयोगी भन्छन् ।
देउवा हङकङमै भएका बेला नेपाल प्रहरीले दुई पटकसम्म रेड नोटिस जारी गर्ने कोसिस गरेको थियो । तर देउवा परिवार कुनै पनि गम्भीर मुद्दामा अदालतबाट दोषी ठहर भइनसकेको जनाउँदै इन्टरपोलले नेपालको आग्रहलाई कार्यान्वयन गर्न अस्वीकार गरिदियो।
गृह स्रोतका अनुसार हालसम्म देउवा कानुनी रूपमा सुरक्षित देखिए पनि अनुसन्धानका क्रममा आवश्यक परे पक्राउ प्रक्रिया अघि बढ्न सक्ने अवस्था रहन्छ।
देउवा नेपाल फर्किन लागेको विषयमा नेपाल प्रहरीले यसअघि नै प्रतिक्रिया दिएको थियो। साउन २२ गते आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले देउवा फर्किएपछि पक्राउ पर्न सक्ने सम्भावनाबारे प्रश्न गरेका थिए।
जवाफमा डीआईजी अविनारायण काफ्लेले अनुसन्धानको निष्कर्षका लागि केही समय बाँकी रहेको संकेत गर्दै भनेका थिए, ‘हामी हेर्दैछौँ, अझै केही दिन बाँकी नै छ।’
पुर्जी जारी भएको दाबी
उपचारका लागि विदेशमा रहेका देउवा दम्पतीविरुद्ध उनीहरू हङकङमै रहेका बेला पक्राउ पुर्जी जारी भएको बताइएको छ।
जेन-जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित घरमा आगजनी भएपछि त्यहाँबाट ठूलो परिमाणमा नगद भेटिएको दाबी गरिएको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवाको घरमा भेटिएको भनिएको पैसाका तस्बिर तथा भिडियो एआईबाट बनाइएको दाबी गरेका थिए। तर, उक्त दाबीबारे कांग्रेसका नेताहरूबाट पनि स्पष्ट धारणा आएको छैन।
यसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन्। यसअघि सर्वोच्च अदालतले गत जेठमा अन्तरिम आदेश जारी गर्दै उक्त पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो। यद्यपि, पछिल्लो समय देउवामाथि अनुसन्धान जारी छ ।

‘प्रमाणबिना पक्राउ गर्नु केटाकेटीपन’
देउवा नेपाल फर्किएपछि पक्राउ पर्न सक्ने चर्चाबारे कांग्रेस नेताहरू भने सरकारले कानुनी आधार र प्रमाणबिना त्यस्तो कदम चाल्न नहुने बताउँछन्।
कांग्रेस नेता महतले देउवा पक्राउ पर्नेबारे आफूलाई कुनै जानकारी नभएको बताए। सरकारले प्रतिशोध साँध्ने उद्देश्यले पक्राउ गर्न खोजे कांग्रेसले त्यसको प्रतिवाद गर्ने उनको भनाइ छ।
महतले भने, ‘कहाँबाट पक्राउ पर्नु ? पक्राउ गर्नका लागि उपयुक्त प्रमाण पनि हुनुपर्यो नि! सरकारले प्रतिशोध साँधे त्यसको प्रतिवाद गर्छौँ।’
उनले अनुसन्धानका लागि अन्य आधार हुन सक्ने भए पनि उपयुक्त प्रमाण र आधारबिना पक्राउ गर्नु उचित नहुने बताए।
‘अनुसन्धानका लागि अरू आधार पनि हुन सक्छन्। उपयुक्त प्रमाण र आधार नभई पक्राउ गर्नु त केटाकेटीपन भइहाल्यो नि,’ महतले भने।
यता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले भने अनुसन्धानका विषयमा प्रतिक्रिया दिन नमिल्ने बताए। उनले भने, ‘अनुसन्धानको विषयमा बोल्न मिल्दैन। यस्तो संवेदनशील विषयमा कसरी प्रतिक्रिया दिने र ?’
फरक-फरक दाबी
राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताहरू भने देउवा विमानस्थलबाटै पक्राउ नपरे पनि सरकारी अनुसन्धानको दायरामा पुग्न सक्ने बताउँछन्।
पार्टी स्रोतका अनुसार देउवा दम्पतीलाई आवश्यक परे कानुनी प्रक्रियामा ल्याएर अनुसन्धान अघि बढाउन सकिने अवस्था अझै छ।
‘उहाँहरूको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सीआईबीले अनुसन्धान गरिरहेका होलान्। कुनै न कुनै बेला उहाँहरूलाई कानुनी दायरामा ल्याउनुलाई ठूलो कुरा मान्नु भएन’, रास्वपाका ती नेता भन्छन् ।
यद्यपि, कानुनी प्रक्रियाको विषयमा अनुमानका आधारमा निष्कर्ष निकाल्न नहुने उनी बताउँछन् । ‘यस्तो विषयमा ठ्याक्कै जवाफ दिन कसरी सक्ने? कानुनी प्रक्रियाको विषयमा हल्लाखल्ला गर्नु उपयुक्त हुँदैन,’ ती नेताले भने।

कानुनी प्रक्रियामा आफैँ जाने
कांग्रेसकै केही नेताहरूले देउवाले नेपाल फर्किएपछि आफैँ कानुनी प्रक्रियालाई सघाउन जाने दाबी गर्न थालेका छन्।
भदौ २९ गते इतर पक्षको राष्ट्रिय भेलामा सम्बोधन गरेपछि देउवा अनुसन्धान र कानुनी प्रक्रियामा सघाउन आफैँ उपस्थित हुने दाबी उनीनिकट नेताले गरेका छन्।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता रमेश लेखक गत चैत १४ गते पक्राउ परे । त्यसपछि एमालेका उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू विभिन्न मुद्दामा पक्राउ पर्दै छुटे । ऴ
देउवाका छोरा जयवीरका नाममा समेत गत असार २३ गते गोरखापत्रमा सूचना प्रकाशित गरी सात दिनभित्र बयानका लागि उपस्थित हुन भनिएको थियो।
परिवारका सदस्य अनुसन्धानमा
देउवा परिवारसँग जोडिएका अन्य व्यक्तिहरूमाथि समेत सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको बताइएको छ।
देउवाका स्वकीय सचिव भानु देउवा तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालमाथि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान भइरहेको दाबी गरिँदै आएको छ।
यद्यपि, उनीहरूमाथिको अनुसन्धानको अवस्था र त्यसको कानुनी निष्कर्षबारे सम्बन्धित निकायले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
यसरी देउवा दम्पतीको नेपाल आगमनसँगै अघि बढ्ने भनिएको अनुसन्धानले कुन मोड लिन्छ भन्ने चासोको विषय बनेको छ। देउवा नेपाल फर्किएपछि अनुसन्धान अघि बढ्छ वा तत्काल अर्को कानुनी कदम चालिने विषय भने सरकारमा निर्भर हुने अवस्था छ ।
देउवाले भदौ २९ गते काठमाडौंमा आयोजना हुने भेलालाई सम्बोधन गर्ने भएका छन्। जेन-जी आन्दोलनपछि भएको राजनीतिक परिवर्तन, फागुन २१ गतेको निर्वाचनको परिणाम, कांग्रेसभित्रको संकट र पछिल्लो राजनीतिक अवस्थाबारे देउवाले पहिलोपटक सार्वजनिक रूपमा धारणा राख्ने तयारी गरेको बताइएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे देउवाले अहिलेसम्म सार्वजनिक रूपमा विस्तृत धारणा राखेका छैनन्। विदेशमै रहेका उनले सरकारका गतिविधि, देशको पछिल्लो राजनीतिक अवस्था र कांग्रेसभित्रको विवादबारे २९ गते बोल्ने कांग्रेस नेताहरूले बताएका छन्।
देउवा निकट कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवाले भेलामा देश र पार्टीसँग सम्बन्धित समसामयिक विषयमा धारणा राख्नेछन्।
‘उहाँ आएर सम्बोधन गर्नु नै हुनेछ। देशको पछिल्लो अवस्था, सरकारका गतिविधि, पार्टीको गतिविधिलगायतका विषयमा २९ गते बोल्नुहुन्छ,’ विश्वकर्माले भने, ‘नेपालका पूर्वप्रधानमन्त्री र एक असल नेताले देश, पार्टी र राज्यका विषयमा बोल्नु स्वाभाविक नै हो।’

गगनलाई स्वीकारेनन्
देउवाको सम्बोधनलाई कांग्रेसभित्रको नेतृत्व विवादका दृष्टिले पनि चासोका साथ हेरिएको छ। देउवाविरुद्ध उत्रिएका कांग्रेसका युवा नेता गगन थापा विशेष महाधिवेशनमार्फत कांग्रेस सभापति बनेका छन्।
तर, देउवा पक्षले अहिलेसम्म थापालाई पार्टी सभापतिको रूपमा स्वीकार गरेको छैन। त्यही कुराको पुष्टि मंगलबार शशांकले पार्टी कार्यालय र निर्वाचन आयोगलाई लेखेको पत्रबाट भएको छ । जहाँ शशांकले गगनलाई तत्कालीन महामन्त्री भनेका छन्।
देउवाले आफूनिकट नेताहरूको भेलामाकांग्रेसको आगामी महाधिवेशन, पार्टीको संगठनात्मक अवस्था र नेतृत्व विवादबारे आफ्नो धारणा राख्ने सम्भावना रहेको नेताहरू बताउँछन्।
देउवानिकट नेताहरूले अलग अलग कांग्रेस बनाउने पक्षमा नरहेको दाबी गर्दै आएका छन्। बरु पार्टी एकताका लागि थापा पक्ष नै लचिलो हुनुपर्ने उनीहरूको भनाइ छ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि देउवा नेपाल फर्किएपछि कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने पक्षमा आफूहरू रहेको बताएका छन्।
‘उहाँ विभाजनको पक्षमा हुनुहुन्न। कांग्रेसलाई एकताबद्ध गरेर लैजाने पक्षमा हुनुहुन्छ। तर दोस्रो पक्ष पनि लचिलो हुनुपर्यो,’ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘सिनियर नेताहरूलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ। सिनियर नेतालाई गन्दै नगर्ने र कांग्रेसलाई विभाजनतर्फ लैजाने काम दोस्रो पक्षबाट भएको छ। हामी त एकताकै पक्षमा छौँ।’
गगनसँगको विवाद मुख्य ?
देउवा र थापा पक्षबीचको विवाद अहिले कांग्रेसको सबैभन्दा ठूलो आन्तरिक राजनीतिक विषय बनेको छ। निर्वाचनअघि देउवा पक्षले विशेष महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्न नमानेपछि थापा पक्षले महाधिवेशन प्रतिनिधिको ५४ प्रतिशत समर्थन जुटाएर विशेष महाधिवेशन गरेको थियो।
विशेष महाधिवेशनबाट थापा सभापति बनेपछि कांग्रेसभित्र नेतृत्वको वैधानिकता र अधिकारलाई लिएर दुई पक्षबीच विवाद थप चर्किएको छ। अझ सर्वोच्च अदालतले पनि कांग्रेसको मुद्दालाई पुनरावलोकनमा लगिदिएपछि देउवा पक्ष उत्साहित छ ।
यही अवस्थामा देउवाले पहिलोपटक नेपाल फर्किएर पार्टीका कार्यकर्ता र आफू निकट नेताहरूमाझ सार्वजनिक सम्बोधन गर्न लागेकाले उनको भाषणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
कतिपय कांग्रेस नेताहरूले देउवाले आफ्नो सम्बोधनमार्फत थापा पक्षको भूमिकामाथि प्रश्न उठाउन सक्ने आकलनसमेत गरेका छन्। यद्यपि, देउवाले पार्टी एकता, नेतृत्व विवाद र आगामी महाधिवेशनबारे कस्तो धारणा राख्छन् भन्ने स्पष्ट भइसकेको छैन।
देउवाले २९ गतेको सम्बोधनपछि अनुसन्धानमा सरकारलाई सघाउने कुरा हल्ला मात्रै भएको कांग्रेस नेता प्रकाशशरण महतले बताएका छन्। ‘बाहिर आएका कुरा सबै हल्ला हुन्। उहाँले पार्टी एकता सन्देश दिँदै देशको पछिल्लो राजनीतिक अवस्थाबारे बोल्नुहुन्छ,’ महतले भने।

शशांक नेतृत्वमा शक्ति प्रदर्शन
कांग्रेसका चर्चित नेता बीपी कोइरालाका छोरा शशांक कोइरालाको नेतृत्वमा आयोजना हुन लागेको भेलामा १० हजारभन्दा बढी समर्थक र शुभेच्छुक सहभागी हुने दाबी गरिएको छ।
देउवाको उपस्थिति रहने भएपछि भेलालाई शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। देउवा पक्षका नेताहरूले भने यसलाई पार्टी विभाजनका लागि नभई कांग्रेसलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना गरिएको बताएका छन्।
विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा पुगेको कांग्रेसले त्यसपछि भएको प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सकेन। प्रतिनिधिसभामा कांग्रेसको सिट संख्या ४० भन्दा कममा सीमित भएको छ।
यही पृष्ठभूमिमा देउवा पहिलोपटक सार्वजनिक रूपमा पार्टीको पछिल्लो अवस्थाबारे बोल्न लागेकाले उनको सम्बोधनले कांग्रेसभित्रको आगामी शक्ति समीकरण र नेतृत्व विवादको दिशासमेत प्रभावित गर्न सक्ने आकलन गरिएको छ।












प्रतिक्रिया