चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी « Khabarhub

चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहमा फसेका कर्मचारीहरूको उद्धारमा आशा पलाएको छ।

चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले उद्धार टोलीले मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउँदै विद्युत्गृह नजिक पुगिरहेको बताए। अहिले विद्युत् गृह पुग्न करिब १०० मिटर मात्रै बाँकी रहेको उनले बताए ।

घिसिङ चिलिमे जलविद्युत् कम्पनीको पूर्वप्रबन्ध–निर्देशकका रूपमा विद्युत्गृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय र सहजीकरणमा सहभागी भइरहेका छन्।

बाढीले सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा त्यसको इको सुनिएको उनले बताएका छन्। त्यस्तै, सुरुङभित्रबाट चिसो हावासमेत आइरहेको उनले बताए। यसले सुरुङभित्र फसेका कर्मचारीहरू सकुशल रहेको हुनसक्ने आशा बढाएको घिसिङले बताएका छन्।

‘त्यहाँबाट चिसो हावासमेत आइरहेकोले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमानलाई बल पुगेको छ,’ उनले भने।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा कर्मचारीहरू फसेका थिए। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा आयोजनाका कर्मचारी निरन्तर खटिरहेका छन्।

उद्धारका क्रममा सुरुङभित्र जम्मा भएको लेदो र भग्नावशेष म्यानुअल रूपमा हटाउने काम भइरहेको छ। साथै स्याफ्रुवेसीतर्फबाट सुरुङसम्म पहुँच पुर्‍याउन स्केभेटर लैजाने गरी बाटो निर्माणको काम पनि तीव्र पारिएको छ।

घिसिङका अनुसार आजसम्ममा स्केभेटर सुरुङसम्म पुग्ने सम्भावना छ। स्केभेटर र लोडर पुगेपछि उद्धार कार्य थप तीव्र हुने अपेक्षा गरिएको छ।

यसअघि रास्वपा सांसद तथा इन्जिनियर सागर ढकालले पनि चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धार सम्भव रहेको बताएका थिए। उनका अनुसार उद्धारका लागि त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा बाँकी रहेको सामग्री प्रयोग गरी ब्लास्टिङसमेत गरिएको थियो।

चिलिमेको करिब २५० मिटर लामो सुरुङमध्ये ठूलो मात्रामा माटो तथा भग्नावशेष हटाइसकिएको उद्धार टोलीले जनाएको छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल विच्छेद भएका कारण उद्धारमा कठिनाइ भए पनि प्रयास निरन्तर जारी छ।

घिसिङले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सेनाका विज्ञ टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत् कम्पनीका कर्मचारी तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

‘प्रत्येक मिटरको प्रगति र प्रत्येक संकेतले हामी सबैमा नयाँ आशा जगाएको छ,’ उनले भनेका छन्। ‘सुरुङभित्र रहेका सबै व्यक्तिहरूलाई सकुशल उद्धार गर्न सकियोस्।’

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  १२ : २९ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध