पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे « Khabarhub

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको लाखौँ डलर बराबरको रकम फिर्ता पाउनका लागि दायर गरेको अदालतको मुद्दा हारेका छन्।

सिङ्गापुर उच्च अदालतले चन्दर अग्रवालले फेलिसिया लीबाट फिर्ता लिन खोजेको ४ लाख ६८ हजार सिङ्गापुरे डलर (करिब ३ लाख ६९ हजार २ सय अमेरिकी डलर) उनले आफ्नी प्रेमिकामाथि ‘स्वेच्छाले’ खर्च गरेको ठहर गरेको छ ।

वरिष्ठ न्यायाधीश ली सिउ किनका अनुसार अग्रवालले सम्बन्धमा आउनुअघि नै लीलाई महँगा उपहारहरू दिने निरन्तर प्रवृत्ति देखाएका थिए र उनलाई उक्त रकम फिर्ता गर्नुपर्दैन भनेर आश्वस्त पार्ने गर्थे। अदालतमा बताइएअनुसार, एक लजिस्टिक कम्पनीका सीईओ अग्रवाल र पूर्व उडान परिचारिका फेलिसिया लीको भेट सन् २०१९ मा एउटा उडानका क्रममा भएको थियो ।

उनीहरू सेप्टेम्बर २०२२ देखि डिसेम्बर २०२३ सम्म प्रेम सम्बन्धमा थिए । तर, लीको अन्य व्यक्तिसँग सम्बन्ध रहेको शङ्का अग्रवालले गरेपछि उनीहरूको सम्बन्ध टुटेको थियो । मार्च २०२४ मा मुद्दा दायर गरेका अग्रवालले सम्बन्धको अवधिमा लीले आफूसँग विभिन्न ब्याजमुक्त ऋण मागेको दाबी गरेका थिए ।

जसमा क्रेडिट कार्डको बिलबापत २ लाख ६ हजार डलर, विदेश भ्रमणका लागि १ लाख २९ हजार डलर, लीको अपार्टमेन्टका लागि फेङ्सुई मास्टर राख्न १७ हजार डलर र उनको जीवन बीमा प्रिमियम तिर्न २० हजार डलर समावेश भएको उनको भनाइ थियो। तर, लीले भने ती रकम ऋण नभई ‘प्रेम र स्नेहका कारण दिइएका उपहार’ भएको जिकिर गरेकी थिइन्।

लीको कुरामा सहमति जनाउँदै न्यायाधीशले अग्रवालको दाबीमा कागजी प्रमाणको अभाव रहेको औंल्याएका छन्। उदाहरणका लागि, लीले दाबी गरिएअनुसार ऋण मागेको वा प्राप्त गरेको स्वीकार गरेको कुनै पनि प्रमाण अग्रवालले पेस गर्न सकेनन् ।

न्यायाधीशले भनेका छन्, “अदालतसामु प्रस्तुत प्रमाणले स्पष्ट रूपमा देखाउँछ कि प्रतिवादीको प्रेममा डुबेका वादीले सम्बन्धको समयमा उनलाई महँगा उपहारहरू दिएका थिए। तर दुर्भाग्यवश, जब उनीहरूको सम्बन्ध तितो रूपमा अन्त्य भयो, उनी क्रुद्ध बने र पूर्वप्रेमिकाबाट त्यसको मूल्य असुल गर्ने अठोट गरे।”

न्यायाधीशले अग्रवाललाई “महँगो सोख भएका र स्पष्ट रूपमा प्रशस्त सम्पत्ति भएका व्यक्ति” को रूपमा पनि चित्रण गरे, जसको तुलनामा ली “त्यो स्तरको हैसियत भएकी” थिइनन्। धेरै टेक्स्ट म्यासेजहरूमा जब अग्रवालले महँगा उपहारको प्रस्ताव गर्थे, तब लीले आश्चर्य प्रकट गर्ने गरेको र कहिलेकाहीँ ती उपहार लिन हिचकिचाउने गरेको पनि न्यायाधीशले उल्लेख गरेका छन्।

आफ्नो लिखित फैसलाको अन्त्यमा न्यायाधीशले अङ्ग्रेजी नाटककार विलियम कोन्ग्रेभको प्रख्यात भनाइ उद्धृत गर्दै भनेका छन्, “प्रेम घृणामा परिणत हुँदाको जस्तो क्रोध स्वर्गमा पनि हुँदैन र तिरस्कृत महिलाको जस्तो रिस नरकमा पनि हुँदैन।” यो मुद्दाले यस्ता भावना कुनै एक लिङ्गको मात्र विशेषता होइन भन्ने देखाएको न्यायाधीशको भनाइ थियो।

यसअघि सन् २०२३ को सुरुतिर पनि अर्का एक सिङ्गापुरे व्यक्तिले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक महिलाविरुद्ध ३० लाख सिङ्गापुरे डलरभन्दा बढीको दाबी गर्दै दुईवटा मुद्दा दायर गरेका थिए।

के. कौशिगन नामक ती व्यक्तिले नोरा तानको अस्वीकारले आफूलाई मानसिक आघात पुगेको र आफ्नो प्रतिष्ठामा आँच आएको दाबी गरेका थिए। तर, सिङ्गापुरको अदालतले उनको मुद्दा खारेज गरिदिएको थियो । पछि तानले कौशिगनको कथित दुर्व्यवहारबाट बच्न आफूले गरेको खर्च फिर्ता पाउन उल्टै काउन्टर-मुद्दा दायर गरेकी थिइन्।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ४ : ४४ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा