काठमाडौँ – चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको झण्डै तीन महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा बजेट प्रस्तुत गरेको छ । आइतबार प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गरेका छन् ।
बजेट प्रस्तुत गर्नुअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेको थियो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी ताराप्रसाद जोशीका अनुसार दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेश सभा बैठक निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको थियो । बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू भने सहभागी भएनन् ।
यसअघि गत असारमा तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा बजेट प्रस्तुत गरेको थियो । तर, तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीचको विवादका कारण उक्त बजेट पारित हुन सकेको थिएन ।
त्यसपछि गत साउन २९ गते खगराज भट्टको नेतृत्वमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को नयाँ गठबन्धन सरकार गठन भएको थियो । नयाँ सरकार गठन भए पनि सत्ता गठबन्धन र मन्त्रिपरिषद्का सदस्यहरूबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा र बजेट विवाद अदालतसम्म पुग्दा प्रदेश सरकार लामो समयसम्म बजेटविहीन बन्न पुगेको थियो । बजेट नहुँदा प्रदेशको दैनिक प्रशासनिक तथा विकास निर्माणका कामहरू प्रभावित हुँदै आएका थिए ।
लामो रस्साकस्सी र कानुनी प्रक्रियापछि चालु आर्थिक वर्षको पहिलो त्रैमास बित्नै लाग्दा प्रदेश सरकारले प्रदेश सभामा नयाँ बजेट पेस गरेको हो ।














प्रतिक्रिया