काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल विजयी भएको छ । ओमनको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्यो ।
नेपालले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको क्यानडाले ४८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ११ रन मात्रै बनायो ।
क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए । ४९ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे । त्यस्तै, अमित गोहेलले ५९ बलमा ३५ रन जोडे ।
क्यानडाका अखिल कुमारले नट आउट ३० रन बनाए । श्रेयस मोभ्भा र कप्तान हम्जा तारिकले समान २६ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने, करण केसी र ललीत राजवंशी र नन्दन यादवले समान दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूर्वकप्तान रोहित पौडेलको शतकको मद्दतमा पूरै ५० ओभर खेल्दै सबै विकेट गुमाएर नेपालले २३५ रन बनाएको थियो ।
नेपालका लागि चौथो क्रममा ब्याटिङ गर्न आएका रोहितले शतक बनाएका हुन् । रोहितले १२६ बलको सामना गर्दा ८ चाैका र एक छक्काको मद्दतमा १०१ रन बनाए । उनी ४८ ओभर तीन बलमा आउट भए । यो रोहितको तेस्रो एकदिवसीय शतक हो । उनले कुशल भुर्तेलको एकदिवसीय शतक रेकर्ड तोडेका छन् ।
अन्तिममा आएर आक्रामक ब्याटिङ गरेका गुल्सन झा अर्धशतक बनाउन दुई रनले चुके । गुल्सनले चार चाैका र तीन छक्काको मद्दतमा ३४ बलमा ४८ रन बनाएका हुन् ।
नेपाली ओपनर अर्जुन कुमाल ५४ बलको सामना गरेर २३ र बसिर अहमद ५७ बलमा ३० रन बनाएर आउट भएपछि रोहितले सम्हालिएर खेलेका हुन् ।
आशिफ शेख तीन बलमा चार रन बनाएर आउट हुँदा इशान पाण्डे चार बलको सामना गर्दा शून्य रनमै पेभिलियन फर्किएका थिए।
पछिल्लो क्रममा ब्याटिङ गर्न आएका करण केसी, नन्दन यादव र ललित राजवंशीले नेपालका लागि रन जोड्न सकेनन् । केसी चार रन बनाएर आउट हुँदा नन्दन र ललित दुई-दुई रनमा आउट भए ।
नेपालका कप्तान सन्दीप लामिछानेले दुई रन जोडे ।
नेपाललाई सस्तैमा समेट्न क्यानडाका अखिल कुमारले चार विकेट हात पार्दा सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट हात पारे ।
नेपालले शृंखलामा क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ । लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ मा हुने एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने छन् ।
आजको जितसँगै नेपाल अंक तालिकाको छैठौँ उक्लिएको छ । नेपालले ३३ खेलबाट २६ अंक जोडेको छ । यस्तै, तालिकाको सातौँ स्थानमा झरेको क्यानडाले ३४ खेलबाट २५, ओमानले २९ खेलबाट ३३ अंक बनाएको छ ।
त्यसैगरी, नामिबिया ३५ खेलबाट ३१, यूएईले ३१ खेलबाट १९ अंक जोडेका छन् । अमेरिकाले ३४ खेलबाट ४७ अंक बनाएर च्याम्पियन बन्दा स्कटल्याण्डको ३६ खेलबाट ४५ र नेदरल्याण्ड्सको ३२ खेलबाट ३८ अंक छ ।














प्रतिक्रिया