रसुवाको ‘नागथली’ पर्यटकका लागि आकर्षक केन्द्र « Khabarhub

रसुवाको ‘नागथली’ पर्यटकका लागि आकर्षक केन्द्र


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रसुवा–  ‘नागथली’ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । 

रसुवाको  नागथली  समुद्री सतहबाट तीन हजार १६५ मिटरको उचाइमा रहेको छ । गोसाइँकुण्ड गाउँपालिका–१, थुमनमा पर्ने यो क्षेत्र प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताको सङ्गम मानिन्छ । स्थानीय भाषामा ‘नगथली’ भनेर चिनिने यो स्थान हाइकिङ र हिमाली दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ ।  

गुम्बानजिकै नागको थान रहेकाले यस ठाउँको नाम ‘नागथली’ रहन गएको स्थानीय बासिन्दाको भनाइ छ ।  प्राचीन कालमा गुरु रिम्बोर्छेले यस क्षेत्रमा तपस्या गरी गुम्बा निर्माण गरेको जनविश्वास छ । गुम्बाभित्र भगवान् बुद्ध, चेरेसी र गुटासिङतोङका मूर्तिहरू रहेका छन् । 

चन्द्रपात्रोअनुसार प्रत्येक वर्ष वैशाख र असोज महिनाको पूर्णिमाका दिन यहाँ विशेष पूजाआजासहित मेलालाग्ने गर्दछ । मुख्य गुम्बाको उत्तर–पश्चिम कुनामा अर्को गुम्बा तथा विभिन्न धार्मिक एवं ऐतिहासिकस्थल रहेका छन् ।  

यस क्षेत्रमा गुरु रिम्बोर्छेको पैतालाको डोब, पाप र धर्म छुट्याउने विश्वास गरिएको सुरुङ, ‘खण्डोमो क्षाम्सा’ (देवी नाच्ने थान) र प्राचीन ढुङ्गे गुफा अवलोकन गर्न सकिन्छ । साथै, गुरु रिम्बोर्छेले मन्त्रद्वारा निकालेको भनिएको कहिल्यै नसुक्ने सानो पानीको मुहानलाई स्थानीय तथा भक्तजनले पवित्र जलका रूपमा प्रयोग गर्दै आएका छन् । 

नागथलीबाट गगनचुम्बी हिमशृङ्खला र हिमनदी (ग्ल्यासियर) को मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।  पदमार्गको छेउछाउमा बग्ने नदी, विभिन्न प्रजातिका लालीगुँरास, माने, छुर्तेन र फराकिला खर्कमा चरिरहेका याक, चौँरी गाई तथा भेडाका बथान यहाँका मुख्य आकर्षण हुन् । 

यस क्षेत्रको वनजङ्गलमा हिमचितुवा, घोरल, थारल, भालु, बँदेल र लङ्गुर बाँदरलगायतका लोपोन्मुख वन्यजन्तु पाइन्छन् । नागथलीबाट करिब दुई घण्टाको पैदलयात्रामा ‘तरुचे’ पुग्न सकिन्छ ।  तरुचेबाट छिमेकी मुलुक चीनतर्फका ठोङ्सा, नेस्यारगाउँ र च्याङगाउँ वरपरका भूभागहरू स्पष्ट देख्न सकिन्छ । 

यस्तै, नागथलीबाट करिब एक दिनको पैदलयात्रामा गणेश हिमालको फेँदीसम्म पुग्न सकिन्छ । यस क्षेत्रको ऐतिहासिक ‘माला गढी’ पनि पर्यटकका लागि अर्को आकर्षणको केन्द्र बनेको छ । 

नागथली पुग्नका लागि सामान्य अवस्थामा पासाङल्हामू राजमार्गको स्याफ्रुबेँसी–टिमुरे खण्डमा पर्ने रोङ्गाबाट मेन्दो र थुमन गाउँ हुँदै जान सकिन्छ । थुमन गाउँबाट करिब चार घण्टाको ठाडो उकालो चढेपछि नागथली पुगिन्छ ।  

यसैगरी, ‘तामाङ सम्पदा मार्ग’अन्तर्गत स्याफ्रुबेँसीबाट गोल्जुङ, गतलाङ र चिलिमे ९तातोपानी० हुँदै  नागथली पुग्ने     अर्कामार्ग रहेको छ । यद्यपि, गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक सञ्जाल बगाएपछि करिब साढे दुई महिनासम्म यस क्षेत्रको आवागमन पूर्ण रूपमा बन्द भएको थियो । 

हालै स्थानीय बासिन्दाको श्रमदानबाट भोटेकोशी नदीमा काठेपुल निर्माण गरिएपछि आवतजावत पुनः सुरु भएको छ ।  सडक सञ्जाल अवरुद्ध भएका कारण हाल पर्यटकले स्याफ्रुबेँसीदेखि नै पैदलयात्रा (हाइकिङ) गरेर नागथली पुग्नुपर्ने अवस्था रहेको छ । 

तिब्बती, शेर्पा र तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा र रहनसहन यहाँको अर्को विशेषता हो । पर्यटकको आगमन बढेसँगै यस क्षेत्रमा पूर्वाधार र आतिथ्यताको सुविधासमेत विस्तार हुँदै गएको गोसाइँकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष उर्केन लामा बताउँछन् । 

वडाध्यक्ष लामाका अनुसार पर्यटकको सहजताका लागि वडा कार्यालयबाट बजेट तथा आवश्यक योजना बनाएर व्यवस्थापन गरिएको छ । 

‘पहिले यहाँ एउटा मात्रै होटल थियो, अहिले पर्यटकको चाप बढेसँगै करिब छ वटा होटल तथा लजहरू सञ्चालनमा आइसकेका छन्’, वडाध्यक्ष लामाले भने, ‘बाढीले सडक बगाए पनि स्थानीयको श्रमदानमा काठेपुल बनेपछि अहिले स्याफ्रुबेँसीदेखि नै हाइकिङ गर्दै आउने पर्यटकका लागि बाटो खुलेको छ ।’

यस्तै, रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने नागथली पदयात्रा र सांस्कृतिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताउँछन्।  अध्यक्ष न्यौपानेले भने,’काठमाडौँबाट नजिकै रहेर पनि हिमाली जनजीवन, चौँरी खर्क, लालीगुँरास र चीनको सीमावर्ती क्षेत्रको दृश्यावलोकन एकैसाथ गर्न पाइने भएकाले नागथलीको प्रर्वद्धनमा पर्यटन समाजले विशेष जोड दिएको छ । स्थानीयको श्रमदानमा काठेपुल बनेसँगै अहिले पदयात्रीका लागि यो मार्ग झनै रोमाञ्चक बनेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  १२ : १५ बजे

साढे तीन महिनामा २०४ नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ को साढे

रसुवाको ‘नागथली’ पर्यटकका लागि आकर्षक केन्द्र

रसुवा–  ‘नागथली’ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा

फाल्गुनन्दको सत्य, अहिंसा र समानताको मार्ग अनुसरण गर्न सभापति थापाको आग्रह

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले

वनमौरीले टोकेर बर्दियामा एक जनाको मृत्यु

बर्दिया– बर्दियामा वनमौरीले टोकेर एक जनाको मृत्यु भएको छ ।

भाइटीका लगाउन बालगोपालेश्वर मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं – भाइटीका पर्वका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि