काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, अहिंसा, समानता र सामाजिक सुधारको मार्ग अनुसरण गर्न सबैलाई आग्रह गरेका छन्।
महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा उहाँले पुर्याउनुभएको योगदानको स्मरण गरेका हुन् ।
थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधारमा महागुरु फाल्गुनन्दले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।
महागुरु फाल्गुनन्दका विचार, दर्शन र आदर्शले सभ्य, न्यायपूर्ण तथा सद्भावपूर्ण समाज निर्माणका लागि सबैलाई प्रेरणा दिइरहोस् भन्ने कामनासमेत उनले गरेका छन् ।
विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउन महागुरु फाल्गुनन्दका आदर्शलाई आत्मसात् गर्नुपर्नेमा सभापति थापाले जोड दिएका छन् ।














प्रतिक्रिया