नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ को साढे तीन महिनामा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन् ।
एकीकृत सेवा कार्यालय कावासोतीका अनुसार गत कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग र ११२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् ।
कार्यालयका सूचना अधिकारी ज्ञानप्रसाद भुसालका अनुसार यस अवधिमा ६२ वटा उद्योगको लगत कट्टा गरिएको छ भने ४९७ वटा उद्योग नवीकरण भएका छन् । त्यस्तै, ४४ वटा उद्योगले नाम, पुँजी लगायतका विवरण संशोधन गराएका छन् ।
वाणिज्य फर्मतर्फ यस अवधिमा १११ वटाको लगत कट्टा भएको छ भने ६५० वटा नवीकरण भएका छन् । त्यस्तै, ६० वटा वाणिज्य फर्मले आफ्नो विवरण संशोधन गराएका छन् ।
महिनागत विवरणअनुसार उद्योगतर्फ साउनमा २३, भदौमा २९, असोजमा ३३ र कात्तिकमा सातवटा नयाँ उद्योग दर्ता भएका छन् । वाणिज्य फर्मतर्फ साउन र भदौमा समान ३८, असोजमा २६ तथा कात्तिकमा १० वटा नयाँ फर्म दर्ता भएका छन् ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हाल ६ हजार ७९९ वटा उद्योग कायम छन् । तीमध्ये पाँच हजार ८८६ वटा साना, ८९९ वटा घरेलु, १३ वटा लघु र एउटा मझौला उद्योग रहेका छन् ।
कम्पनी तथा स्वामित्वका आधारमा जिल्लामा सातवटा पब्लिक लिमिटेड, १९७ वटा साझेदारी उद्योग, ३२१ वटा प्राइभेट लिमिटेड कम्पनी र छ हजार २७३ वटा निजी फर्म रहेका छन् ।
क्षेत्रगत रूपमा कृषि तथा वन पैदावारमा आधारित दुई हजार ९४०, सेवामूलक दुई हजार ६००, उत्पादनमूलक एक हजार २९, ऊर्जामूलक १२४, निर्माणसम्बन्धी ३७, सूचना तथा प्रविधिमा आधारित २४, पर्यटनसम्बन्धी १६ र खनिज उद्योग आठवटा रहेका छन् ।
त्यसैगरी, जिल्लामा हाल आठ हजार ६१३ वटा वाणिज्य फर्म कायम रहेका छन् । तीमध्ये आठ हजार ५२३ वटा एकलौटी र ९० वटा साझेदारी फर्म हुन् ।
कायम रहेका वाणिज्य फर्ममध्ये आठ हजार ६११ वटाले स्थानीय व्यापारलाई आफ्नो उद्देश्य बनाएका छन् भने एक–एकवटा फर्म आयात र निर्यात व्यापारका लागि दर्ता भएका छन् । कारोबारको प्रकृतिअनुसार १८१ वटा फर्म थोक र आठ हजार ४३२ वटा खुद्रा व्यापारका लागि दर्ता भएका सूचना अधिकारी भुसालले जानकारी दिए ।














प्रतिक्रिया