काठमाडौँ – मध्यपूर्वको युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा दबाब बढ्दै जाँदा म्यान्माको सुक्खा मध्य क्षेत्रमा रहेका साना तेल उद्योगहरू गृहयुद्धको निशानामा परेका छन् । तेलको मूल्य बढेसँगै विद्रोही र सरकारी सेनाबीच तेल कुवा नियन्त्रण गर्ने प्रतिस्पर्धा चर्किँदा त्यहाँ कार्यरत मजदुरको सुरक्षा जोखिममा परेको छ ।
म्यान्माले आफ्नो आवश्यक इन्धनको करिब ९० प्रतिशत आयात गर्दै आएको छ । यस्तो अवस्थामा म्यागवे क्षेत्रको मियाङमा रहेका स्थानीय तेल उत्पादकहरूका लागि साना तेल कुवा आर्थिक रूपमा महत्त्वपूर्ण बनेका छन् । स्थानीय उत्पादकले परम्परागत प्रविधिको प्रयोग गरी यहाँ तेल निकाल्दै आएका छन् ।
‘अन्यार दुबई’ नामले समेत चिनिने यस क्षेत्रमा काम गर्ने मजदुरले सातामा करिब ५० अमेरिकी डलर कमाउँछन् । तर, सरकारी सेना र विद्रोही दुवै पक्षबाट हुने आक्रमणका कारण पटकपटक ज्यान जोगाउन भाग्नुपर्ने अवस्था रहेको एक मजदुरले बताएका छन् ।
विद्रोहीहरूले सन् २०२३ देखि नै यस क्षेत्रका तेल कुवा आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएका छन् । द्वन्द्व निगरानी संस्था एसिएलइडीका अनुसार यस वर्ष मियाङ क्षेत्रमा भएका हवाई तथा ड्रोन आक्रमणको सङ्ख्या सन् २०२५ भरिको भन्दा बढी पुगेको छ ।
यता, सरकारी सेनाले गत सेप्टेम्बरमा सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा मियाङ र छिमेकी पकोक्कु क्षेत्रका ८६५ भन्दा बढी तेल कुवा कब्जा गरेको दाबी गरेको छ ।
सन् २०२१ को सैनिक ‘कू’ पछि चर्किएको गृहयुद्धमा म्यान्माका विभिन्न सशस्त्र समूह र सरकारी सेनाले प्राकृतिक स्रोतबाट आम्दानी जुटाउँदै आएका छन् । अन्तर्राष्ट्रिय सङ्कट समूहका म्यान्मासम्बन्धी वरिष्ठ सल्लाहकार थोमस किनका अनुसार साना तेल उद्योगको उत्पादन विश्व बजारका लागि ठूलो नभए पनि विद्रोही समूहलाई युद्ध सञ्चालनका लागि आवश्यक आम्दानी जुटाउन पर्याप्त छ ।
अमेरिकी ऊर्जा सूचना प्रशासनको तथ्याङ्कअनुसार म्यान्माले गत वर्ष दैनिक करिब छ हजार ब्यारेल कच्चा तेल उत्पादन गरेको थियो । इन्धनको बढ्दो मूल्य र गृहयुद्धका कारण यस क्षेत्रका तेल कुवा अहिले आर्थिक स्रोतसँगै सैन्य प्रतिस्पर्धाको केन्द्र बनेका छन् ।














प्रतिक्रिया